ठमेलका डिस्को डन पक्राउ

काठमाडौं, २० असार । महानगरीय प्रहरी परिसर काठमाडौंले गुण्डागर्दीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले केही दिनदेखि ठमेल, दरबारमार्गलगायतका क्षेत्रका होटल, रेष्टुरा, डिस्को तथा त्यहाँका व्यापारीलाई डर धम्की देखाई रकम असुल्दै हिंड्ने रामेछापका २६ वर्षीय विमल लुङ्गेलीमगरलाई मंगलबार पक्राउ गरेको हो ।
परिसरका प्रवक्ता मोहनकुमार थापाले ठमेल, दरबारमार्गका व्यवसायीलाई अनावश्यक रुपमा रकम मागेर दुःख दिने र रकम नदिए झगडा गर्ने गरेको गोप्य सूचनाका आधारमा मगरलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् । पक्राउ परेका मगरलाई सार्वजनिक मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।