पुष्पलालले राजा महेन्द्रलाई भेट्न मान्नुभएन

काठमाडौंको पहिलो मेयर जनकमान श्रेष्ठको नजरमा पुष्पलाल


७ श्रावण २०७५, सोमबार
जनकमान श्रेष्ठ Janak Man shrestha

जनकमान श्रेष्ठ
पुष्पलाललाई म नेताभन्दा पनि दाइका रूपमा बढी सम्झन्छु । पार्टीभित्र कमरेड भन्ने चलन थियो । मचाहिँ सबैलाई दाइ र भाइका भनेरै सम्बोधन गर्थें । मनमोहन अधिकारीलाई पनि म दाइ नै भन्थें । पुष्पलाललाई माइला दाइ भन्थें । नातामा पनि उहाँ मेरा दाइ नै हुनुहुन्थ्यो, म उहाँकी फुपूको छोरो हुँ । जेठा दाइ गङ्गालाल श्रेष्ठ सहिद हुनुभयो । उहाँ बरोबर हाम्रो घरमा आउनुहुन्थ्यो । म परीक्षा दिन पढिरहेको थिएँ । फुपू–फुपू भन्दै घरमा आउनुभयो । कोही नदेखेपछि म पढेकै कोठाभित्र पस्दै भन्नुभयो– ‘खोइ, फुपू कता जानुभयो ?’ म आफ्नै ढङ्गले पढिरेहेको थिएँ ।

फेरि ‘आमा खोइ ?’ भन्नुभयो । म आफ्नै तालमा पढिरहेको थिएँ । उहाँले मैले पढेको एकछिन सुन्नुभएछ । ‘यो भाइले के पढिरहेको ?’ उहाँले भन्नुभयो । म छक्क परेर उहाँकै मुख हेरिरहें । आमाले पनि ‘खोइ पढाइदिने कोही छैन, के पढिरहन्छ ? मलाई के थाहा ?’ भन्नुभयो । आमाले उहाँसँग ‘तिमीहरूले यसो हेरिदिए हुन्थ्यो नि !’ भन्नुभयो । गङ्गालाल दाइले ‘फुर्सद त छैन फुपू, बेलुका भात खाएर आउन सक्छ त !’ भन्नुभयो । मलाई औधि खुसी लाग्यो, दाजुले पढाइदिन्छु भन्नुहुँदा । ‘म आउँछु’ भनेर खुसीले गएF। तर, ११ दिनसम्म जाँदा पनि घरमा दाजुलाई भेट्न सकिनँ । ११ बजे तोप पड्कन्थ्यो । भाउजू ‘यसबेलासम्म पनि खाना खान आउनुभएको छैन’ भन्नुहुन्थ्यो । १२औं दिन त राणाहरूले उहाँलाई पक्रेर लगिहाले, राजकाज मुद्दा लगाएर । पछि शोभा भगवतीमा लगेर गोली हानी मारियो । म त्यतिबेला १०/११ वर्षको थिएँ । मेरो मनमा औधि आक्रोश पैदा भयो । त्यहीबेलादेखि मलाई राजनीतितर्फ आकर्षण बढ्दै गयो । मलाई पढाइदिन्छु भन्ने दाजुलाई लगेर मार्याे, यो राणालाई छाड्नुहुन्न भन्ने अठोट गर्न बाध्य बनायो । अनि मेरो संसर्ग पनि उतै बढ्दै गएको थियो ।

जनकमान श्रेष्ठ Janak Man shrestha
काठमाडौंको पहिलो मेयर जनकमान श्रेष्ठ

पुष्पलाल दाइले २००२ सालमा नेपालकै सबैभन्दा पहिलो जनताको जुलुसको नेतृत्व गर्नुभएको थियो । मैले मखन टोलको महादेव–पार्वतीको मन्दिरमा देवलमाथि चढेर भाषण दिइरहेको देखेको थिएँ । ‘हामीलाई नागरिक अधिकार चाहियो, राणाहरूले एकलौटी हुकुमी शासन चलाएर मान्छे मार्ने र दमन गर्ने कुरा हामी अब सहन सक्नेछैनौं’ भनेर बेजोडको भाषण दिनुभयो । ‘मैले नागरिक अधिकार माग्दा मलाई फाँसी दिन्छ भने तयार छु । गोली हान्छ भने छाती थाप्न तयार छु’ भनेर चर्को भाषण गर्नुभयो । त्यहीँबाट फैलिएको जुलुस नक्साल पुग्दा विशाल हुन पुग्यो । यस अर्थमा नेपालको सबैभन्दा पहिलो जुलुस पुष्पलालले नै हाँक्नुभएको हो । त्यहाँसम्म म पनि सँगसँगै पछि-पछि लागेर गएको थिएँ । नक्सालमा नरशमशेरले कार दौडाएर ल्याई पुष्पलाल दाइको कठालो समातेर गालमा चड्कन हानेर समातेर लग्यो । अरू सबै भागे । ८/१० जनालाई टिपेर ल्यायो, त्यसमा महिलाहरू पनि थिए । सहाना, साधना, शान्ता श्रेष्ठ र नानीमैयाँ पनि थिए । त्यहाँबाट उहाँलाई पद्मशमशेरको दरबारमा लगेर थुनामा राखियो । केही महिनापछि उहाँलाई छाडियो ।

