ज्येष्ठ नागरिकलाई बसेकै ठाउँमा महानगर विशेष भत्ता


२२ असार २०७५, शुक्रबार
bridha bhatta stimnews

काठमाडौं, २२ असार । काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घर–घर र अस्पतालमानै पुगेर ज्येष्ठ नागरिक महानगर विशेष भत्ता वितरण गरेको छ । bridha bhatta stimnews

अस्पतालमा उपचार गराई राखेका वडा नम्बर ७ का ८६ वर्षीया सीता डंगोल र ८५ वर्षीय मीनप्रसाद उपाध्यायलाई महानगरको टोलीले अस्पतालमा नै पुगेर बिहीबार ज्येष्ठ नागरिक विशेष भत्ता वितरण गर्‍यो । वडा नम्बर ७ कै सिफल पनेकु मार्गमा आफ्नो घरमा बस्दै आएका ८६ वर्षीय जुजुभाइ महर्जन र ७६ वर्षीया नानीमाया महर्जनलाई पनि घरमा नै पुगेर विशेष भत्ता प्रदान गरिएको छ ।

लामो समयको अन्तरालमा गत वर्ष स्थानीय तहमा जनप्रतिनिधि आएपछि कामपाले यस वर्षदेखि ज्येष्ठ नागरिकलाई महानगर विशेष भत्ता वितरण गर्न शुरु गरेको हो । कामपाका ३२ वडामध्ये अहिले वडा नम्बर ७ र २६ वडाका ज्येष्ठ नागरिकलाई यस किसिमको सुविधा प्रदान गरिसकेको छ । वडा नं २६ मा ७५ वर्ष उमेर पूरा भएका महिलाको संख्या ११२ र ८० वर्ष उमेर पूरा भएका पुरुषको संख्या ४२ रहेको छ । त्यस्तै, ४११ जना एकल महिला, ८५३ जना ज्येष्ठ नागरिक, १५ जना पूर्ण अपांगता भएका र २३ जना आंशिक अपांग छन् ।

त्यसैगरी, वडा नं ७ मा सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिकको संख्या १ हजार १४०, एकल महिला ५०४, पूर्ण अपांग २४ र आंशिक अपांग १३ जना छन् । भत्तासँगै उनीहरुको स्वास्थ्य अवस्था बुझ्नका लागि स्वास्थ्यकर्मी पनि परिचालन गरिएको छ । जसमा एक जना डाक्टरसहित चार जना रहेका छन् । बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म निःशुल्क सेवा उपलब्ध गराइने छ भने ल्याबको सुविधा, निःशुल्क औषधिलगायतको सेवा हुनेछन् ।

७५ वर्ष उमेर पूरा भएका महिला, ८० वर्ष उमेर पूरा भएका पुरुषका लागि जनही वार्षिक १२ हजारसहित फलफूल, पोषिलो खानेकुरासहित सम्मान प्रदान गरिएको छ । ज्येष्ठ नागरिकको सम्मान र उनीहरुले देखाएको बाटोमा हिँड्ने र महानगरलाई समृद्ध बनाउनु सबैको दायित्व रहेको कामपाका प्रमुख विद्यासुन्दर शाक्य बताउँछन् । प्रमुख शाक्यका अनुसार हाल महानगरमा करीब छ हजार ९२२ जना उक्त उमेर समूहका नागरिक रहेको प्रारम्भिक अनुमान गरिएको छ ।

सामान्यतया कामपाले यसका लागि वडाका नागरिकलाई वडा कार्यालय तोके पनि तोकिएको स्थानमा आउन नसक्ने नागरिकलाई जहाँ जहाँ ज्येष्ठ नागरिक सोही स्थानमा गएर कामपाका प्रतिनिधिले उक्त सुविधा प्रदान गरिरहेका छन् । त्यसैगरी, कामपाको जनस्वाथ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठ भन्छन्, ‘महानगरले दिएको वार्षिक १२ हजार ज्येष्ठ नागरिकलाई दैनिक जीवनयापन गर्न खासै अर्थ नराखे पनि स्थानीय सरकार रहेको छ भन्ने आभाष पक्कै नै भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७