वर्षाले मुलुकभरको जनजीवन प्रभावित, भक्तपुर डुबानमा, ३ को मृत्यु (फाेटाेफिचर)
चाँगुनारायणमा एकै परिवारका तीनको मृत्यु
भक्तपुर, २८ असार । गए राति परेको भीषण वर्षाका देशभरकाे जनजीवन प्रभावित बनेकाे छ । भक्तपुरकाे हनुमन्ते खोला र मनाेहरा खाेलामा आएको बाढीले भक्तपुर डुबानमा परेका छ।
हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ । भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् ।
राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा छन् । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अवस्था छैन् । जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ । यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन् । यहाँको डुबानले कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।
मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन् । चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको छ । मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेका छन् ।
यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ । घर बाहिर निस्कन पनि नसक्ने र घरभित्रै बस्न पनि नसक्ने अवस्थामा परेको यहाँका बासिन्दा अमर थापाले बताए ।
यस्तै अविरल वर्षापछि भक्तपुरको चाँगुनारायणमा घरमाथिको ढिस्को खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका वडा नम्बर ७, मजुवा टोलका हिराबहादुर लामाको घरमा ढिस्ककोले पुर्दा ७० वर्षीय लामासहित उनकी श्रीमती ६५ वर्षीया पानमाया लामा र उनीहरूकै नातिनी अढाई वर्षकी सम्पदा लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।
तस्बिर ः रासस