गाडीको ब्रेक फेल भयो ? आत्तिने होइन, तत्काल यी उपाय लगाउनुस्

काठमाडौं, २० असार । तपाईले चलाइरहेको गाडीको अचानक ब्रेक फेल भयो ? यदि यसो हो भने तपाईले आत्तिने होइन, उपाय लगाउने हो । आपतको बेला संयमता अपनाएर उपाय लगाउन सकेको खण्डमा तपाई ठूलो दुर्घटनाबाट जोगिन सक्नु हुन्छ । यसका लागि तपाईले छोटो समयावधिमा यी केहि काम गर्नुपर्ने हुन्छ । ती यस प्रकार छन् :- स्पीड स्लो गर्नुहोस्
यदि कारको ब्रेक फेल भएमा सबैभन्दा पहिले गियरलाई घटाउनुस् । बिस्तारै कारको स्पीड कम हुँदै जानेछ, त्यसपछि गियरलाई पहिलो (फ्रन्ट) गियरमा ल्याउनुहोस् ।
अरूलाई संकेत दिनुहोस्
यदि तपाईं बाटोमा गुड्दै हुनुहुन्छ र तपाईंको ब्रेक फेल भयो भने आफ्नो इमर्जेन्सी लाइट र हेडलाइट अन गरी अरु ड्राइभरहरूलाई सजग गराउन हर्न बजाउनुहोस् । यसो गर्नाले तपाईंको अघि–पछि र साईडमा चल्ने गाडिहरूलाई थाहा हुनेछ कि तपाईं कुनै समस्यामा हुनुहन्छ ।
ब्रेक पेडल बारम्बार थिच्नुहोस्
गाडीको ब्रेक पेडलमा बारम्बार थिच्नुहोस् । ब्रेकलाई दबाब दिँदा यसले पुनः काम गर्न सक्ने सम्भावना रहन्छ ।
एसीलगायत अन्य एक्सेसरिज चालु गर्नुहोस्
कारको एयर कन्डिसनलाई सबैभन्दा चिसो तापमानमा राख्नुहोस् र फ्यानको स्पीड अधिकतम् बनाउनुहोस् । साथै, कारको सबै हेडलाइट, टेल लाइट्सहित अन्य एक्सेसरिज पनि चालू गर्नुहोस् । यसो गर्नाले गाडीको स्पीडमा केही नियन्त्रण हुनेछ ।
ह्यान्ड ब्रेकको प्रयोग गर्नुहोस्
गियर तल आँउदा ह्यान्डब्रेकलाई माथि ल्याउनुहोस् । तर, रियर ह्वीललाई ध्यानपूर्वक लक गर्नुहोस् किनभने यसले कारको नियन्त्रण गुमाउन सक्छ ।
स्टेयरिङ ह्वीलमा कन्ट्रोल राख्नुहोस्
कारलाई गियरमा राख्नुका साथै इग्निसन बन्द गर्नुहोस् र क्लचलाई छोड्ने प्रयास गर्नुहोस् र इञ्जिनको साथ ब्रेक लगाउनुहोस् । तर, यो केवल एकपटकमात्र गर्नुहोस् किनभने यसो गर्नाले तपाईंले स्टेयरिङ ह्वीलमा आफ्नो नियन्त्रण गुमाउन सक्नुहुन्छ । स्टेयरिङ्ग ह्वीलमा आफ्नो पूर्ण नियन्त्रण राख्नु जरुरी छ ।
सडकको छेउमा ड्राइभ गर्नुहोस्
यदि कयौँ प्रयासपछि पनि कार रोकिँदैन भने, कच्ची, ग्रयाभेल भएको ठाउँमा गुडाउनुस् । त्यहाँ भएका रोडाले स्पीड कम गर्छ । यदि छेउमा हिलो छ भने त्यहाँ गाडी लैजानुहोस्, यसले गाडीको स्पीड पूरै कम गराउँछ ।