यस्तो छापियो नयाँ मतपत्र


१९ कार्तिक २०७४, आईतवार
matpatra
काठमाडौं : निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छापेको छ । सर्वोच्च अदालतको आदेशअनुसार आयोगले ३२ जिल्लाका लागि मतपत्र छपाइ कार्य सकेको हो । आगामी १० मंसिरमा प्रतिनिधिसभाका ३७ र प्रदेश सभातर्फ ७४ सिटमा हुने निर्वाचनमा ३२ लाख ९१ हजार ९४५ मतदाता सहभागी हुनेछन् ।
matpatra

मतदाताभन्दा २० प्रतिशत बढी मतपत्र छाप्ने प्रचलन छ । समानुपातिक निर्वाचनका लागि आवश्यक मतपत्र भने आयोगले १० कात्तिकभन्दा अघि नै छापिसकेको छ । अहिले निर्वाचन सामग्री जिल्ला–जिल्ला पठाउने काम भइरहेको आयोगले जनाएको छ ।

यस्तो बन्यो प्रत्यक्षको मतपत्र
निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षको मतपत्र सुरुमा एउटै पानामा दुईवटा मतपत्रको ढाँचा तयार गरेको थियो । तर, सर्वोच्च अदालतले छुट्टाछुट्टै पानामा छाप्न आदेश दिएपछि नयाँ ढाँचा बनाएर आयोगले मतपत्र छाप्न थालेको हो । नयाँ ढाँचाअनुसार प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपत्रमा हरियो रङमा निर्वाचन चिह्न अंकित हुनेछन् । त्यसैगरी, प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्रमा कालो रङका निर्वाचन चिह्न अंकित हुनेछन् । ती मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नुपर्नेछ ।

निर्वाचन आयोगका अनुसार अब मतदाताले तीनवटा मतपत्रमा छाप लगाउनुपर्नेछ । रातो रङ भएको मतपत्र समानुपातिक निर्वाचन प्रणालीको हुनेछ, जुन पानाको माथिल्लो भागमा प्रतिनिधिसभाको मतपत्र हुनेछ भने तल्लो भागमा प्रदेश सभाको मतपत्र हुनेछ । एउटै पानामा रहेका दुईवटा मतपत्रको दुवैमा मतदान गर्नुपर्नेछ । प्रत्यक्षतर्फको मतपत्रमध्ये कालो रङको प्रदेश सभा र हरियो रङको प्रतिनिधिसभाको मतपत्र भएकाले मतपेटिका पनि ती मतपत्रका लागि छुट्टाछुट्टै राखिएको हुन्छ ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७