पढिरहेका विद्यार्थी कक्षा कोठामै भ्वाक-भ्वाकी ढलेपछि …


२२ असार २०७५, शुक्रबार
36589854 1587256181397515 4270765769467363328 n

प्युठान, २२ असार । कक्षा कोठामा शिक्षकले पढाइरहेका बेला एकपछि अर्को गर्दै विद्यार्थीहरु बेहोस बन्दै ढले भने के होला ? पढ्ने वातावरण त हुँदैन न शिक्षकलाई विद्यार्थी सम्हाल्न नै मुस्किल हुन्छ । प्युठानस्थित एक विद्यालयमा यस्तै अवस्था सिर्जना भएको छ । 36589854 1587256181397515 4270765769467363328 n

जसका कारण एक साताका लागि विद्यालय नै बन्द गरिएको छ । उनीहरू टाउको दुख्ने, ज्वरो आउने, पखाला लाग्ने समस्याले ढलेका पनि होइनन् । पहिलो घण्टी मज्जाले पढ्छन् पनि । प्युठानको गौमुखी गाउँपालिका–७ नारीकोट पिपलरुखास्थित अमृत जीवन माध्यमिक विद्यालयका ४७ जना विद्यार्थीमा यस्तै समस्या देखापरेको छ ।

दोस्रो र तेस्रो घण्टी उनीहरूले पढ्नै सक्दैनन् । विद्यार्थीमा त्यसपछि एकोहोरो रुने, कराउने, काँप्ने, हल्लिने, पेट दुख्ने, छट्पटिने, मुटु दुख्ने जस्ता समस्या देखिने गरेको विद्यालयले जनाएको छ । दैनिक दुई-तीन घण्टा विद्यार्थी कक्षाकोठामै बस्नै नसक्ने गरेको शिक्षकहरु बताउँछन् । उनीहरुको यो अवस्थाले शिक्षकलाई सम्झाउनै समस्या परेको छ । असार ५ गतेबाट कक्षा २ देखि सातसम्मका धेरैजसो छात्रालाई उक्त समस्या देखा परेको प्रधानाध्यापक रामचन्द्र गिरीले बताए । ‘दुई हप्ता बढी भयो विद्यार्थी कक्षा कोठामा रुन थालेको’, गिरीले भने, ‘स्थानीय स्वास्थ्यकर्मीले चेकजाँच गर्नुभयो । तर, समस्या समाधान हुन सकेन ।’

३७ जना छात्रा र १० जना छात्रमा समस्या देखिएको उनले जानकारी गराएका छन् । ‘तीन कक्षामा पढाउँदै थिएँ’, शिक्षिका पार्वता जिसीले अनुभव सुनाउदै भनिन्, ‘पढाइरहेका बेला एक्कासी छात्रा विमला विक रुन थालिन् । उनी रोएको देखेपछि सबै कक्षाका विद्यार्थी रोइकराइ गरे ।’ विद्यार्थीलाई निको हुने आशामा दुई हप्ता बढी समय बितिसक्यो । समस्या झनै बढ्न थालेको शिक्षकहरु बताउँछन् । ‘भूतप्रेतको आशंकमा अभिभावकको सल्लाह अनुसार पूजाआजा समेत गरेको विद्यालयले जनाएको छ ।

विद्यार्थीलाई सम्हाल्न नसकेपछि अभिभावकहरूलाई दिनहुँ विद्यालयमा बोलाउने गरिएको छ । अभिभावकले दैनिक दुई–तीन घण्टा छोराछोरीलाई विद्यालयमा गएर सम्झाउने गर्छन् । एक हप्तादेखि पठनपाठन प्रभावित भएको छ । बिहान साढे दश बजेदेखि झण्डै दुई बजेसम्म विद्यार्थीमा उक्त समस्या हुने गरेको छ । धेरैजसो बालबालिकाहरू ६ देखि १६ वर्ष उमेर समूहका छन् ।

घटनाको विषयमा बुझ्न बिहीबार प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेसहितको स्वास्थ्यकर्मी टोली विद्यालयमा पुगेको छ । ‘विद्यार्थीमा मनोवैज्ञानिक समस्या देखियो’, प्रजिअ घिमिरेले भने, ‘केही विद्यार्थीलाई विशेषज्ञ सेवा दिनुपर्ने देखिएको छ ।’
मनोचिकित्सकसहितको विशेषज्ञ टोली ल्याउने विषयमा गृह मन्त्रालयमा जानकारी गराइसकेको उनले बताए । विद्यालयमा पुगेकी प्यूठान अस्पतालमा कार्यरत डा. सोफिया थापाले ‘मास हिस्टरिया’ ले गर्दा विद्यार्थीमा यस्तो समस्या देखिएको जानकारी गराइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७