हेर्नुहोस् फोटो प्रतियोगिता-२०७५ मा पुरस्कृत यो वर्षको १९ उत्कृष्ट फोटोहरु

काठमाडौँ, २१ असार । फोटो पत्रकार क्लबको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता –२०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् । श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाउँमा बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदीमा बगाउँदै गरेको फोटो यस वर्षको ‘फोटो अफ द इयर’ घोषित भएको हो । उपाधिसहित श्रेष्ठले रु एक लाख प्राप्त गरे ।

यसैगरी दीपेन्द्र रोक्काको फोटोले ‘शिखर इन्स्योरेन्स नेपाल स्माइल’ विधा जित्यो भने नरेन्द्र श्रेष्ठको फोटो दोस्रो तथा सुरज श्रेष्ठको फोटो तेस्रो भयो । ‘आइएमएस डेली लाइफ’ विधामा सुनिता डंगोलले बाजी मारिन् भने सोही विधामा दुर्गा राना मगरको फोटो दोस्रो तथा केशव थापाको फोटो तेस्रो भयो । अंगद ढकालले अर्घाखाँची सिमेन्ट न्यूज विधाको उपाधि जित्दा संजोग मानन्धरको फोटो दोस्रो तथा स्कन्द गौतमको फोटो तेस्रो भयो । नेपाल टेलिकम नेचर एण्ड वाइल्डलाइफमा श्रीराम खत्रीले जिते । सोही विधामा उम्मिद शाक्यको फोटो उपविजेता बन्दा हेमन्त श्रेष्ठको फोटो तेस्रो भयो । कल्चर एण्ड टुरिजममा किरण श्रेष्ठ पहिलो, दीनेश श्रेष्ठ दोस्रो र अजय मानन्धर तेस्रो भए ।
त्यस्तै डिसहोम एक्सन स्पोर्टस विधाको उपाधि प्रतीक रायमाझीले जिते भने रवी उपाध्यायको फोटो दोस्रो तथा उज्वलचन्द्र बुद्धाचार्यको फोटो तेस्रो भयो । नेप्टोस फोटो स्टोरीमा मनिष पौडेलको फोटो प्रथम भयो भने हेमन्त श्रेष्ठकै फोटो उपविजेता तथा नरेन्द्र श्रेष्ठको फोटो तेस्रो भयो । प्रत्येक विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु तीस हजार, बीस हजार र दश हजार प्राप्त गरे ।
विजेतालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, आयोजक संस्थाका अध्यक्ष विकास कार्कीलगायतले पुरस्कार प्रदान गरे । सो अवसरमा मन्त्री बाँस्कोटाले फोटो आफैँमा जीवन भएकाले यसको महत्व दिनदिनै बढिरहेको बताउँदै नेपालमा फोटो पत्रकारिता पछि परेकाले यसको विकास र उन्नयनका लागि आफूले सक्दो पहल गर्ने विचार व्यक्त गरे ।
फोटो प्रतियोगिताका निर्णायक मण्डलका एक सदस्य तथा बाह्रखरी डटकमका प्रधानसम्पादक प्रतीक प्रधानले गुणस्तरीय, कलात्मक र राम्रो कम्पोजिसनलगायत फोटोका अन्य पाटोलाई हेरेर उत्कृष्ट फोटो छानिएको बताए ।
यसैगरी यस वर्षको ‘फोटो अफ दि इयर’को विजेता श्रेष्ठले आफूले पुरस्कारवापत पाएको रकम कमल सदा र यादव थपलियाको परिवारलाई प्रदान गर्ने घोषणा गर्दै सदाको परिवारलाई रु ७० हजार र थपलियाको परिवारलाई रु ३० हजार दिइने बताए । गत वर्ष सप्तरीमा गएको बाढीमा ज्यान गुमाउन पुगेका कमल सदाको फोटोले यस वर्षको फोटो अफ दि इयर जित्न सफल भएको थियो ।
त्यस्तै आयोजक क्लबका अध्यक्ष विकास कार्कीले यसपटकको सफलताले आगमी दिनमा यस्तै प्रतियोगिता गर्न उत्साह थपेको बताए । उत्कृष्ट घोषित भएका फोटो आगामी साउन १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनीमा राखिनेछ भने काठमाडौँ बाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा समेत प्रदर्शनीको आयोजना गरिने फोटो पत्रकार क्लबले जनाएको छ ।
नेपाल स्माइल विधा
दिपेन्द्र रोक्काको यो फोटो नेपाल स्माइल विधामा पहिलो ।
नेपाल स्माईलमा दोस्रो हुन सफल नरेन्द्र श्रेष्ठको फोटो ।
नेपाल स्माइलमा तेस्रो हुन सफल सुरज श्रेष्ठको फोटो ।
डेली लाइफ विधा
डेली लाइफ’ विधामा सुनिता डंगोलको पहिलो बन्न सफल फोटो ।


न्युज विधा



नेचर एण्ड वाइल्डलाइफ विधा



कल्चर एण्ड टुरिजम विधा



स्पोर्टस विधा


