डा.केसी स्वास्थ्य अवस्थाबारे स्वास्थ्य मन्त्रीको चासो, उपचारका लागि डाक्टर जुम्ला पठाए

काठमाडौं, २१, असार । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरेका छन् । मन्त्री यादवले चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. केसीको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई निर्देशन दिँदै डाक्टरहरुको टोली जुम्ला पठाएका छन् ।
काठमाडाैंबाट डा. जीवन थापा र डा. सुभाष सुवेदीको टोली आजै बिहान जुम्लाका लागि हिंडिसकेको छ । डा. थापा र सुवेदीद्वयको टोलीले नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालबाट थप चिकित्सकको टोली लिएर आजै जुम्ला पुग्ने छन् ।
स्वास्थ्य मन्त्री यादवका स्वकीय सचिव महेश चौरसियाका अनुसार स्वास्थ्यमन्त्री यादवले चिकित्सा क्षेत्र सुधारको विषय स्वास्थ्य मन्त्रालयसँग मात्र नजोडिएको भन्दै शिक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग निरन्तर छलफल भईरहेको बताए । यस विषयमा चाँडै नै सरकारले उपयुक्त निर्णय लिने पनि सचिव चौरसियाले जानकारी दिए ।
डा. केसीको समर्थनमा कर्णाली प्रदेशका स्वास्थ्यकर्मीहरु विरोधमा उत्रिएपछि तत्काल काममा फर्किन र बिरामीहरुको सेवामा खटिन पनि स्वास्थ्य मन्त्री यादवले निर्देशन दिए ।