वर्षाले ल्याएको संकट, कहाँ-के भयो ? (हेर्नुस् तस्विर)
काठमाडौं, २८ असार । करीब एक सातदेखि सक्रिय बनेको वर्षाले देशभर वितण्डा मच्चाएको छ । लगातारको वर्षाका कारण देशभरमा ठूलो धनजनको क्षति भएको छ ।
बुधबार रातिदेखि उग्र बनेको वर्षाले देशका पूर्वदेखि पश्चिमसम्मलाई प्रभावित बनाएको छ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा सबैभन्दा भारी वर्षा भएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा सबैभन्दा बढी ९३.६ मिलिमिटर वर्षा भएको छ । मौसमविद् कँडेलका अनुसार काठमाडाैंमा यो भारी वर्षा हो । यसअघि सन् २००२ जुलाई २३ मा काठमाडौँमा १७७ मिलिमिटर वर्षा भएको थियो । भक्तपुरमा धेरै वर्षा भए पनि महाशाखाले उपत्यकामा काठमाडौँको मात्र वर्षा रेकर्ड राख्ने गरेको छ । आज ताप्लेजुङमा ३६, ओखलडुङ्गामा २६.२, सिमरामा २८, भैरहवामा १३, दाङमा १२, नेपालगञ्जमा १० र वीरेन्द्रनगरमा १५ मिलिमिटर वर्षा भएको छ । काठमाडौँको अधिकतम ताफक्रम ३०.२ र न्यूनतम तापक्रम २१.२ डिग्री सेल्सियस रहेको छ ।
बुधबार रातिदेखिको निरन्तर वर्षाले उपत्यकाका भक्तपुर र काठमाडौँका कतिपय स्थानमा डुबान भएको छ । भक्तपुरमा बढीको प्रभाव बढी देखिएको छ । मध्यपुरथिमि, सल्लाघारी, सिर्जनानगरलगायतका स्थानमा डुबान भएको छ । बुधबार रातिको वर्षातका कारण भक्तपुरमा तीन जनाको ज्यान गएको छ । भक्तपुरमा अविरल वर्षापछि घरमाथिको ढिस्को खस्दा एकै परिवारका तीन जनाको ज्यान गएको हो । भक्तपुरको चाँगुनारायण नगरपालिका–७, मजुवा टोलका ७० वर्षीय हिराबहादुर लामा, उनकी श्रीमती ६५ वर्षीया पानमाया लामा र उनीहरूकै नातिनी अढाई वर्षकी सम्पदा लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन् । चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको छ । मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । यस्तै मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ । घर बाहिर निस्कन पनि नसक्ने र घरभित्रै बस्न पनि नसक्ने अवस्थामा परेको स्थानीय बासिन्दाले बताएका छन् ।
यसैबीच अविरल वर्षाको कारण बिभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । भक्तपुर, काभ्रे, चितवन, मकवानपुर, कास्कीलगायतका जिल्लामा सडकहरुमा पहिरो र डुबानका कारण सवारी साधन सञ्चालनमा समस्या भएको स्थानीयले जानकारी दिएका छन् । कोटेश्वर–भक्तपुर सडकमा चल्ने गाडीहरुलाई पेप्सीकोलाबाट डाइभर्सन गरिएको छ । ती गाडीहरुलाई पेप्सिकोला, पूरानो ठिमी हुँदै सल्लाघारीतर्फ पठाइएको छ । साना सवारी साधनहरुलाई भने गठ्ठाघरबाट डाइभर्ट गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
काभ्रेको भञ्ज्याङ, कालढुंगा र माम्टीमा पनि लेदो माटोसहितको पहिरो झरेका कारण वीपी राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ । काभ्रेकै जिरो किलोमा सडकको ग्याबिन तारको बाँध भत्काएर पहिरो खस्दा काभ्रेबाट सिन्धुपाल्चोक जाने–आउने सवारी साधन आज बिहान पौने ९ बजेदेखि बन्द भएको छ ।
काभ्रेको बनेपास्थित पुण्यमती खोलामा आएको बाढीले राजमार्ग डुबेकाले पनि सवारी आवागमन प्रभावित भएको छ । रातिदेखि नै रोकिएका गाडीहरु आज विहानबाट एकतर्फी चलिरहेका छन् । पानीको बहाव कम भएसँगै गाडीहरुलाई एक लेनमा आलोपालो चलाइएको काभ्रे प्रहरीले जनाएको छ । काभ्रेको मंगलटारमा पहिरो पन्छाएपछि एकतर्फी गाडी चलाइएको छ । वीपी राजमार्गमा पहिरो पन्छाएपछि गाडीहरु चल्न थालेका छन् । यस्तै मकवानपुरको फाखेल कुलेखानी हेटौंडा सडकखण्ड बिभिन्न स्थानमा झरेको पहिरोका कारण अवरुद्ध छ । सो सडक पूर्णरुपमा प्रभावित भएको मकवानपुर प्रहरीले जनाएको छ । सिन्धुली फिक्कल गाउँपालिका–२ सुनामबेंसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्गको सिन्धुलीखण्ड पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिएका छन् ।
