एउटै नगरभित्र ९२ वटा पहिरो, १०१ ठाउँ प्रकोपको जोखिममा


२१ असार २०७५, बिहीबार
pahiro

बाग्लुङ, २१ असार । जिल्लाका एक सय एक ठाउँ प्राकृतिक प्रकोपको उच्च जोखिममा छन् । ती ठाउँहरुमा ठूलो वर्षा हुँदा बाढीपहिरो निम्तिन सक्ने खतरा छ । pahiro

जिल्ला भू–संरक्षण कार्यालय बागलुङले वर्षाअगावै स्थलगत सर्वेक्षण गरी उच्च जोखिमयुक्त ठाउँ किटान गरेको हो । जसमध्ये ढोरपाटन नगरपालिका क्षेत्र बढी जोखिममा रहेको कार्यालयका भू–संरक्षण अधिकृत शेरबहादुर श्रेष्ठले बताए ।त्यहाँ पर्ने बोबाङ, अधिकारीचौर र नगरपालिकाको केन्द्र बुर्तिबाङसमेत प्राकृतिक विपद्को जोखिममा छ ।

यस्तै तमानखोला गाउँपालिका, निशीखोला गाउँपालिकाको बोङ्गादोभान, खुङ्खानीमा बाढीपहिरोको बढी जोखिम छ । त्यस क्षेत्रमा बग्ने निसी, भुजी र तमानखोलाले बाढीपहिरोको जोखिम बढाउने गरेको अधिकृत श्रेष्ठले बताए । ‘पश्चिम भेग विशाल पहाडी भू–भागले घेरिएको छ, वर्षा हुँदा खोलाको बहाब एक्कासी बढ्छ’, उनले भने, ‘जसका कारण तटीय क्षेत्रमा प्रकोप निम्तने खतरा छ ।’ भूगर्भको कमजोर संरचना, भौगोलिक बनावट, भिरालो जमिन, नाङ्गा पहाड, जथाभावी खनिएका सडकजस्ता कारणले बाढीपहिरो निम्तने गरेको उनको भनाइ छ । दुई वर्षअघि निसी, भुजी, तमानखोला र बडीगाड खोलामा आएको बाढीले करोडौँको भौतिक सम्पतिमा क्षति पुर्‍याएको थियो । प्राकृतिक प्रकोपले वर्षेनीजसो मानवीय क्षति पनि व्यहोर्नुपरेको अधिकृत श्रेष्ठले बताए ।

उनका अनुसार गलकोट नगरपालिकाको हरिचौर, पाण्डवखानी, दुदिलाभाटी, काठेखोला गाउँपालिकाको लेखानी, रेशलगायतका क्षेत्र पनि प्रकोपको जोखिममा छन् । यस्तै बाग्लुङ नगरपालिकाभित्र मात्रै साना ठूला गरी ९३ वटा पहिरो रहेको जनाइएको छ । प्राकृतिक प्रकोपको जोखिम बढे पनि विपद् रोकथाम र न्यूनीकरणका लागि कार्यक्रम, बजेट भने कार्यालयसँग छैन । चालु आवको सबै बजेट स्थानीय तहमा गएपछि जिल्ला कार्यालयले कुनै पूर्वतयारीका काम गर्न सकेन । ‘पहिले जनचेतना अभिवृद्धिदेखि विपद् रोकथाम र न्यूनीकरणका लागि कार्यक्रम र बजेट आउँथ्यो’, अधिकृत श्रेष्ठले भने, ‘अहिले सबै स्थानीय तहमा गएको छ ।’

स्थानीय तहले भने यो वर्ष प्राकृतिक प्रकोप नियन्त्रणको कुनै प्रभावकारी योजना बनाएका छैनन् । केहीले विपद् कोष खडा गरे पनि जनशक्ति अभाव र अनुभवको कमीले पनि विशेष कार्ययोजना लागू गर्न नसकेका हुन् । जिल्ला प्रशासन कार्यालय बागलुङले भने प्राकृतिक प्रकोपका घटनाको व्यवस्थापन, उद्धार र राहतका लागि सबै संयन्त्र परिचालन गरिने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७