त्यसपछि पुष्पलाल दाइ भारततिर लाग्नुभयो । त्यतिबेला राष्ट्रिय काङ्ग्रेसमा लागेर काम गर्नुभयो । काङ्ग्रेसी नेताको चालचलन उहाँलाई मन परेन । ‘यिनीहरू पनि राजनेता हुन् र !’ भनेर कलकत्तातिर लाग्नुभएको रहेछ । त्यही खबर सुनें मैले । उता रत्नलाल ब्राह्मण जनरल सेक्रेटरी थिए । उहाँकै संसर्गमा नेपाल कम्युनिस्ट पार्टी भनेर २००६ सालमा पुष्पलालले स्थापना गर्नुभएको हो ।

पुष्पलाल दाइ भारततिर लाग्नुभयो । त्यतिबेला राष्ट्रिय काङ्ग्रेसमा लागेर काम गर्नुभयो । काङ्ग्रेसी नेताको चालचलन उहाँलाई मन परेन । ‘यिनीहरू पनि राजनेता हुन् र !’ भनेर कलकत्तातिर लाग्नुभएको रहेछ । त्यही खबर सुनें मैले । उता रत्नलाल ब्राह्मण जनरल सेक्रेटरी थिए । उहाँकै संसर्गमा नेपाल कम्युनिस्ट पार्टी भनेर २००६ सालमा पुष्पलालले स्थापना गर्नुभएको हो ।

मलाई पनि राजनीतितिर आकर्षण भइरहेको थियो । नेपाली काङ्ग्रेसको सबै पोस्टर/पर्चा बनाउने काम काठमाडौंमा पूर्णबहादुर एमएले गर्नुहुन्थ्यो । म उहाँकोमा पनि गइरहन्थें । खासगरी राजनीतिक चाहनाकै कारण पर्चा पढ्न गएको थिएँ । म पुष्पलाल दाइको भाइ गौरीलाल दाइसँग जाने गर्थें । राजनीतिक चाहनाका रूपमा पूर्णबहादुर दाइकोमा पस्दा उहाँले पोस्टर बनाउने, पर्चा टाँग्ने कामहरू गर्ने निर्देशन दिनुहुन्थ्यो । अनि गणेशमानको नाममा कृष्णबहादुर थापा भन्ने उपनाम बनाइराखिएको थियो । पैसा, सामान रजिस्टर गरेर गोरखपुर पठाउने ठेगाना थियो त्यो । उहाँले अह्राएबमोजिमको काम गर्थें म । मान्छे हिँडेको ठाउँमा फरकफरक समयमा काम गर्न निर्देशन दिनुहुन्थ्यो । मलाई तल्लो एरियाको काम दिनुहुन्थ्यो ।

गणेशमानको नाममा कृष्णबहादुर थापा भन्ने रजिस्टर गरेर पठाइदिनुहुन्थ्यो । ब्रिटिस लिगेसन लैनचौरमा थियो । म त्यहाँबाट पत्र चलानी गर्थें । पैसा पनि पठाइन्थ्यो । ००७ सालमा कांग्रेसको नेतृत्वमा जब क्रान्ति सुरु भयो, त्यसमा मैले पनि भाग लिएँ । गौरीभक्त दाइको पहिलो सम्पर्कमा मैले पुष्पलाल दाइलाई चिनें । आफन्तकोमा उहाँले नै मलाई पुष्पलाल दाइसँग चिनाइदिनुभएको हो । त्योभन्दा अगाडि आफ्नै दाइका रूपमा चिनजान भएको थिएन । आफ्नै मामाको छोरा भएर पनि मैले यसरी भेट्न पाएको थिइनँ । उहाँले आफ्नो सामान फुपूको घरमा ल्याएर राखिछोड्नुभएको रहेछ । उहाँको फुपुको घर मरुटोलमा गौरीभक्त दाइले भेट्टाइदिनुभयो ।

