मध्यस्थकर्ता बन्नुपर्ने चिकित्सक संघ किन ‘नेविसंघ’को भूमिकामा ?


४ श्रावण २०७५, शुक्रबार
Muktiram

टिप्पणी
काठमाडौं, ४ साउन । यतिबेला डा.गोविन्द केसीको १५ औं अनसन यतिबेला चर्चामा छ । सत्ताबाहिर रहेका नेपाली कांग्रेस लगायतका दल डा.केसीको पक्षमा चर्को गरी उभिएका छन् । सत्ता पक्षको अडान पनि उस्तै छ । काठमाडौंमा अबको १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले पाँचवटाभन्दा मेडिकल कलेजलाई सम्बन्धन दिन नपाइने लगायतका माग राखेर केसी अनसनमा छन् । डा.केसीको अनसनको पक्षमा विपक्षी र सत्तापक्ष मात्रै होइन चिकित्सकहरु पनि बिभाजित छन् । नागरिक समाज र सञ्चार माध्यमहरु समेत विभाजित छन् । अवस्था यस्तो छ, यतिबेला स्वतन्त्र कोही छैनन् । की पक्षमा छन् त, की विपक्षमा । मध्यस्थकर्ता कोही नभए जस्तो देखिएको छ ।

स्वास्थ्य क्षेत्रसँग सम्बन्धीत मुद्दा भएकोले यो बेला मध्यस्थकर्ताको भूमिकामा नेपाल चिकित्सक संघ हुनुपथ्र्यो । तर बिडम्बना चिकित्सकहरुको साझा संस्था मानिएको नेपाल चिकित्सक संघ मध्यस्थकर्ताको भूमिकामा होइन उग्र आन्दोलनकारीको भूमिकामा छ । जुनसुकै अभियान, आन्दोलन अथवा वादविवादमा अन्तत सम्झौता वा सहमति हुन्छ । सम्झौता वा सहमतिमा कुनै पनि पक्षको माग सतप्रतिसत सम्बोधन नहुन सक्छ । यसरी सम्झौता वा सहमति गराउन मध्यस्थकर्ताको भूमिका आवश्यक पर्छ । यो समस्याको लागि नेपाल चिकित्सक संघ सबैभन्दा बढी उपयुक्त संस्था थियो । तर, दुर्भाग्य उसले आफ्नो भूमिका त निर्वाह गरेन नै संस्थाको गरिमा र नैतिक वैद्यतामा समेत प्रश्न गर्ने ठाउँ बनाइदिएको छ । यो नेपाल चिकित्सक संघको लागि त दुर्भाग्य हुदै हो । गरिमा बोकेका साझा संस्थाहरु यसरी स्खलीत हुदै जानु नेपाली समाजको लागि पनि दुःखको बिषय हो ।

Muktiram
नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ

 

गुम्यो गरिमा
केही दिनअघिसम्म नेपाल चिकित्सक संघको दुई माग थियो, ‘पहिलो, डा.केसीको जीवन रक्षा, दोस्रो केसीसँग वार्ता समिति निर्माण ।’ सरकारले वार्ता समिति गठन गरीसकेको थियो । उनको जीवन रक्षाको लागि काठमाडौं ल्याउन सरकारले प्रयास गरीरहेकै बेला संघले विहिबारदेखि देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने आह्रवान गर्न पुग्यो । सरकारले गठन गरेको वार्ता समितिले डा.केसीसँग वार्ता गरीरहेकै थियो । त्यो वार्तालाई टुंगोमा लैजान मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुपर्ने नेपाल चिकित्सक संघले एकाएक अस्पताल बन्दको उर्दी जारी गर्‍यो ।

संघको बुधबार बसेको कार्यकारी समितिको आकस्मिक बैठकमा स्वास्थ्य संस्था बन्द गर्दा विरामीको बिचल्ली हुने भन्दै संघकी कोषाध्यक्ष डा. श्रेष्ठले निर्णयमा आफ्नो असहमत दर्ज गरिन् । नोट अफ डिसेन्टमा उनले लेखेकी छिन् ‘हामी चिकित्सक प्रत्यक्ष बिरामीको जीवनसँग सरोकार राख्ने हुनाले बन्द हडतालमा असहमति जनाउँछु ।’ संघको १५ मध्ये ६ जनाले मात्रै अस्पतालमा हड्ताल गर्ने निर्णयको पक्षमा हस्तक्षार गरेका छन् । यी सबै समस्याकाबिचमा संघले बुधबार देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य सेवा बन्द गर्न अपिल सहित पत्रकार सम्मेलन गर्‍यो । उसले त्यतिमात्रै गरेन चिकित्सकहरुलाई कुनै हालतमा उपचार बन्द गर्न आन्तरिक सर्कुलर समेत गर्‍यो । बिरामीको उपचार गरे भबिष्यमा अप्ठ्यारो पर्ने धाक धम्की सहित आन्तरिक सर्कुलर गरियो । नेपाल चिकित्सक संघ जो चिकित्सकहरुलाई ‘बिरामीको उपचार गरे तेरो भबिष्य सकिन्छ’ भनेर धम्काउँछ ।

