निवर्तमान स्वतन्त्र सभासद् झा पुनः स्वतन्त्रबाट उम्मेदवारी
गौशाला : दोस्रो संविधानसभाको निर्वाचनमा महोत्तरी जिल्लाको क्षेत्र नं ४ बाट स्वतन्त्रबाट सभासद् बनेका चन्देश्वर झाले बिहिबार पुनः आउँदो मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
जिल्ला सदरमुकाम जलेश्वरसमेत सम्मिलित क्षेत्र नं ३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिनेमा स्वतन्त्र उम्मेदवार झा पहिलो उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए ।
केही दिनअघि मात्रै सांसद विघटन हुनुभन्दा पहिले स्वतन्त्र सांसदबाट राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका झालाई उक्त दलले प्रतिनिधिसभाका लागि टिकट नदिएपछि आज उनले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएको हो ।
राजपा नेपालले महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको टिकट दिने प्रलोभन दिँदै पार्टी प्रवेश गराएकामा त्यहाँबाट सोही दलका संयोजक महन्थ ठाकुरले उम्मेदवारी दिने पक्का भएकाले आफूसँग धोका भएको आरोप लगाउँदै सभासद् झाले बागी उम्मेदवारकारूपमा स्वतन्त्र उम्मेदवारी दिएको हो ।
उनले आफूलाई महोत्तरीको क्षेत्र नं ३ मा प्रत्यक्षतर्फ टिकट दिने भनेर समानुपातिकतर्फको टिकटका लागि समेत सिफारिश नगरेकामा आफ्नो राजनीतिक चरित्रको हत्या गरेको आरोप लगाउँँदै आज पुनः आफू राजपा नेपाल परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएको बताए।