‘दाइले यहाँ बसिरहेको धेरै भयो, मलाई राम्रो लागेको छैन । मलाई तिमी कहाँ बस्न कस्तो होला ?’ भनेर सोध्नुभयो । मैले उहाँको कुरा स्वीकार गरें । ‘फुपूलाई त थाहा नदेऊ नि !’ भन्नुभयो । फेरि अर्को अप्ठ्यारो भयो । कसरी सकिन्छ ? भात खुवाउनुपर्याे । यसो सोचें– यता भात खुवाउँदा पनि थाहा भइहाल्छ । सँगै भएको पुरानो घरमा साथीकोबाट भात ल्याएर खुवाउँछु भनें । उहाँ तयार हुनुभयो । हाम्रो त्यो खाली घरमा आएर उहाँ बस्नुभयो ।

००७ सालमा विराटनगरतिर गोली काण्ड चल्दै थियो । विराटनगर, भोजपुर, उदयपुरमा हमला भयो । धमाधम आन्दोलन बढ्यो । यता, काठमाडौंतिर सबैलाई थुनेको थियो । जुलुस बिस्तारै बढ्न थाल्यो । यहाँका राजनीतिक कार्यकर्ता सबै लगेर जेलमा हालिदिएको थियो । बढ्दै गएपछि मैले नै भाषण दिनुपर्ने भयो । मैले केही जानेको थिइन“ । कसरी भाषण दिने भनेर उहाँलाई नै सोधें । उहाँले मलाई सबै भाषण कला सिकाइदिनुभयो । ‘अहिले जेल हमला गर्ने बेला होइन, आत्तिएर अनि मात्तिएर जाने काम हाम्रो होइन । जनतालाई सम्हाल्नुपर्छ । यस्तो निचोडको अवस्थामा यिनिहरूले गोली चलाउँछन् । खुकुरी चलाउँछन्, दुनियाँलाई नोक्सान गर्छन् । हामीले नोक्सान गर्न दिनुहुन्न, बचाउनुपर्छ । राणाविरुद्ध खडा भएका जनतालाई सम्हाल्नुपर्छ भनेर जोस भर्ने काम गर्नू’ भन्नुभयो । मान्छेलाई मर्न र मार्न दिनुहुन्न भन्ने कुरा पनि सिकाउनुभयो । उहाँ मलाई त्यतिबेलै रसियाको इतिहास पढाउँदै हुनुहुन्थ्यो । त्यहाँ लेनिनले पनि नेताहरूका साथमा संसद्मा भाग लिन गएका थिए ।

याे पनि पढ्नुहाेस्
दसपुत्र गल्लीमा पुष्पलाल
पुष्पलालका मीत मणिराज उपाध्यायको नजरमा पुष्पलाल {अन्तर्वार्ता}
आजको सन्दर्भमा पुष्पलालका विचार

 

त्यतिबेला मैले कांग्रेस नेतृत्वकै आन्दोलनमा सहभागी भए पनि स्वतन्त्र भएर बोलें । मैले भनें–‘शुक्रराज शास्त्रीले के भन्नुभएको थियो ? होस गर्नू, दुईटा आँखा खोल्नू, खुट्टाले टेक्नू भन्नुको अर्थ हामीले बुद्धि पुर्याेएर काम गर्नुपर्छ । खालि रिस मात्र झिकेर केही हुन्न । हाम्रा पूर्वजहरूलाई यिनीहरूले मारे । त्यसको बदला लिनु त छँदै छ । हामी जोसमा आएर होइन, होसमा बुद्धि पुर्याेएर लड्नुपर्छ ।’ मेरो पहिलो भाषण त्यही थियो, जुन पुष्पलालले नै सिकाउनुभएको हो । उहाँकै निर्देशनमा ‘मार्नु र मर्नु ठीक होइन, सभा यही विसर्जन गरौं’ भनें । तर, जुलुसले मानेन । अगाडि बढ्यो । केही अघि बढ्नासाथ गोली र भाला हानियो । थुप्रै घाइते भए । भीड तितरबिरत भयो ।

