अस्तायो धरानको ‘ध्रुव तारा’


१ श्रावण २०७५, मंगलवार
tara subba 2


नेपालका सञ्चारमाध्यममा मंगलबार एउटा समाचार एकाएक फैलियो । समाचार थियो–धरान महानगरपालिकाका मेयर तारा सुब्बाको निधन । उनको निधनको खबरले परिवारलाई मात्र होइन सिङ्गो धरानबासी र देशलाई नै स्तब्ध र मर्माहत बनायो । धराने नागरिकले ‘धरानको तारा’ को उपनाम दिएका नेता सुब्बाको यो निधनलाई धरानबासीले ‘चम्किलो ध्रुव तारा’ अस्ताएको रुपमा लिएका छन् ।tara subba 2

लामो समयदेखि मृगौला रोगसँग जुधिरहेका मेयर सुब्बाको निमोनियाका कारण काठमाडौंको ग्राण्डी अस्पतालमा भएको निधनलाई केहि समय त स्थानीयले पत्याउन समेत कठिन माने । तर, सुब्बाको निधनलाई जति अकल्पनीय माने पनि आखिर सत्य त्यहि थियो ।

धरान उपमहानगरका मेयर तारा सुब्बाको निधन

मेयर सुब्बालाई सम्झिँदा
२०७४ साल असार २६ गते राति १० वजेर ५० मा तारा सुब्बा धरान उपमहानगरपालिकाका मेयर घोषित भए । उनले २० हजार ९७५ मत ल्याए । जुन मत प्रतिद्धन्द्धी भन्दा ४ हजार ८५५ बढी थियो । धराने जनताले लोकप्रिय मत दिएर उपमहानगरको प्रमुख निर्वाचित ५१ वर्षीय तारा सुब्बालाई रोज्नुमा उनको जीवनकालका उर्जाशील समयहरु राजनीतिमार्फत निरन्तर जनसेवाप्रतिको सम्मानको एउटा रुप थियो । २०२३ साल माघ १८ गते तेह्थुरमको खाम्लालुङमा जन्मिएका सुब्बा निष्ठाको अर्को पर्याय हुन् र थिए ।

३ कक्षासम्म खाम्लालुङको कालिका प्राविमा अध्ययन गरेर ४ कक्षा अध्ययन गर्न झापाको गोलधाप झरे । त्यसैबेला पञ्चायती व्यवस्थाविरुद्धको विद्यार्थी आन्दोलन चलिरहेको थियो १३ बर्षका सुब्बा त्यो आन्दोलनबाट अछुतो रहन सकेनन् । २०३७ सालमा धरान आएका उनी धरानको शिक्षा निकेतन माविबाट २०४२ सालमा एसएलसी पूरा गरे । २०४० सालमा कक्षा ८ अध्ययन गर्दैगर्दा माविमा शुल्क वृद्धिविरुद्धमा भएको विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी भए । त्यस आन्दोलनका क्रममा गरेको भाषण नै सुब्बाको पहिलो भाषण थियो । त्यहि समयमै अनेरास्ववियुको सदस्य हुँदै धरान नगर कमिटी सदस्य बने ।

हक्की नेता
तीन दशक बढी राजनीतिमा सक्रिय तारा एमाले बृत्तमा हक्की, निडर, जनताको काममा समर्पित, बोल्ड निर्णय लिनसक्ने, प्रष्टवक्ता र कुशल संगठकको रुपमा परिचित छन् । भन्नु पर्ने विषयहरु बुट्टा नभरी सिधै राख्ने र आफूलाई चित्त नबुझेको कुराहरु सिधा राख्न सक्ने र अरुको चित्त दुख्छ कि भनेर हुनै नसक्ने कुरा पनि हुन्छ भन्ने स्वभाव उनमा थिएन । त्यही स्वभावका कारण ताराको पहिचान अन्य नेताहरुको भन्दा पृथक बनेको छ र थियो । त्यही भएर पनि सबैका नजरमा प्रिय छन् ।

