बल्खु दक्षिणकाली सडकको भ्रष्टाचारमा अख्तियारको छानबिन सुरु


२२ असार २०७५, शुक्रबार
balkhu danchikali

काडमाडौं, २२ असार । आर्थिक बर्षको अन्तिममा रातारात विकासका कामहरु द्रुत गतिमा भइरहेका छन् । यसरी रातारात पीच गरिएका सडकको गुणस्तरबारे प्रश्न उठिरहने गरेको छ । बल्खु–फर्पिङ सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाएको छ ।

balkhu danchikali
पीच गर्नासाथ यसरी भत्कियो सडक ।

सडक डिभिजनका कर्मचारी, निर्माण व्यवसायी, परियोजनाका डिजाइनर तथा सुपरभिजन गर्ने कम्पनी र आयोजनाको लागि ऋण दिने दाता नै मिलेर सडक निर्माण गुणस्तरीय हुन नसकेको स्रोत बताउँछ । स्रोतका अनुसार बल्खु–दक्षिणकाली सडकमा सबै पक्ष मिलेर गुणस्तरहीन सामान प्रयोग गरी भ्रष्टाचार गरेको कुरा जानकारी भएपछि अख्तियारले छानबिन गर्न लागेको छ । आर्थिक वर्षको अन्त्यतिर विकास पूर्वाधारको काम तीव्र पार्ने, टालटुल पारेर सडक तयार गरेजस्तो देखाउने, जनताको आँखामा छारो हालेर हिसाब मिलान गरेर भ्रष्टाचार गर्ने प्रवृत्ति अझै मौलाउँदै गएको छ । त्यो कुरा बल्खु–फर्पिङ सडकमा पनि देखिएको छ ।

बल्खु–फर्पिङ सडक खण्डमा पहिलो चरणको पिच सकिएको छ । बर्षायामको मुखमा गरिएको पिच हप्तादिनभित्रैमा विभिन्न ठाउँमा दर्जनौं खाल्डा परिसकेको छ । सडक निर्माण गरिएको सात दिनमै पिच उप्किन थालेपछि चाल्नाखेलका स्थानीयबासी विरोधमा उत्रिएका छन् । उनीहरुले स्थानीयबासीलाई झुक्याइएको भन्दै आक्रोस पोखेका छन् । साढे नौ किमी सडकमध्ये करिब सात किमी सडकमा पिच गर्ने भन्दै अलकत्रा हालेर गिट्टीले छोप्ने काम मात्र गरिएको स्थानीयबासीको आरोप छ ।
प्रधानमन्त्री केपी शर्मा ओली सुशासन कायम गराउन प्रतिबद्ध रहेको भन्दै भाषण गरिरहँदा राजधानी काठमाडौंको बल्खु–दक्षिणकाली सडक भ्रष्टाचारकै कारण गुणस्तरहीन बनिरहेको छ । बल्खु–दक्षिणकाली सडकमा जस्तै देशका विभिन्न सडक आयोजनाहरुमा भ्रष्टाचार हुने गरेको छ ।