Pushplal shrestha
त्यसपछि पुष्पलालले मलाई धेरै विश्वास गर्नुभयो । उहाँले मलाई पार्टीको सङ्गठन गर्ने, माइन्युट लेख्ने सबै सिकाइदिनुभयो । विद्यार्थीहरूको पनि बैठक आयोजना गर्ने अफिस उहाँले नै मिलाइसक्नुभएको थियो । दरबार हाई स्कुलमा पढेका मदन लोचन उहाँका साह्रै भक्त थिए । उहाँ एक्लै अखिल नेपाल विद्यार्थी सङ्घको ब्यानर लेखेर एक्लै मुढामा अनशन बसिरहनुभएको रहेछ । पुष्पलाल दाइले उहाँलाई अरू वरपरका साथीभाइ बटुलेर सङ्गठन बनाउन सघाउनू भन्नुभयो । उहाँको निर्देशनबमोजिम म त्यहाँ गएँ । मदन एक्लै ब्यानर समातेर बसेका थिए । सबैतिर साथीभाइ जुटाएर बिस्तारै सङ्गठन बनाइयो । किसान सङ्गठन पनि त्यसैगरी बनाइयो । महिला सङ्गठन पनि बनाइयो । युवक सङ्गठन पनि खोलियो । त्यसमा पूर्णबहादुर एमएलाई अध्यक्ष बनाइयो । पूर्णबहादुर एमए गणेशमानले गाली गरेकाले चित्त दुखाएर बसेका रहेछन् । पुष्पलाल दाइले त्यो थाहा पाएर पार्टीमा ल्याउने कुरा गर्नुभएको रहेछ । मलाई त्यहाँ पनि पठाउनुभयो । मैले गएर माइन्युट लेखिदिएँ । सर एडमन्ड हिलारीले सगरमाथा चढेर फर्केपछि पहिलो स्वागत टुँडिखेलमा पूर्णबहादुर एमएको नेतृत्वमा गरिएको थियो । त्यो कार्यक्रममा पनि पुष्पलालकै निर्देशनमा हामी सहभागी भएका थियौं ।

यस्तै, उहाँकै निर्देशनमा ०११ फागुन ११ गते नेपाल–चीन मैत्री सङ्घ गठन गरियो । पुष्पलाल दाइकै निर्देशनबमोजिम पूर्णबहादुर एमए अध्यक्ष बने । नरप्रताप थापा उपाध्यक्ष र म सचिव भयौं । त्यतिबेला दरबार स्कुलमा गठन गरिएको हो । त्यो अहिलेसम्म चलिरहेको छ । पूर्णबहादुर एमएले निधनभन्दा केही दिनअगाडि नारायणमान बिजुक्छेलाई त्यो संस्थाको फाइल जिम्मा दिएर पठाउनुभएछ । यस्ता प्रायः सबै सङ्गठनको पहिलो हस्ताक्षर मेरै छ । पुष्पलाल दाइले मलाई नै जिम्मा लगाएर पठाउनुहुन्थ्यो । उहाँले दिएको निर्देशनअनुसारको भाषा लेखेर माइन्युट बनाइन्थ्यो । पिस्कोर खडा गरेर शान्तिका नाममा मान्छे जम्मा गर्ने गरिन्थ्यो । एकैचोटि कम्युनिस्टको कुरा गर्दा मान्छे डराउँछ, आउन मान्दैन भनेर शान्तिको नाममा मान्छे बटुल्ने र पछि राजनीतिक छलफल गर्ने भनेर सिकाउनुहुन्थ्यो उहाँ । हामी त्यसै गथ्र्याैं ।

त्यसैगरी बिस्तारै–बिस्तारै कम्युनिस्ट कार्यकर्ता बनाउने काम चलाइएको थियो । पछि कर्मचारी सङ्गठनको हडताल सुरु भयो । त्यसमा पनि पुष्पलाल दाइकै निर्देशनमा कमिटी बनाइएको थियो । तर, दुर्भाग्यपूर्ण भन्नुपर्छ, उहाँले विश्वास गरेर नेतृत्व दिएको त्यो मानिस पछि दरबारिया भयो र गद्दारी गर्याे । उसैले सबै पोल लगाउने र सुराकी गरेर दुःख दिने काम गर्याे ।

त्यतिबेलासम्म पुष्पलाल र मनमोहन अधिकारी साह्रै मिल्नुहुन्थ्यो । दाजुभाइजत्तिकै मित्र हुनुहुन्थ्यो । मनमोहन दाइलाई कहीँ दुःख होला भनेर मलाई पुष्पलाल दाइ सम्झाइरहनुहुन्थ्यो । मनमोहन दाइलाई एउटा औषधि नभई हुन्नथ्यो । त्यो पुर्याेइदेऊ भन्नुहुन्थ्यो । दुई वर्षसम्म उहाँ हाम्रै घरमा बस्नुभएको थियो । बिरामी पनि परिरहने भएकाले पुष्पलालले साह्रै ख्याल राख्नुहुन्थ्यो उहाँको । नेता भएर यति धेरै मित्र र कार्यकर्तालाई माया गर्ने गुण अरूमा मैले देखेको छैन । पुष्पलाल दाइमा त्यो गुण थियो । त्यही भएर त उहाँलाई सबैले पूर्ण विश्वास गर्थे ।

एक दिन मनमोहनले भन्नुभयो– ‘तपार्इंको घरमा धेरै दिन बसें । बुबाआमासँग परिचय पनि हुन पाएको छैन । खुरुखुरु आयो, भात खायो, बस्यो । यस्तो त राम्रो होइन नि ।’ त्यसपछि मैले उहाँलाई बुवासँग भेटाइदिएँ । बुवाले मनमोहनलाई भन्नुभयो– ‘तिमीहरूले राजनीति गरेर के पाउँछौ ? केही पनि गर्न सक्दैनौं यसरी एक्लै !’ उहाँ नेवारी उखान ‘छेपारोले घ्याम्पो समाउँछु भनेर सक्छ’ पनि भन्नुभएको थियो । तर, उहाँले बुबालाई सम्झाउनुभयो ।

