‘थाई गुफा संग्रहालय, उद्धारबारे फिल्म’
काठमाडौं, २८ असार । दुई सातासम्म १२ जना बालकहरू र उनीहरूका एक जना फुटबल प्रशिक्षक फसेको उत्तरी थाईल्याण्डको ताम लुङ्ग गुफालाई अब संग्रहालयमा परिणत गरिने अधिकारीहरूले बताएका छन् ।
अधिकारीहरूका अनुसार त्यहाँ कसरी उद्धार कार्य सम्पन्न गरियो भनेर देखाइने छ । कम्तीमा दुई कम्पनीले त्यसको कथा फिल्ममार्फत् समेत देखाउने प्रयास गरेका छन् । उद्धार गरिएका बालक तथा उनीहरूका प्रशिक्षक अहिले अस्पतालमा उच्च मनोबलका साथ स्वास्थ्यलाभ गरिरहेका छन् र उनीहरूको स्वास्थ्य जाँच एक सातासम्म चल्ने छ ।
अवसर
थाई जल सेनाले उद्धारको नाटकीय भिडिओ सार्वजनिक गरेको छ । त्यसमा जोखिम मोलेर उद्धारकर्ताहरूले कसरी त्यो काम सफल पारे भन्ने देखाइएको छ । ताम लुङ्ग थाईल्याण्डको एउटा विशाल गुफा संयन्त्र भइकन पनि त्यस क्षेत्र निकै अविकसित भएका कारण पर्यटकहरू खासै जाँदैनन । ‘’यस क्षेत्र अब जीवित संग्रहालयको रूपमा रहनेछ’,’ पूर्व गभर्नर एवं उद्धारकार्य प्रमुख नारोङ्साको सोटानोकर्नले पत्रकार सम्मेलनमा भने, ‘’एउटा अन्तरक्रियात्मक तथ्यांक भण्डार खडा गरिने छ । यो अब थाईल्याण्डको अर्को महत्वपूर्ण आकर्षणको रूपमा रहने छ ।’ यद्यपि प्रधानमन्त्री प्रायुथ जनोचाले गुफाभित्र र बाहिर पर्यटकहरूलाई सुरक्षित राख्ने सावधानीका उपायहरू अपनाइनुपर्नेमा जोड दिएका छन ।
हलिवूड फिल्म ?
उद्धारकार्य सम्पन्न हुनु अगावै प्रेरणादायी इसाई चलचित्रहरू बनाउने अमेरिकी फिल्म निर्माता कम्पनी प्योर फ्लिकले आफ्ना निर्माताहरू त्यस क्षेत्रमा पुगेर उद्धारकर्ताहरूसँग आफ्नो सम्भावित फिल्मको लागि अन्तरवार्ता गरिराखेको बताएका थिए ।
तर लस एन्जलसको अर्को कम्पनी इभान्होई पिक्चर्सले भने आफूहरूलाई थाई सरकार र नौसेनाले फिल्म निर्माणका लागि औपचारिक रूपमा छानेको बताएका छन् । गुफामा फसेको समुहका सबै जनालाई अहिले उद्धार गरिएको छ र उनीहरू अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन् । उनीहरूका पीडा र उनीहरूलाई बाहिर निकाल्न तीन दिन निरन्तर चलाइएको कार्बाहीले विश्वको ध्यान तानेको थियो ।
दर्जनौं गोताखोर र सयौं अरू उद्धारकर्ताहरू परिचालन गरी अन्ततः उनीहरूलाई सकुशल बाहिर निकालिएको थियो । बीबीसी