लाइसेन्स लिन पाउनु भएको छैन ? अब अनलाइनबाटै भर्नुस् परीक्षा फारम

काठमाडौं, २२ असार । के सवारी लाइसेन्स लिनु भएको छैन ? कि लिनका लागि कोशिस गर्दा पनि भिड देखेर पछि पर्दै आउनु भएको त छैन ? अब न भिड न, नत भनसुन, सहज रुपमा लाइसेन्स लिन पाउनु हुने भएको छ ।
यातायात व्यवस्था विभागले लाइसेन्स परीक्षाको अनलाइन फारम साउन पहिलो हप्तादेखि पुनः सुचालु गर्ने भएको छ । आन्तरिक हिसाब तथा अडिट गर्न एक महिनादेखि रोकिएको अनलाइन फारम पुनः शुरु हुने भएको हो ।
विभागले एक महिनाका लागि देशभर मोटरसाइकल, कारलगायतको सवारी लाइसेन्स परीक्षाको अनलाइन फारम बन्द गरेको थियो । अनलाइन फारम देशभर साउन पहिलो हप्ताबाट सुचालु हुने विभागका निर्देशक तुलसी अर्यालले जानकारी दिएका छन् ।
उनका अनुसार छिटो लाइसेन्स लिनको लागि सेवा पुन सुचालु भएको छ । विभागले ड्राइभर भिसामा विदेश जान चाहने, नेपाली सेना, नेपाल प्रहरी, मिसनमा जान चाहने व्यक्तिका लागि इमर्जेन्सी लाइसेन्स वितरण गर्दै आएको छ । छिटो लाइसेन्स लिनको लागि विहान १०ः३० देखि १२ः३० सम्म विभागमा निवेदन दिइसक्नु पर्नेछ । विभागले अझै लाखौं स्मार्ट लाइसेन्स छपाई गर्न बाँकी रहेको छ ।