मेरा बुवाआमालाई यिनीहरूले परिवर्तन गर्न सक्छन्, जनताको विश्वास जित्न सक्छन् भन्ने लागेकै थिएन । मेरा बुवाआमा आफ्नो भानिजको जागिर भएको ठाउँ धनुषा जानुहुन्थ्यो कहिलेकाहीँ । उहाँ उपचार गर्नुहुन्थ्यो ।

मेरा बुवाआमालाई यिनीहरूले परिवर्तन गर्न सक्छन्, जनताको विश्वास जित्न सक्छन् भन्ने लागेकै थिएन ।

जनकपुरतिर पुष्पलाल दाइको आमसभाका लागि बिहान सबेरैदेखि नै ‘माइकेलाल पुष्पलाल’ नारा दिएर समूहमा मान्छेहरू जिल्लाभरि घुमिरहेको सुन्नुभएछ । ‘माइकेलाल पुष्पलाल । त्यो यत्रो नेता भइसक्यो । जुलुसमा यत्रो नाम चलिसक्यो ।’ भनेर बुवाआमा छक्क पर्नुभएछ । ‘त्यो त गायब भयो, यहाँ बस्दै नबसी भागेर गयो भनेको त यहाँ यस्तो सङ्गठन गरेको रहेछ’ भन्नुभएछ । दिउँसो ४ बजे भाषण थियो रे जलेश्वरमा । बुवाआमा पनि हेर्न जानुभएछ । भाषण सुनेपछि बूढाबूढीलाई पनि धुमधाम प्रभाव परेछ । ‘बाफ रे, सारा मधेसीहरू पुष्पलालका पक्षमा माइकेलाल पुष्पलाल भनेर नारा लगाइरहेका’ उहाँहरू छक्क पर्नुभएछ । ‘नचाहिने काममा लागेर बस्याँछ, दाजुलाई त मारिसक्यो, किन लागेको यसरी ?’ भन्नुहुथ्याे बूढाबूढी, त्यस दिनदेखि ‘यिनीहरूले यसरी देशै पल्टाउँदै रहेछ’ भनेर असर परेछ ।

बुवाआमाले छेपारोले घ्याम्पो समाउने भन्ने कुुरा गर्न छाड्नुभयो । त्यसपछि हामीले घरमै पार्टीको केन्द्रीय कमिटीको बैठक गर्न थाल्यौं । घरमा सबै सहमत भए, यिनीहरूले जनताका लागि काम गरिरहेका छन् भनेर । बिहानबेलुका घरमा मान्छेको ताँती  भात खुवाउनुपर्ने, को कतिखेर आउँछ, कतिजना छन् ? केही थाहा नहुने । त्यसरी दुःख गरेर निर्माण गरेको पार्टी छाडेपछि एकदिन भाउजूले मलाई गाली पनि गर्नुभयो । यस्तो दुःख गरेर बनाएको पार्टी तपाईंले किन छोड्नुभएको भन्दै गाली गर्नुभयो । पुष्पलालले बनाएको हाम्रो पार्टीभित्र गलत मान्छेहरू पसिसकेको आभास मलाई भइसकेको थियो । शैलेन्द्र कुमार, डीपी अधिकारी, मदनमणि दीक्षित कहिले के कहिले के ? उनीहरूको पार्टीविरोधी कुरा मलाई चित्त बुझिरहेको थिएन । उहाँमाथि नै कारबाही गर्ने काम हुन थालेपछि म टाढिएको थिएँ ।

नगरपालिकाको चुनावमा पुष्पलाल दाइ यहाँ काठमाडौंमा हुनुहुन्थेन । मनमोहन दाइ मेरै घरमा हुनुहुन्थ्यो । पुष्पलालले उहाँलाई त्यो जिम्मा दिनुभएको रहेछ । उहाँकै निर्देशनमा म चुनावको तयारीमा लागें । उहाँकै सुझावअनुसार अघि बढ्दा म मेयर पनि बनें । मेयर बन्न त्यसबेला नेपाली काङ्ग्रेससँग मिलेर जानुपर्ने थियो । बीपी कोइराला कम्युनिस्टसँग मिलेर जाने पक्षमा बिल्कुलै थिएनन् । त्यही भएर ‘उनीसँग होइन, सिधै गणेशमान सिंहसँग कुरा गर्नुपर्छ’ भन्दै मनमोहन दाइले निर्देशन दिनुभयो ।