चिकित्सक संघ किन नेविसंघको भुमिकामा ?
यहाँनिर मैले नेविसंघको अवमुल्यन गरेको कदापी होइन । नेपालको शैक्षिक र प्रजातान्त्रिक आन्दोलनमा नेविसंघले गरेको भूमिका गौरवयोग्य छ । तर, नेविसंघ त्यो संगठन हो, जो नेपाली कांग्रेसको जन संगठन हो । उसले नेपाली कांग्रेसको आदेश र निर्देश अनुसार चल्छ । चल्नुपर्छ । तर, चिकित्सक संघ नेपाली कांग्रेसको जन संगठन होइन । तर, उसको भूमिका नेविसंघको भन्दा चर्को देखियो ।

विहिबारका केही दृश्यहरु सम्झिए मात्रै पुग्छ । बुधबार नेपाल चिकित्सक संघका अध्यक्ष र महासचिवले चिकित्सकहरुलाई अस्पताल ठप्प पार्न उर्दी लगायो । विहिबार त्यही उर्दी अनुसार डा.केसी अर्थात् नेपाल चिकित्सक संघको मुल नेतृत्व पक्षका चिकित्सकहरु बिरामी भर्ना भएको वाडैपिच्छे उपचार सेवा बन्द गराउँदै थिए । अस्पतालको वार्ड त्यो हो, बिरामीहरु उपचारत हुन्छन् अर्थात् मृत्युलाई जित्न चिकित्सकहरुको सहयोग लिन पुगेका हुन्छन् । उनीहरुको लागि भगवान चिकित्सक हो । तर, तिनै भगवानहरुले वाडैपिच्छे उपचार सेवा बन्द गराउँदै हिडेको दृश्य हृदयविदारक थियो । यो कुनै काल्पनिक कथा होइन वा आरोप पनि होइन । तपाईहरु टेलिभिजनहरुको भिडियोहरुमा हेर्न सक्नुहुन्छ, चिकित्सकहरुले उपचार गर्न उर्दी जारी गरेर वार्ड पिच्छे हिडिरहेको र बिरामीका आफन्ताहरुलाई धम्काइरहेको दृश्य ।

विहिबार नेपाल चिकित्सक संघको अपिलमा भएका दर्जनौं कामहरु मध्ये शिक्षण अस्पताल महाराजगन्जको एउटा मात्रै दृश्य सम्झिए पुुग्छ । केसीका पक्षमा उभिएका शिक्षण अस्पताल महाराजगन्जका चिकित्सकहरु विहिबार बिहानै बिरामी भर्ना भएको वाडैपिच्छे सेवा बन्द गराउदै हिडे । उपचार बन्दै गराउदै चिकित्सकहरु वार्डमा पुगेपछि चिकित्सको राउन्ड कुरीरहेका बिरामी न बोल्न सके, न प्रतिबाद गर्न नै सके । तपाई आफै सम्झिनुहोस्, अस्पतालको बेडमा चिकित्सक कुरीरहेका बिरामीहरुको अवस्था । कल्पना गर्नुहोस्, ‘तपाई अस्पतालको बेडमा चिकित्सक कुरीरहनु भएको छ, तर उपचार बन्द भन्दै आयो भने तपाईलाई कस्तो होला ?’

चिकित्सकहरुले यस्तो गरेपछि नर्शहरुले मन थाम्न सकेनन् । उनीहरुले उपचार जारी राख्ने बताए । तर, चिकित्सकहरुले भबिष्यमा जाँगिर उडाइदिने धम्की समेत दिए । उल्टै नर्सहरूलाई हप्काएपछि नर्शहरुले केही चिकित्सकहरुको कठालो समातेर कुटे । नर्सहरूले लछारपछार गर्दै चिकित्सकलाई अस्पतालको कम्पाउन्डसम्म लगे । उपचार नपाएपछि बिरामीको आफन्ताहरुले समेत बिरोध प्रर्दशन गरेका थिए । तर, केसी पक्षधर चिकित्सकहरुले केसी बिरोधी भिजालन्ते भन्दै उनीहरुमाथि नै जाई लागेका थिए । तनावग्रस्त भएपछि पुगेका प्रहरीलाई चिकित्सकहरुले बर्दीको गुन्डा भएको आरोप लगाएका थिए । गुन्डाका बर्दीहरु भन्दै गाली गरेपछि प्रहरीका डिएपीले ‘सेतो कोट लगाएका तपाईहरुको बोली कति राम्रो’ भन्दै सुनेर बसेका थिए ।

नेपाल चिकित्सक संघको अपिलमा भएको एउटा घटना मात्रै हो यो । बिहिबार यस्ता दर्जनौं घटनाहरु घटे । के नेपाल चिकित्सक संघ यसैका लागि स्थापना भएको हो । हो, आफ्ना चिकित्सकहरुको हकअधिकारको पक्षमा बोल्नु उसको कर्तव्य हो । तर, यसरी कुनै एउटा अमुक पार्टीको जन संगठन जस्तो मैदानमा उत्रिनु बिडम्बना हो । वास्तवमा चिकित्सक संघ यो बेला मध्यस्थकर्ताको भूमिकामा हुनुपथ्र्यो । तर, बिडम्बना कांग्रेसको जनसंगठन जस्तो भएर चर्को गरी गाली गलोजमा उत्रिएको छ । अस्पतालको बेडमा उपचारका लागि भर्ना भएका बिरामीलाई उपचार रोक्न समुहबन्दी गरीरहेको छ । मध्यस्थकर्ताको भूमिकामा रहनुपर्ने गरिमामय संगठन कांग्रेसको जनसंगठन भन्दा अल तलै झरेर मैदानमा उत्रिएपछि यसलाई पनि सानेपा सारे हुदैन र ?

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७