विश्व विजेता इङ्ल्याण्ड अनुभवी क्रोेएसियासँग आज सेमिफाइनल भिड्दै


२७ असार २०७५, बुधबार
england vs croatia

काठमाडौं, २७ असार । रसियामा जारी विश्वकपको अर्को रोमाञ्चक सेमिफाइनल अन्तर्गत आज (बुधबार) राति ११ बजेर ४५ मिनेटमा सन् १९६६ को विश्व विजेता इङ्ल्याण्ड युरोपको अर्को प्रभावशाली देश क्रोएसियाविरूद्ध भिड्दै छ ।england vs croatia

युवा खेलाडीले भरिएको इङ्ल्याण्ड ५२ वर्षपछि विश्वकप फाइनल प्रवेशका लागि संघर्ष गर्दैछ । १९६६ मा विश्वकप जितेयता इङ्ल्याण्ड फाइनल प्रवेश गर्न सकेको छैन । क्रोएसिया अहिलेसम्म विश्वकपको फाइनल पुगेको छैन । सन् १९९८ को विश्वकपमा सेमिफाइनलको यात्रा तय गरेको क्रोएसियाका लागि यसपालि फाइनल प्रवेश गर्ने मौका पनि हो ।

क्रोएसियाली टोलीमा इङ्ल्याण्ड भन्दा अनुभवी खेलाडीको संख्या ठूलो छ । क्रोएसियाका १३ खेलाडी दोस्रोपल्ट विश्वकप खेलिरहेका छन् । इङ्ल्याण्डको २३ सदस्यीय टोलीमा १८ खेलाडी पहिलो विश्वकपको अनुभव संगाल्दै छन् । हाल इङ्लिस टोलीमा समावेश ५ अनुभवी खेलाडीमध्ये रहिम स्टार्लिङ र जोर्डन हेन्डर्सनको रुपमा दुई मात्र यस्ता खेलाडी छन् । जो नियमित टोलीमा समावेश भएर खेलिरहेका छन् ।
इङ्ल्याण्डले क्वाटरफाइनलमा स्विडेनलाई जित्दा खेलाडीहरूको औसत उमेर २५ वर्ष थियो । यस्तै, क्रोएसियाले रुसलाई पेनाल्टी सुटआउटबाट बाहिर निकाल्दा टोलीको औसत उमेर २९ वर्ष थियो ।

त्यसैले आजको खेललाई युवाविरूद्ध अनुभवी खेलाडीको भिडन्तको रुपमा हेरिएको छ । आजको खेलमा इङ्लिस प्रशिक्षक गारेथ साउथगेटले खेलाडी परिवर्तन नगरेको खण्डमा ‘थ्री लायन्स’ टोलीमा तीन खेलाडी यस्ता उपस्थित हुने छन्, जो १९९० मा इङ्ल्यान्ड सेमिफाइनलमा पराजित हुँदा जन्मिसकेका थिए । आस्ले यङ पछिल्लो विश्वकपको सेमिफाइनलमा इङ्ल्यान्ड हार्दा ४ वर्षका थिए । केली वाल्कर र हेन्डर्सन भर्खर जन्मिएका थिए । क्रोएसियाका तीन प्रभावशाली खेलाडी कप्तान लुका मोड्रिच (३२), इभान राकिटिक (३०) र मारियो मान्डुच्किच (३२) को उमेर ३० भन्दा माथि छ । तीन वटा विश्वकपको अनुभव संगालिरहेका मोड्रिच क्रोएसियाली टिमका यस्ता खम्बा हन्, जसलाई कुनै खेलमा पनि क्रोएसियाले विश्राम दिएको छैन ।

क्रोएसियाले समूह चरणको खेलमा नाइजेरियालाई २–०, अर्जे्न्टिनालाई ३–० र आइसल्यान्डलाई २–१ गोलले पराजित गर्दै नकआउट चरण प्रवेश गरेको थियो । प्रि–क्वाटरमा उसले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले र क्वाटरफाइनलमा रुसलाई पनि पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गरेको थियो ।

इङ्ल्याण्डविरूद्धको खेल पनि पेनाल्टी सुटआउटमा टुँगिएको खण्डमा क्रोएसिया विश्वकपको तीन नकआउट चरणमा पेनाल्टी सुटआउटसम्म पुग्ने एक्लो देश बन्ने छ । इङ्ल्याण्डले पनि समूह चरणमा ट्युनिसियालाई २–१, पानामालाई ६–१ ले पराजित गरेको थियो भने बेल्जियमसँग १–० ले पराजित भएको थियो । प्रि–क्वाटरमा ‘थ्री लायन्स’ ले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गरेको थियो । क्वाटरफाइनलमा उसले स्विडेनलाई २–० ले हराएको थियो । इङ्ल्याण्डले अहिलेसम्म विपक्षी टोलीविरूद्ध ११ गोल गरेको छ भने ४ गोल खाएको छ । स्विडेनविरूद्ध अघिल्लो खेलमा मात्र उसले विपक्षी टोलीलाई कुनै गोल गर्न दिएन । इङ्लिस कप्तान ह्यारी केन ६ गोल गरेर उत्कृष्ट फर्ममा छन्। उनलाई अघिल्लो पंक्तिमा डेले अलीले साथ दिइरहेका छन् ।

क्रोएसिया यसपालिको विश्वकपमा सबै खेल जितेर सेमिफाइनल पुगेको टिम हो । उसले विपक्षी टोलीविरूद्ध १० गोल गरेको छ भने इङ्ल्यान्ड बराबर नै ४ गोल खाएको छ । क्रोएसिया र इङ्ल्याण्डको विश्व फुटबलमा रमाइलो प्रतिद्वन्दीता छ । सन् २००८ को युरो छनोटमा क्रोएसियाले विम्बलेमा ३–२ गोल हान्दै इङ्ल्याण्डको आशामा तुषारापात गरेको थियो । यसको बदला स्वरुप इङ्ल्याण्डले २०१० को विश्वकप छनोटमा क्रोएसियालाई ४–१ र ५–१ ले पराजित गर्दै विश्वकप खेल्न बञ्चित गरेको थियो । यी देशबीच कूल ७ खेल भएका छन् । जसमा इङ्ल्याण्डको अवस्था मजबुत छ । इङल्याण्डले ४ र क्रोएसियाले २ मा जित हात पारेको छ । एक खेल बराबरीमा टुँगिएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७