शक्ति गौचनद्वारा सन्यासको घोषणा


२ श्रावण २०७५, बुधबार
shakti

काठमाडौं, २ साउन ।  राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर शक्ति गौचनले संन्यास लिने घोषणा गरेका छन् । गौचनले नेपालले नेदरल्यान्डसँग खेल्ने पहिलो एक दिवसीय खेलपछि राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेका हुन् ।shakti

युरोप टुरका लागि इंग्ल्यान्ड जान लागेको नेपाली टोलीको बिदाइ कार्यक्रममा बोल्दै गौचनले सन्यासको घोषणा गरेका हुन् । उनले भने, ‘विदेशमा हुने यो मेरो अन्तिम खेल हो । मैले पूर्ण रूपमा सन्यासको घोषणा गरेको छु । घरेलु भूमिमा नेपालबाट अन्तिम खेल खेल्नेछु ।’

गौचनले आफ्नो लागि संन्यासको यो उपयुक्त समय भएको बताए । उनले भने, ‘मैले पहिला पनि भनेको थिए कि मभन्दा पनि राम्रो खेल खेल्न मेरा भाइहरुले विश्वास दिलाएको बेला मात्रै रिटायरमेन्ट लिन्छु । आज लाग्छ कि अहिले नेपाली टोलीमा प्रतिभाशाली युवा खेलाडीको कमी छैन । त्यसकारण संन्यास लिन यो नै मेरो लागि उपयुक्त समय हो ।’

नेपालले आगामी साउन १३ गते इंग्ल्यान्डको लर्डस् क्रिकेट मैदानमा त्रिकोणात्मक टी–२० सिरिज खेल्नेछ । मेरिलबोन क्रिकेट क्लब (एमसीसी), नेपाल र नेदरल्याद्बीचमा टी–२० सिरिज हुन लागेको हो । तीन टिमले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन्। शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । टी– २० सिरिजपछि नेपालले नेदरल्यान्ड्ससँग एकदिवसीय खेलसमेत खेल्नेछ। नेपालले सन् २०१६ पछि नेदरल्यान्ड्स भ्रमण गर्न लागेको हो ।

शक्ति गौचन नेपाली राष्ट्रिय क्रिकेट टिमबाट निरन्तर लामो समय खेल्ने खेलाडी हुन् । दायाँ हाते ब्याट्सम्यान तथा लेग स्पिन बलर गौचनले सन् २००२ मा ओमानविरुद्ध खेल्दै राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । अन्तराष्ट्रिय क्रिकेटमा ह्याट्रिक गर्ने उनी नेपालका पहिलो खेलाडी हुन् । ९ अन्तराष्ट्रिय टी ट्वान्टी खेलेका गौचनले ८ विकेट लिएका छन् । यस्तै लिस्ट एबाट १८ विकेट लिएका थिए। उनी हाल न्यु होराइजन स्कुलका प्रशिक्षक हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७