पूर्व राजा ज्ञानेन्द्रको जन्मोत्सव नेपालगञ्जमा, जन्मोत्सवकै वहानामा राजावादीको जमघट

काठमाडौं, २० असार । पूर्व राजा ज्ञानेन्द्र वीरविक्रम शाहको जन्म दिन आउन लागेको छ । असार २३ गते जन्म दिन रहेका पूर्व राजा ज्ञानेन्द्रले यस पटक काठमाडौं बाहिर आफ्नो जन्म दिन मनाउने भएका छन् । उनी आज (बुधबार) नेपालगञ्ज जाँदैछन् ।
आज बेलुका श्रीएयरको विमानबाट ४ः४५ मा नेपालगञ्ज जाने कार्यक्रम रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका उपाध्यक्ष ऋषि देवकोटाले जानकारी दिएका छन् । पूर्व राजा नेपालगञ्ज विमानस्थलबाट सोझै भुजईगाउँस्थित सोल्टी होटलमा जाने कार्यक्रम रहेको उनले जानकारी दिएका छन् ।
पूर्व राजा शाहको जन्मोत्सवलाई भव्य बनाउन नेपालगञ्जमा २१ सदस्यीय शुभजन्मोत्सव नागरिक मूल समारोह समिति गठन गरिएको छ । पूर्व राजाको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) र राजा निकट ब्यक्तिहरुले छुटाछुटै तयारी गरिरहेका छन् । नेपालगञ्जस्थित राँझा विमानस्थलमा राजा निकटसँगै राप्रपा नेपालका महामन्त्री डा. धवल शमसेर राणाले पूर्व राजालाई स्वागत गर्ने कार्यक्रम रहेको छ । यस्तै राजावादी भुवन कृष्ण श्रेष्ठले नेतृत्वको टोलीले पनि स्वागत गर्ने तयारी गरिरहेको छ । श्रेष्ठका अनुसार राजासंस्था हिन्दु धर्मप्रति आस्था राख्ने नेपालीले राजाको स्वागत गर्न विमानस्थल पुग्दैछन्
भ्रमण निजी भए पनि जनतासँग भेटघाट गर्ने कार्यक्रम छ । तर, अहिले कहाँ कहाँ जाने निश्चित नसकेको जनाइएको छ ।
भुवनकृष्णा श्रेष्ठ अध्यक्ष रहेको समितिको उपाध्यक्षमा विपिन श्रेष्ठ, सूर्य खत्री, महासचिव भीमबहादुर शाही, सहसचिव अशोक थापा र कोषाध्यक्षमा भरतध्वज शाही छन् । पछिल्लो पटक पूर्व राजा ज्ञानेन्द्र पुसमा नेपालगञ्ज आएका थिए । गत पुस १३ गते नेपालगन्ज आइपुगेका ज्ञानेन्द्रको भ्रमण धार्मिक र कुटनीतिकरुपमा केन्द्रित देखिएको थियो ।
शुरुमा दुई हप्ता मध्य तथा सुदूरपश्चिमका धार्मिकस्थलको भ्रमण गर्ने भनिए पनि करीब तीन साता बिताएर ज्ञानेन्द्र काठमाडौं फर्किएका थिए । त्यतिबेला पूर्वराजा शाहले बाँकेको बागेश्वरी मन्दिर, सुर्खेतको देउती बज्यै, प्युठानको स्वर्गद्वारी, दाङमा रहेको एसियाकै ठूलो त्रिशुल, बर्दियाको ठाकुराद्वारालगायतको भ्रमण गरेका थिए । पछिल्लो पटक नेपालगन्ज आएका बेला राजा शाहले नेपालगञ्ज भुजइ गाउँस्थित होटल सोल्टीको उद्घाटन गरेका थिए । भ्रमणकै क्रममा शाहले भारत उत्तर प्रदेशको पनि भ्रमण गरेका थिए । उत्तर प्रदेशका मुख्य मन्त्रीसँग भेटे गरेपछि भने राजाको भ्रमण धार्मिकसँगै राजनीतिक भएको भनि अथ्र्याइएको थियो ।