सेयर कारोबारमा अनलाइन परीक्षण आजबाट सुरु,लगानीकर्ताले विवरण हेर्न सक्ने
काठमाडौं, साउन १: मंगलबारदेखि सेयर कारोबारमा पूर्ण स्वचालित अनलाइन प्रणालीको परीक्षण गरिएको छ। नेप्सेका अनुसार ९ वटा ब्रोकर कम्पनीमार्फत अनलाइन प्रणालीको परीक्षण भएको छ।
आजदेखि विद्यमान कारोबार प्रणाली (कम्प्युटराइज्ड ट्रेनिङ सिस्टम) र नयाँ प्रणाली (अनलाइन ट्रेडिङ सिस्टम)को समानान्तर रुपमा संचालनमा आएका छन्। लगानीकर्ताले नयाँ प्रणालीमा आजैदेखि सहभागिता जनाउन पाउने छन्। ‘ब्रोकर कार्यालयबाट आजैदेखि युजरनेम र पासवर्ड लिई लगानीकर्ताले कारोबार हेर्न सक्नेछन्’ नेप्सेका एक उच्च अधिकारीले भने ‘परीक्षण काल धेरैमा २ महिना तोकिएको छ।’ नेप्सेका अनुसार औपचारिक रुपमा प्रयोगकर्ताको स्वीकारोक्ति (यूएटी) गर्न नयाँ कम्पनी छनौट भइसकेको छ। सो कम्पनीले यसअघि बोलपत्रमा उल्लेख गरिएका शर्त तथा सेवाहरु नयाँ प्रणालीमा भए नभएको परीक्षण तथा चेकजाँच गर्नेछ।
चेकजाँचपछि उसैले आइएसओ मान्यता प्रदान गर्दै प्रयोग गर्नका लागि योग्य छ भनी निश्चित गरेपछि मात्रै अनलाइन ट्रेडिङ पूर्ण रुपमा कार्यान्वयनमा आउने छ। परीक्षण सफल भएमा तोकिएको दुई महिनाअगावै पनि नयाँ सिस्टमको थालनी हुन सक्ने ति अधिकारीले बताए। युजर नेम र पासवर्डमार्फत लगानीकर्ताले हाल ब्रोकर कम्पनीले सिस्टममा प्रविष्ट गरेको आदेश र आफूले ब्रोकरमार्फत दिएको आदेश हेर्न सक्नेछन्। यो पूर्ण कार्यान्वयनमा आएपछि लगानीकर्ता आफैले घरबाटै आफ्नो आदेश प्रविष्ट गर्न सक्नेछन्।
लगानीकर्ताले खरिद वा बिक्रीको आदेश दिँदा कम्पनीको नाम, सेयर संख्या, किन्न वा बेच्न चाहेको मूल्य प्रविष्ट गर्नुपर्नेछ। यसरी प्रविष्ट गरिएको विवरण अर्कोले प्रविष्ट गरेकोसँग म्याच भएपछि कारोबार सम्पन्न हुनेछ। कारोबार भइसकेपछि तुरुन्तै वा नेप्से बन्द भएपछि लगानीकर्ताले विवरण हेर्न सक्नेछन्।
लामो समयदेखि लगानीकर्ताले पर्खिरहेको अनलाइन प्रणालीको परीक्षण गरिएसँगै सेयर बजारमा उत्साह थपिने नेप्सको विश्वास छ। अनलाइन प्रणाली परीक्षणमा आउने निश्चित भएसँगै यसअघि आइतबार र सोमबार सेयर बजारमा बढोत्तरी आएको थियो।