दुई महिनामा पाँचपटक गोली हानाहान, किन आए भारतीय सार्पसुटर नेपालमा ?


१६ कार्तिक २०७४, बिहीबार
indian suter pakrau goli kanda 2 mM5BopaAzH

काठमाडौं: राजधानीको कमलादीस्थित हेरिटेज प्लाजाभित्र बुधबार साँझ गोली चलेको छ । कर्पोरेट कार्यालयहरू रहेको सो प्लाजाभित्र गोली चलेको आवाज सुनिएपछि प्रहरीले खोजतलास गर्दा अटोमेटिक पेस्तोल र ५१ राउन्ड गोलीसहित प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पन्जाबका जसवीर सिंह र अरविन्द सिंह रहेका छन् ।indian suter pakrau goli kanda 2 mM5BopaAzH

काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार, पक्राउ परेलगत्तै गरिएको प्रारम्भिक अनुसन्धानमा उनीहरू सुटर रहेको खुलेको छ । मंगलबार मात्रै भारतीय गाडी लिएर काठमाडौं आएका उनीहरूले बुधबार साँझ हेरिटेज प्लाजास्थित गण्डकी खाजा घरमा खाजा खाएका थिए । सोको बिल २२ सय रुपैयाँ उठेपछि महँगो भएको भन्दै उनीहरूले निहुँ खोजेका थिए । वादविवादकै क्रममा उनीहरूले आफूहरू प्रहरी भएको भन्दै पेस्तोल निकालेर एक राउन्ड फायर गरेका थिए । त्यसपछि उनीहरू भागेका थिए । भाग्दै गर्दा कमलपोखरी र दरबारमार्गबाट खटेको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।

सो घटनापछि प्रहरीले हतियार ल्याउनुको प्रयोजन र फायर खोल्नुको कारणबारे अनुसन्धान थालेको छ । महानगरीय आयुक्त कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी जयबहादुर चन्दले पक्राउ परेका दुवै भारतीय नागरिक मंगलबार मात्रै स्थलमार्गबाट भैरहवाको सुनौली नाका हुँदै काठमाडौं आएको बताए ।

प्रहरीले उनीहरूलाई कमलपोखरी वृत्तमा राखेर बयान लिएको थियो । उच्च प्रहरी स्रोतले उनीहरू ठूलै घटना गराउन काठमाडौं छिरेको हुन सक्ने आशंका गरेको छ । उनीहरू पक्राउ परेपछि नेपाल प्रहरीको विशेष ब्युरो ९सीआईबी० ले पनि अनुसन्धान सुरु गरेको छ । प्रहरीले उनीहरू भारतीय सार्पसुटर भएको अनुमान गरेको छ ।

बुधबारको यो घटनासँगै भारतीय सार्पसुटर किन नेपाल आए भन्ने प्रश्न पनि खडा भएको छ । तीन साताअघि काठमाडौंमै भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा पनि भारतीय सार्पसुटरको प्रयोग भएको आशंका गरिँदै आएको छ । यसले राजधानी काठमाडौंको सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न खडा हुन थालेको छ

दुई महिनामा पाँचपटक गोली हानाहान

प्रहरी तथ्यांकअनुसार दुई महिनाको अवधिमा काठमाडौंमा गोली प्रहारका पाँचवटा घटना भएका छन् । २३ असोजमा भएको निर्माण व्यवसायी गौचनको हत्यामा प्रहरीले चाइनिज पेस्तोलमा प्रयोग भएको ६ एमएमको गोली फेला पारेको थियो । त्यसको सुराक प्रहरीले अझै फेला पार्न सकेको छैन । मोटरसाइकल बरामद गरेको भनिए पनि त्यसका धनी को हुन् रु कसको नाममा दर्ता छ रु त्योबारे पनि प्रहरीले केही बताएको छैन । २३ असोजकै दिउँसो प्रहरीको चेकिङमा एक थान रिभल्बर र एक गोलीसहित तीन जना पक्राउ परेका थिए । पक्राउ परेकालाई गौचन हत्यामा मुछ्न खोजे पनि उनीहरू साना हतियारधारी मात्रै भएको खुलेको छ ।

त्यसपछि ३ कात्तिकमा एक थान कटुवा पेस्तोल र एक थान गोलीसहित रामेछाप दोरम्बा स्थायी घर भई सिनामंगल बस्ने १९ वर्षका जीवन श्रेष्ठ र भक्तपुर सल्लाघारी बस्ने १८ वर्षका सुवास लामा योन्जन, मकवानपुर भीमफेदी गाउँपालिका घर भई धुम्बाराही बस्ने २८ वर्षीय कुमार अधिकारी र काभ्रे घर भई शंखमूल बस्ने २२ वर्षीय टीकाबहादुर श्रेष्ठ पक्राउ परेका थिए । त्यस्तै, ५ कात्तिकमा मात्र काठमाडौंको म्हैपीमा एक युवतीलाई जिस्क्याएको निहुँमा अर्का युवकले गोली प्रहार गरे । घटनामा संलग्न २३ वर्षीया सविना क्षत्री, नुवाकोटका नवराज लामिछाने, काठमाडौंका सुरेन्द्र शाही र काठमाडौंको स्वयम्भू बस्ने असुन गुरुङलाई प्रहरीले पक्राउ ग¥यो । उनीहरू अहिले हिरासतमा रहेका छन् । पक्राउ परेपछि प्रहरीले उनीहरूको साथबाट एक थान रिभल्भर र दुई गोली बरामद गरेको थियो ।

व्यक्तिगत रिसइबी

विगतमा व्यक्तिगत रिसिइबी, धम्की, फिरौती असुली, डकैती र अपहरणका थुप्रै घटनामा साना हतियार प्रयोग भइरहेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार आर्थिक वर्ष २०७४र७५ का तीन महिनामा मात्रै नौ हतियार बरामद भएका छन् भने ३० जना पक्राउ परेका छन् । परिसरका अनुसार बरामद अधिकांश हतियारमा पेस्तोल र रिभल्बर छन् । फिरौती असुलीदेखि ससाना घटनामा साना हतियार प्रयोगबाट काठमाडौंमा यसको उपलब्धता सहज बन्दै गरेको छ ।

प्रहरीका अनुसार पछिल्ला वर्षहरूमा साना हातहतियारबाट सिर्जित अपराधका घटनामा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७१र७२ यताका तीन वर्ष तीन महिनामा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरबाट मात्रै ३० थान हतियार र २ सय ३ राउन्ड गोली बरामद भएको कार्यालयको रेकर्ड छ । प्रहरीले यही अवधिमा हतियार प्रयोगमा संलग्न १ सय ६१ जनालाई पक्राउ गरेको छ । साना हतियारको अत्यधिक प्रयोग हुन थालेपछि प्रहरीले आफ्नो अनुसन्धानलाई तीव्रता दिन सकेको छैन ।

पछिल्लो समय काठमाडौंको कमजोर सुरक्षाको फाइदा उठाई आपराधिक समूहहरू सक्रिय हुन थालेका छन् । काठमाडौं उपत्यकामा विशेष गरी अमेरिकामा निर्मित पिस्तोल, ९ एमएम स्वचालित चाइनिज र भारतीय पेस्तोल, ३ सय १५ बोर पेस्तोल, सिक्सर रिभल्बर, २२ क्यालिभर पिस्तोल, नेपालमै बनेका कटुवाजस्ता साना हतियारको प्रयोग बढी हुने गरेको छ ।यो खबर टपेन्द्र कार्कीले आजको राजधानीमा लेखेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७