उपत्यकामा १४३ अस्थायी पार्किङ्ग, अब यी स्थानबाट मात्र गाडी चढ्न–चढाउने पाइने

काठमाडौं, २० असार । ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि नयाँ योजना अगाडि सारेको छ । उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि अब १४३ अस्थायी पार्किङ्गस्थलको व्यवस्था मिलाइने भएको छ । अब चालकले तोकिएको स्थानमा मात्र आफ्नो दुईपांग्रे र चारपांग्रे सवारी साधन पार्किङ्ग गर्न पाउने भएका छन् । यस्तै यात्रुले पनि पार्किङ्गस्थल भन्दा अन्यत्रबाट गाडी चढ्न नपाउने भएका छन् ।

महाशाखाले भोटाहिटी, जमल, पुरानो बसपार्क, सुन्धारा गोश्वारा हुलाक गेट, खिचापोखरी, धर्मपथ, शंकरदेव गेट, ठमेल सञ्चयकोष गेट, दरबारमार्ग पाठशाला, कृष्णपाउरोटी पश्चिम, एयरपोर्ट अगाडि, अन्तर्रा्िष्ट्रय सम्मेलन केन्द्रस्थित पानी ट्याङ्की अगाडि, कोटेश्वर ट्राफिक अगाडि, विभिन्न अस्पताल अगाडि, लोकन्थली, कौशलटार, सातदोबाटो, एकान्तकुनालगायतका ६० स्थानमा ३९७ ट्याक्सी पार्किङ गर्न मिल्नेगरी स्थान छुट्याएको छ । नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम उपत्यकामा ट्याक्सी पार्किङका लागि विसं २०६९ मा नै अध्ययन गरिसकिएको र सोहीअनुसार अहिले महाशाखा र महानगरपालिकाको सक्रियतामा स्थान छुट्याएर राम्रो कामको थालनी भएको बताए । ‘शुरुमा ट्याक्सी पार्किङका लागि स्थान छुट्याए पनि बाटो विस्तारका कारण हटेको थियो । अहिले पुनः स्थान छुट्याएर राम्रो काम भएको छ’, उनले भने ।
यातायात व्यवस्था विभागले दिएको तथ्यांकअनुसार हाल काठमाडौँ उपत्यकामा झण्डै ११ हजार ट्याक्सी रहेका छन् । यस्तै महाशाखा र महानगरपालिकाले मोटरसाइकल तथा कार पार्किङका लागि पनि अल्पकालीन स्थान छुट्याएको छ । दरबारमार्ग, रानीपोखरी आयुक्त कार्यालय अगाडि, प्रज्ञाभवन पश्चिमपट्टी, चारखाल परिसर पश्चिम, शंकरदेव क्याम्पस अगाडि, बागबजार पद्मकन्या क्याम्पस छेउ, २९ वडा कार्यालय अगाडि, खिचापोखरी, धर्मपथ, प्युखा चोक, धरहरा बाटो दक्षिण, कलंकी मालपोत अगाडि, किटा मन्दिर परिसरलगायत ८३ स्थानमा मोटरसाइकल तथा कार पार्किङको अल्पकालीन व्यवस्था गरेको छ ।
काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्य महानगरपालिका, ट्राफिक प्रहरी महाशाखा, सडक र यातायातका प्रतिनिधि बसेर तत्कालका लागि अल्पकालीनरुपमा पार्किङ व्यवस्थापन गरिएको बताउँछन । ‘तत्कालका लागि तोकिएको स्थानमा पार्किङको व्यवस्था मिलाए पनि दीर्घकालीन रुपका लागि नगरसभामार्फत बनेका कानूनको आधारमा अगाडि बढ्छौँ’, उनले भने । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सवारी साधन पार्किङका लागि राज्यले छुट्टै क्षेत्र बनाउनुपर्ने बताउँछन । पूर्वाधारको विकास भए मात्र सवारी साधन आवतजावतमा सहजता हुने उनको भनाइ छ ।
हाल उपत्यकामा मात्र २ सय ९८ स्थानमा बसभित्र यात्रु चढाउन तथा ओराल्न मिल्ने व्यवस्था गरिएको छ । तोकिएको स्थानभन्दा अन्य स्थानमा यात्रु चढाउने तथा ओराल्ने गरेमा ट्राफिक प्रहरीले कार्बाही गर्नेछ । यस्तै गरी महाशाखाले महानगरपालिकासँग मिलेर उपत्यकामा भएका यात्रु प्रतिक्षालयको समेत अध्ययन गरेको छ । महाशाखाका अनुसार हाल उपत्यकाका ३६ स्थानमा प्रतिक्षालय छन् । महाशाखाले गरेको अध्ययनअनुसार उपत्यकामा १ सय ३ स्थानमा यात्रु प्रतिक्षालय आवश्यक रहेको छ ।
महाशाखाका प्रमुख वसन्तकुमार पन्त उपत्यकाको ट्राफिक व्यवस्थापन राम्रो बनाउनका लागि महाशाखाले पार्किङ स्थल, प्रतिक्षालय, वैकल्पिक बाटोलगायतको अध्ययन गरिरहेको बताउँछन । केही दिन अगाडिमात्र महाशाखाले पर्यटकीय बस पार्किङ क्षेत्र कान्तिपथलाई सोह«खुट्टे सारेको थियो । हाल नेपालभर २७ लाखभन्दा बढी ठूला तथा साना सवारी साधन रहेका छन् भने काठमाडौँ उपत्यकामा मात्र झण्डै ११ लाख सवारी साधन आवतजावत गर्छन् । ठूला सवारी साधनलाई भने तोकिएको स्थानमा मात्र बस पार्किङको व्यवस्था गरिएको महाशाखाले जनाएको छ ।