छलफलका आधारमा दलितसम्बन्धी कानून निर्माण गर्न सुझाव


२८ असार २०७५, बिहीबार
law

काठमाडौं, २८ असार । विभिन्न राजनीतिक दलका नेताहरुले दलित समुदाय, विषय विज्ञलगायत सम्बन्धित निकायसँग पर्याप्त छलफल गरेर मात्र दलितसम्बन्धी कानून निर्माण गर्न सुझाव दिएका छन् । law

दलित महिला केन्द्र, नेपालद्वारा यहाँ आज आयोजित ‘संविधान कार्यान्वयन, कानून निर्माण प्रक्रिया र दलित अधिकार’ विषयको एक अन्तरक्रिया कार्यक्रममा नेताहरुले दलित समुदायसम्बन्धी कानूनको मस्यौदा तयार गर्ने अवस्थादेखि नै पर्याप्त छलफल चलाउनुपर्नेमा जोड दिए ।

संविधानको धारा २४ मा जातीय भेदभाव तथा छुवाछुतविरुद्धको हक र धारा ४० मा दलितको हक समावेश गरिएको छ । विसं २०७५ असोज ३ गतेभित्रमा मौलिक हकअन्तर्गत बनाइनुपर्ने कानून निर्माण गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तिलक परियारले समग्र दलित समुदायको भावनाअनुसार स्वामित्व झल्किने गरी कानून निर्माण गर्नुपर्ने धारणा राखे । अधिवक्ताद्वय दिनेश त्रिपाठी र मीरा ढुंगानाले दलितसम्बन्धी कानून निर्माणका क्रममा दलित मात्रैको भन्दा पनि गैरदलित समुदायको समेत सुझाव लिइनुपर्ने सुझाव दिए ।

दलित महिला केन्द्र नेपालकी महासचिव तथा पूर्व सांसद कमला विश्वकर्माले दलितमैत्री कानून निर्माणका लागि सबैभन्दा बढी दलित समुदाय नै सक्रिय हुनुपर्ने बताइन् । विसं २०७३ मा स्थापना भएको दलित महिला केन्द्र, नेपाल दलित तथा उत्पीडित समुदायको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक र सांस्कृतिक सशक्तीकरणका लागि क्रियाशील छ । यसले दलित महिलाको राजनीतिक तथा आर्थिक अधिकारप्राप्तिका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७