पुष्पलाल दाइले कतिपल्ट ‘मिलेर संयुक्त आन्दोलन गरौं’ भन्दा पनि बीपी ‘कम्युनिस्टसित हाम्रो मेल हुँदैन, संसारमा यस्तो कहीँ छ र !’ भन्थे । ‘मेरो नीति मिलुन्जेल मेरो पछि तपाईं लाग्नुस्, तपाईंको नीति मिले म सपोर्ट गरूँला’ भन्ने कुराकानी हुन्थ्यो । संयुक्त मोर्चाको पक्षमा बीपी बिल्कुलै थिएनन् । त्यही भएर उनी उग्र कम्युनिस्ट विरोधीका रूपमा चिनिन्थे । गणेशमानलाई मनाएपछि बीपीलाई उनैले मनाउँछन् भनेर पहिले गणेशमानलाई भनिन्थ्यो । त्यसबेला उनीहरूको प्रजा परिषद्को मान्छेलाई मेयर बनाउने तर्जुमा रहेछ ।

गोरखा परिषद्लाई उपसभापति बनाउने कुरा रहेछ । पछि प्रजा परिषद्बबाहेक जम्मै मेरो पक्षमा आए । मनमोहन दाइलाई सबै कुरा बताएँ । तपाईंलाई सपोर्ट दिनलाई जेजे गर्नुपर्छ गरौंला भन्नुभयो । काङ्ग्रेसले उपमेयर मागे दिनुस् भन्नुभयो । मैले त्यसै गरें । काङ्ग्रेस नआई कुरा मिल्ने अवस्था थिएन । चुनाव हुँदा सबैले मलाई भोट दिए । १२ मा १२ भोट नै मलाई आयो । मेयर बनेपछि मनमोहन दाइले सफलतापूर्वक काम सम्पन्न गरेको भन्दै अँगालो हालेरै बधाई दिनुभयो ।

म मेयर भएर नगरपालिकामा जनताको काम गर्दै थिएँ । जनताले मेरो काम निकै मन पराए र समर्थन बढ्दै गएको थियो । तर, प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई जनताको समर्थन बढेको मन परेको रहेनछ । उनको कुदृष्टि पर्याे । पुष्पलाल दाइ यताउता घुम्दै सङ्गठन बनाउँदै हुनुहुन्थ्यो । जहाँ पनि सङ्गठन निर्माण गर्ने दुईजना मान्छे टिपिहाल्नुहुन्थ्यो । पक्कापक्की बनाएर आउनुहुन्थ्यो । प्रजा परिषद्को शम्भुरामलाई १० चोटि भेटेर यता तान्नुभएको हो ।

पुष्पलाल दाइ यताउता घुम्दै सङ्गठन बनाउँदै हुनुहुन्थ्यो । जहाँ पनि सङ्गठन निर्माण गर्ने दुईजना मान्छे टिपिहाल्नुहुन्थ्यो । पक्कापक्की बनाएर आउनुहुन्थ्यो । प्रजा परिषद्को शम्भुरामलाई १० चोटि भेटेर यता तान्नुभएको हो ।

उनकै निर्देशनमा म चारैतिर धाएर कुरा गर्थें । म विद्यार्थी सङ्गठनमा पनि काम गरेको हुनाले धेरै कुुरा थाहा थियो । लाल कम्युनिस्टको पनि नेपाल विद्यार्थी युनियन थियो । गोपालचन्द्र अमात्य त्यसका महामन्त्री थिए । उनी मसँग मिल्थे । पार्टीको जनरल सेक्रेटरी थिए– गङ्गालाल हलुवाई ।

पुष्पलाल दाइले हाम्रो पार्टीमा आऊ भन्दा पनि मान्दैन, दुईचारजना बटुलेर नेपाल कम्युनिस्ट पार्टी नै भनेर चलाइरहेको छ । दुनियाँलाई भ्रम पर्ने भयो । हाम्रो पनि नेपाल कम्युनिस्ट पार्टी । कि यसलाई तान्नुपर्‍यो कि नाम फेर्न लगाउनुपर्‍यो । ‘मैले धेरैपटक भनें मानेन, तिमीले प्रयास गर’ भन्नुभयो । मलाई यसबारे अलिअलि थाहा थियो । धेरै पढेको मान्छे पनि होइन । रुसको बोल्सेभिक र मेन्सेभिकको कुरा गर्दा यसलाई मनाउन सकिन्छ भनेर मैले ‘दाइ तपार्इं बोल्सेभिक भइदिनुस्, पुष्पलाललाई मेन्सेभिकमा पारौं’ भनें । कुरा गरेर पल्टाइदिएँ । ‘तपाईं गोली बोकेर लड्नुपर्छ भन्नुहुन्छ, बोल्सेभिक बन्नोस्, उहाँ (पुष्पलाल) नमान्ने भएकाले मेन्सेभिक बनाइदिऔं ।’ यसो हुँदा तपार्इं लेनिनको पक्का चेला हुने भयो’ भनेर मनाएँ । बोल्सेभिकको परिचय छुट्टै दिनुपर्छ, त्यसका लागि लाल कम्युनिस्ट नाम राखौं भनें । एकै दिनमा उसले मान्यो । पर्चा ड्राफ्ट गरिदिएँ । १९ वटासम्म बुलेटिन निकाल्न सघाएँ । त्यो कामले पुष्पलाल खुसी हुनुभयो ।

