मस्र्याङ्दी नदीमा पानीको बहाव बढ्यो, प्रशासनको सतर्कता रहन आग्रह


६ श्रावण २०७५, आईतवार
marsyangdi river nepal annapurna trekking cloudy 2

बेँसीशहर, लमजुङ, ६ साउन । मस्र्याङ्दी नदीमा पानीको बहाव अत्याधिक बढेपछि उच्च सतर्कता अपनाइएको छ ।
नदीमा साविकभन्दा पानीको मात्रा बढेपछि सम्भावित जोखिमबाट बच्न प्रशासनले नै सतर्क रहन आग्रह गरेको हो ।marsyangdi river nepal annapurna trekking cloudy 2

नदीमा अचानक पानीको बहाव बढेपछि मनाङ र लमजुङअन्तर्गत नदी वरपरका बस्तीलाई शनिबार साँझ प्रशासनले विभिन्न सूचना संयन्त्र प्रयोग गरी सर्वसाधारणलाई जानकारी गराएको छ ।

माथिल्लो भेगमा रहेका हिमतालका कारण मस्र्याङ्दीमा खतरा रहेको कतिपयको बुझाइ छ । यद्यपि मनाङका कतिपय ठाउँमा अत्याधिक वर्षा र हिमालमा चर्को घामका कारण हिउँ पग्लेर पानीको बहाव बढेको अनुमान गरिएको छ । ‘केही दिनयता पानीको बहाव अत्याधिक भएको छ’ प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले भने,‘सम्भावित खतराबाट बच्नका लागि सतर्क रहन आग्रह गरेका छौँ ।’

स्थानीयवासीका अनुसार मस्र्याङ्दीमा पानीको बहाव अहिलेसम्मकै उच्च हो । पानीको बहावले सदरमुकाम चामेस्थित तातोपानी कुण्डको बाँधसमेत भत्काइदिएको छ ।

मनाङका चामे, धारापानी र ताल तथा लमजुङका श्रीचौर, स्यागे, भुलभुले, खुदीलगायत बस्ती नदी नजीकै भएकाले सम्भावित जोखिम मानिएको छ ।

सम्भावित जोखिमबाट बच्न दुवै जिल्लाका प्रशासन कार्यालयले विभिन्न संयन्त्रको प्रयोग गरी सतर्क रहन स्थानीयवासीलाई आग्रह गरेका छन् ।
रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७