पूर्व प्रधानमन्त्री नेपालसँग गेसो पदाधिकारीको भेट
काठमाडौं, २५ असार । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) पदाधिकारीले आज (सोमबार) पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।
गेसो सभापति कृष्णकुमार राईको नेतृत्वमा नेता नेपालकै निवास कोटेश्वरमा गेसो पदाधिकारीले भेट गरी नेपाल र बेलायत सरकारबीच हुने वार्तालाई जतिसक्दो चाँडो हुने वातावरण मिलाई दिन आग्रह गरिएको छ । गेसो पदाधिकारीले नेता नेपाललाई सरकारका तर्फबाट चाँडो भन्दा चाँडो वार्ता कमिटी गठन गर्नका लागि पहल गरिदिन समेत आग्रह गरिएको छ ।
गेसो पदाधिकारीसँगको भेटमा नेता नेपालले नेपाल–बेलायतको वार्तालाई अगाडि बढाउन परराष्ट्रमन्त्रीसँग भेटघाट गर्न आग्रह गर्दै नेता नेपालले आफूले व्यक्तिगत रुपमा गेसोको आग्रहलाई कार्यान्वयन गर्न पहल गर्ने बचन दिएको गेसो अध्यक्ष कृष्णकुमार राईले जानकारी दिए । गेसोले आफ्नो अभियानका बारेमा जानकारी दिन असार २७ गते प्रज्ञा भवन काठमाडौंमा र २८ गते सुनसरीको धरानस्थित सैनिक भवनमा कार्यक्रम तय गरिएको गेसो उपसभापति मणि किरात वान्तवाले जानकारी दिए ।