पोलिटब्युरो दिन्छु भन्दा पनि नमान्नेलाई यो काममा लगाइयो । यो काम गरेपछि एक दिन उसले मलाई बोलाएर पेस्तोल अगाडि राखेर धम्क्याउन खोज्यो । मैले प्रतिवाद गरेपछि ‘आजबाट चिनें’ भन्दै हिँड्यो । यसरी पार्टी निर्माण गरेर अगाडि बढ्दै थियौं । जहाँ पनि म अगाडि बढ्थें, जहाँ पनि मञ्चमा गएर भाषण दिन्थें । पुष्पलालकै कारण मैले धेरै अनुभव हासिल गरें । यही कारण मेरो नाम चल्यो र नगरपालिकामा जितें । पुष्पलाल दाइकै सङ्गतमा लागेर जुलुसको लिड गर्ने, भाषण गर्ने सबै काम सिकें । कर्मचारीको आन्दोलनमा पनि मैले दाइकै सपोर्टमा सबैलाई उभ्याउन सघाएँ ।

पुष्पलालकै कारण मैले धेरै अनुभव हासिल गरें । यही कारण मेरो नाम चल्यो र नगरपालिकामा जितें । पुष्पलाल दाइकै सङ्गतमा लागेर जुलुसको लिड गर्ने, भाषण गर्ने सबै काम सिकें । कर्मचारीको आन्दोलनमा पनि मैले दाइकै सपोर्टमा सबैलाई उभ्याउन सघाएँ ।

पुष्पलाल दाइका बुवा भक्तलाल सुब्बा हुनुहुन्थ्यो त्यतिबेला । कर्मचारीको अध्यक्ष उहाँ नै हुनुहुन्थ्यो । गङ्गालाल दाइको पालोमा छोराले राजनीति गरेको आरोपमा उहाँको जागिर खोसिएको थियो । ००७ सालपछि फेरि सुब्बा भएर जागिरमा फर्किनुभयो ।

पुष्पलाललाई सबैले असाध्यै विश्वास गर्नुहुुन्थ्यो । एकचोटि भेटेको मान्छेले उहाँलाई छोड्दै छोड्नुहुन्नथ्यो । हृदयदेखि नै माया गरेको मैले पाएको छु । जहाँ पुग्यो, त्यहाँ प्रभाव छाड्ने । त्यसैले, अहिले पनि जताततै उहाँको नाम चम्किएको हो । देशभरि डुल्ने कोही नेता छैनन् । उहाँ धेरै डुल्नुभएको छ, उहाँले दुःख पाउनुभएको छ ।

२०११ सालतिरको कुरा हो, मनमोहन र उहाँ भात खाइरहेको बेला छलफल गरिरहनुभएको थियो । मनमोहनले पुष्पलाल दाइसँग ‘डीपी र शैलेन्द्रलाई वीरगन्जमा भेटेर कुरा गरें’ भन्दै ‘भोलि सत्ता हात परे साथी पनि नभनी मारौला तिमीहरूले भनेर झपारें’ भनेको कुरा बहिरबाटै सुनें । ‘पुष्पलालको नेतृत्व फेर्नुपर्छ भनेर कुरा उठेको पनि सुनें । पेपरमा पनि विरोध आएको थाहा पाएँ ।’ भन्दै उहाँले भन्नुभएको थियो ।