बल्खु दक्षिणकाली सडक हेटौडा–काठमाडौं जोड्ने बैकल्पिक राजमार्गको एक मात्रै नभएर उपत्यकाको चर्चित शक्तिपीठ मध्येकी एक दक्षिणकाली मन्दिरमा ओदोर दोहोर गर्ने हजारौं भक्तजनहरु हिड्ने मार्ग समेत हो । त्यही सडक खण्ड सुधारको नाममा गुणस्तरहीन पिच गरेपछि कामको अपजसको भारी सरकारको टाउकोमा चर्कोसँग थोपरिने भएको छ । बल्खु–दक्षिणकाली सडक विगत केही बर्षदेखि जीर्ण र खाल्डैखाल्डा भएकाले यात्रुले सास्ती बेहोर्नुपरेको छ भने दुर्घटना पनि बढिरहेका छन् । सरकारले त्यो सडक फराकिलो पारी पीच गर्नका सिमाञ्चाल नामक भारतीय कम्पनी र गौरी पार्वती–सुनौला खिम्ती जेभीलाई ठेक्का दिएको छ । जसको ७५ प्रतिशत भन्दा बढी भुक्तानी ठेकेदारहरुले लिइसकेका छन् ।
बल्खुदेखि फर्पिङसम्मको ९.५ किमी सडक चौडा गर्ने र सर्फेस डे«सिङ पिच गर्ने ठेक्का भारतीय कम्पनी सिमान्चल र गौरी पार्वती–सुनौला खिम्ती जेभीले पाएका हुन् । कटिङ, ड्रेन बनाउनै बाँकी रहेको अवस्थामा गुणस्तरहीन पिच गरेको निर्माण कम्पनीलाई आयोजनाले सेटिङमा ठूलो मात्रामा भुक्तानी दिएबाट आयोजनाका उच्च अधिकारी, सडक विभागको समेत मिलेमतोमा अनियमिततालाई ढाकछोप गर्ने प्रयास गरिएको छर्लङ्ग देखिएको छ । बल्खु–फर्पिङ आयोजनाका प्रमुख नरेन्द्र कोइराला हुन् । उनी यसअघि भक्तपुरदेखि जुनसुकै कार्यालयको प्रमुख हुँदा पनि काम गर्न नसक्ने डीईका रुपमा चिनिन्छन् ।
नेपाल सरकारले सबै क्षेत्रमा असफल भई बिस्थापित गरिसकेको ओटासिल पिच गरेकै शैलीमा पिच गरिएका कारण पनि सात दिनमै उप्किएर खाल्डाखुल्डी परेको बताइन्छ । चाल्नाखेल भन्दामाथिको जंगलमा ठाउँ ठाउँमा पिच भत्किसकेको छ भने टौदहमा पनि सडकको अवस्था राम्रो छैन । सडकमा पिच गर्ने नाममा अलकत्रा छरेर त्यतिकै छोडेका कारण पिच गरेको सडकमा अत्याधिक खाल्खाखुल्डीहरु रहेका छन् । चोभारको हिमाल सिमेन्ट उद्योगको गेटबाट निर्माण सुरु गरिएको सडकको ड्रेनमा समेत गुणस्तरहीन सिमेन्टका कारण ठाउँ ठाउँमा भत्केका छन् ।
भ्याट बाहेक कूल २३ करोड ८७ लाख रुपैयाँ ठेक्कामा लिएको कम्पनीले करिब १८ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । सुरुमा २० प्रतिशत अर्थात् चार करोड भन्दा बढी रकम मोबिलाईजेशन बापत लिएर फरार भएको कम्पनी गत वर्षमात्रै निर्माणमा फर्केको थियो ।

सन् २०१५ को जुन ३ देखि सुरु गरिएको सडक आयोजनाको समयावधि गत जेठ २४ नै सक्किएपनि पुनः थप्न चलखेल सुरु भएको छ । आयोजनाको म्याद सकिइसक्दा समेत जम्माजम्मी ६५ प्रतिशत हाराहारी मात्रै काम सम्पन्न भएको छ । एक वर्षको डिएलपी समेतलाई हिसाब गर्दा आयोजनाले ५५ देखि ६० मात्रै भुक्तानी गनुपर्नेमा करिब ७६ प्रतिशतभन्दा बढी रकम भुक्तानी गरिसकेको छ ।
गुणस्तरहीन पिच गर्ने सडक आयोजनामाथि अख्तियारले छानबिन गरी दोषीमाथि भ्रष्टाचार मुद्दा चलाउने तयारी गरिरहेको छ । गुणस्तरहीन सडक निर्माण गर्ने ठेकेदार नरेन्द्र कोइराला छानबिनको दायरामा तानिएका छन् । तर कोइरालालने भने सडकको डिजाइन नै गलत गरिएका कारण पीच भत्किएको दाबी गर्दैआएका छन् । उनले सडक विभाग तथा माथिल्लो निकायकै डिजाइनमा ठेक्का दिंदै डिजाइन गलत गरिएकाले यस्तो हुन गएकोा दाबी गर्दछन् । सो सडकको डिजाइन नेपाल सरकारले गरेको होइन । स्वाईल टेष्ट कम्पनी प्रा.लि, टेक स्टुडियो प्रा.लि., अभियान कन्सल्टेन्सी प्रा.लि र बिम कन्सल्टेन्सी प्रा.लि. ले संयुक्त रुपमा सो आयोजनाको डिजाइन तथा सुपरभिजन गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७