नेतृत्व अनुभव

मेयर घोषणा भईरहँदा पनि तारा सुब्बा नेकपा एमालेको धरान उपमहानगर कमिटीका अध्यक्ष थिए र यो उनको ह्याटिङक अध्यक्ष थियो । २०४७ सालमा युवा संघको नगर कमिटीबाट काम थालेका उनले सुनसरी जिल्ला कमिटी संयोजक हुँदै २ पटक जिल्ला अध्यक्ष भए । २ पटक केन्द्रीय सदस्य पनि बने । २०४८ सालमा नेकपा एमालेको धरान नगर कमिटी सदस्य बनेका उनी २०६२-०६३ को जनआन्दोलनपछि सचिव बने । सचिव हुँदै पार्टीमा बहुपदीय प्रणाली शुरु भएपछि लगातार तेस्रो कार्यकाल अध्यक्ष बनेर धरान उपमहानगरपालिकामा नेकपा एमालेलाई कुशलतापुर्वक नेतृत्व गरिरहे ।

२०५१ सालमा नेकपा एमाले सरकार हुँदा सुब्बाले खेलकुद विकास समिति सुनसरीको सचिवमा नियुक्त भए । २०५४ सालको स्थानीय निर्वाचनमा सुब्बाको बसोवास रहेको वडा नम्बर १७ बाट वडा सदस्य विजयी बनेर जिल्ला विकास समिति सुनसरीमा इलाका नम्बर २ बाट जिविस सदस्य समेत भए ।

जनआन्दोलनमा तारा
सुब्बा २०४० सालमै पञ्चायती व्यवस्थाविरुद्ध धरान–६ स्थित देशीलाइनमा पम्प्लेटिङ गर्ने क्रममा पक्राउ परेका थिए । ज्यानै जाने जोखिमको अवस्थामा पनि विभिन्न गल्ली र चोकहरुमा जुलुसको अगुवाई गर्थे । थोरै संख्यामा भए पनि जुलुसले राजा र पञ्चायतविरुद्ध नारा घन्काउँथे, र कुल्लेलम ठोक्थे । २०४६ सालको निरंकुश पञ्चायती शासनविरुद्ध लागे । २०६२-०६३ को जनआन्दोलनको समयमा संघर्ष समितिको सचिवको जिम्मेवारीमा रहेर नेतृत्व गरे ।

स्वच्छ छबी
नेता भ्रष्ट हुन्छन् भन्ने धारणा जनतामा छ । तर, सुब्बा धरानमा पारदर्शी नेताका रुपमा चिनिन्छन् । लामो समय पार्टी प्रमुख भएर, जनप्रतिनिधि भएर काम गरिरहँदा तथा विकास निर्माणको काममा सक्रिय भइरहँदा तारालाई कसैले औल्याउन पाएनन् । पैत्रिक रुपमा सम्पन्न उनको परिवार आर्थिक हिसावले सवल छ ।

हिजोको धरान र मेयर सुब्बाका सपना
धरानलाई जनसहभागिताको नमुना शहर भनेर नेपालमै चिनाउने काम नेकपा एमालेले गरेको हो । २०४९ र २०५४ सालको स्थानीय निर्वाचनपछि एमालेको नेतृत्वमा बनेको धरान नगरपालिकाले नगरपालिकाको ६० प्रतिशत र ४० प्रतिशत जनसहभागिताको नीतिका कारण धरान सफा र पक्की सडक सबै वडामा पुगेको शहर बन्यो । व्यवस्थित नगरका लागि घर नम्बरिङ पनि एमाले नेतृत्वकै बेला भयो । धरान घण्टाघर बन्यो । भानुचौकस्थित बसपार्कको विकल्पमा तीनकुने सुन्दर बस्ती विकास आयोजना र डाँडाघोपामा एयरपोर्ट निर्माणको प्रक्रिया नगरपालिकाले शुरु गरेको थियो ।

खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि एमालेले समिति नै बनाएर अध्ययन गरेको थियो परिणाम हाल परियोजना लागू भईसकेको छ । धरानलाई कस्तो बनाउने भन्ने विषयमा नेकपा एमालेले दीर्घकालीन भिजन तयार गरेको छ । सुकुम्बासी बहुल बसोवास रहेको धरानको मेयर हुना साथ सुकुम्बासीहरुलाई घर नम्बरिङ्ग गरेर लालपूर्जा वितरणको कामलाई प्राथमिकतामा राख्ने उद्घोष तारा सुब्बाले गरेका हुन् । उनका यी कामका कारण नै उनी धरानेहरुका मन मुटुमा बसेका नेता हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७