चितवनको भरतपुर महानगरपालिका २९ स्थित १७ किलोमा अन्दाजी २० मिटर सडक भासिएकाले एकतर्फी गाडी चलिरहेका छन् । पालैपालो सडक पार गराउनुपर्ने भएकाले सवारी साधनहरु केहीबेर रोकिनुपर्ने भएको छ । यसैगरी पहिरो झरेका कारण पोखरा–बाग्लुङ सडकखण्ड पनि प्रभावित भएको छ । भूपी शेरचन राजमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका– ५ मा पहिरो खसेका कारण गए रातिबाट पोखरा–बाग्लुङ चल्ने सवारी साधनको आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस्तै देशको पूर्वी भेगमा पनि बाढी पहिरोको समस्यासँग स्थानीय जुधिरहेका छन् । पूर्वको झापा, मोरङ्ग, सुनसरीलगायतका जिल्लामा समेत भारी वर्षाका कारण विभिन्न स्थान डुबानको चपेटामा परेका छन् ।
सांसदहरुले राखे बाढी पहिरोको समस्या
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले जनजीवन, स्वास्थ्य सेवा तथा बाढीपहिरोका कारण भोग्नु परेको समस्याका बारेमा सदनमार्फत सरकारको ध्यानकर्षण गराएका हुन् ।
बाढी पहिरोका कारण देभभर नै दर्जनौं बस्ती डुबानमा परेको, नागरिक घरबास नै छाडेर हिँड्नु परेको, राजमार्गमा पहिरोका कारण जोखिम बढेको र यातायात अवरुद्ध रहेको बारेमा सांसदले सरकारको ध्यानाकर्षण गराए । उनीहरुले प्राकृतिक प्रकोपबाट जोगाउन सरकारले उचित साधन र स्रोतको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै बुधबार राति परेको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको अवस्था असहज भएकाले तत्काल विपद् नियन्त्रणका लागि कदम चाल्न सरकारको ध्यानाकर्षण गराए । यसरी ध्यानकर्षण गराउने सांसदहरुमा कृष्णभक्त पोखरेल, खगराज अधिकारी, गणेशकुमार पहाडी, अतहर कमाल मुसलमान, गणेशसिंह ठगुन्ना, गंगा चौधरी सत्गौवा, गंगाबहादुर तामाङ, छक्कबहादुर लामा, अमरेशकुमार सिंह, जिपछिरिङ लामा, आशाकुमारी विक, उमेश श्रेष्ठ, कल्याणकुमारी खड्का, कलिला खातुनलगायत थिए ।
बाढी पीडितको उद्धारमा सेना
अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परेकाहरूको उद्धारका लागि भक्तपुरमा नेपाली सेना परिचालन गरिएको छ ।
सैनिक मुख्यालयका अनुसार भक्तपुरको सल्लाघारी र चाँगुनारायणमा सेना परिचालन गरिएको हो । सल्लाघारीमा खरिपाटीबाट उद्धार टोली परिचालन गरिएको सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिएका छन् । यस्तै चाँगुनारायणमा सेनाको विपत् र इन्जिनियर गणबाट एक टोली खटिएको उनले बताएका छन् ।
‘हाम्रो उद्धार टोली खटिएको छ, विस्तृत विवरण आएको छैन,’भण्डारीले भने । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार काभ्रेको रोशीखोला बाढीमा फसेका दुई जनाको उद्धार गरिएको छ । एक रातको वर्षा समेत थेग्न नसक्ने राजधानीमा त सेनाले चाँडै उद्धारको काम गरे पनि देशका सबै जिल्लामा उद्धारको काम गर्न त्यति सहज छैन । दुर्गम गाउँका सर्वसाधरणले अझै पनि राम्रो उद्धार पाउन सकेका छैनन् । यसतर्फ सरकार सचेत हुन जरुरी छ । यस्तै बाढी पहिरोका कारण पीडित बनेकाहरुलाई राहत उपलब्ध गराउन सरकारले तत्काल प्रभावकारी कदम उठाउनु पर्छ ।