त्यो कुरा थाहा पाएपछि मैले पुष्पलाल दाइसँग भनें– ‘यो राम्रो भएन । आफ्नै पार्टीका नेताविरुद्ध संसारमा कहीँबाट पनि यस्तो विरोध आउँदैन । पार्टीकै मान्छेले तपाईंको खिलाफमा पेपरमा दिइरहेको छ । म उत्तर–गण्डक क्षेत्रको सचिव भएकाले सबैतिरबाट मलाई खबर आउँछ ।’ मैले भनें– ‘म लड्छु दाइ, यो त पार्टी बिगार्ने कुरा आयो ।’ उहाँले ‘पार्टी फोर्ने कुरा नगरौं’ भन्नुभयो । उहाँको निर्देशन मैले मान्नैपर्‍यो । पछि फेरि थ्री मेन्ससिप कमिटी भनेर ल्याए । थ्री मेन्ससिप कमिटीको सर्कुलर पठाइदेऊ भनेर मलाई जिम्मा दिनुभयो । मैले ‘म पठाउँदिनँ दाइ’ भनें । ‘तपाईं महासचिव खत्तम, यो के हो थ्री मेन्ससिप कमिटी ? तीनजना सँगै हिँड्ने ?’ भनें । थ्री मेन्ससिपमा पुष्पलाल, मनमोहन, तुल्सीलाल अमात्य थिए । ‘तपार्इंले किन छोड्नुभएको ? कोही मान्दैन यो कुरा । भोलि पुष्पलालको भाइ भन्छ र जो नेतृत्वमा पुग्छ, मलाई पहिले हिर्काउँछ । रुसको इतिहास तपाईंले पहिले पढाउनुभयो । यसरी नै हो विरोधीहरूले शत्रु मार्ने । तपाईंले मलाई पार्टी फोर्ने कुरा नगर भन्नुभयो । पार्टी फोर्ने कुरा मैले गरेकै होइन । अनुशासन छाड्नेको विरुद्धमा काम गर्नुपर्‍यो मात्रै भन्न खोजेको हुँ’ भनेर सम्झाएँ, तर मान्नुभएन । पछिल्लोपटक पनि उहाँले ‘यस्तो कुरा नगर बाबु, यत्रो मेहनत गरेको पार्टी फुटाउनुहुन्न’ भन्नुभयो । सायद यस्तो कदम चाल्दा पार्टी फुट्छ भन्ने चिन्ता लागेको हुनुपर्छ उहाँलाई । उहाँको पार्टीमाथि असाध्यै माया थियो ।

मैले त्यही दिन ‘दाइ, अब म पार्टीमा काम गर्दिनँ’ भनेर छोडिदिएँ । मनमोहन पनि हुनुहुन्थ्यो । उहाँले केही पनि भन्नुभएन । मलाई चित्त दुख्यो । पुष्पलाल दाइलाई ‘आजैदेखि पार्टीमा काम गर्दिनँ’ भनेर फर्किएर आएँ । पछि बोलाईबोलाई मलाई जबर्जस्ती पाटनमा जिल्ला कमिटीको बैठकमा लानुभयो ।

पाटनेहरू बहुत कडा मिजासका थिए । पुष्पलाल दाइले केही बोल्नुभएन । सबै कार्यकर्ताले सोधे, किन पार्टी छाडेको भनेर । ‘हामी पार्टीमा लाग्नुको कारण लिडरसिपमा विश्वास गरेर हो । हाम्रो पनि ज्यान हत्केलामा छ । हामी त्यसै लागेका होइनौं । यो निर्णय मान्दैनौं’ भनेर मिटङ नै हुन दिएनन् । ‘कसले छोडाएको ? किन छोडाएको ?’ भन्दै सबै खनिए । महनमोहन र पुष्पलाललाई र्‍याखर्‍याख्ती पारे । मलाई बोल्न भने । ‘म तमासा हेर्न मात्र आएको’ भनेर बोलिनँ । त्यो बैठकमा बहिष्कारै गरेर पठाए । किन छाडेको हो भन्ने यथार्थ नदिएसम्म नछोड्ने बताए ।

काङ्ग्रेस र राजा सबैको शत्रु थियो– कम्युनिस्ट । उनीहरूले नै खेलेर यो अवस्थामा पुर्‍याएका थिए । बीपी बाँचिरहेका भए संयुक्त जनआन्दोलन पनि हुँदैनथ्यो । पार्टीभित्रको यस्तो खेल पनि काङ्ग्रेस र सरकारले नै लगाएको हो भन्ने खुलिसकेको थियो ।

पार्टी छोडिसक्दा पनि म जेल परें । ‘राजालाई गाली गर्‍यो, मातृकालाई गाली गर्‍यो र शान्ति खल्बल्यायो’ भनेर थुनियो । मातृकाले मलाई बर्खास्त गर्न खोजेका थिए मेयरबाट । जेलमा पनि पार्टीका कोही भेट्न आएनन् । पछि छुटेर आएँ । पुष्पलाल दाइलाई यस्तो भयो भनेर सुनाएँ । ‘यत्तिकै दुःख दिनेलाई छोड्न हुन्न’ भनेर बिहारबाट वकिल झिकाइदिनुभयो । मुद्दा हालियो । त्यो त्यत्तिकै ढिसमिस भयो । म पार्टी छोडेर मेयर भएकै बेला कानुन पढेर सकें । पछि चुनाव आयो, मैले काम गर्न सकिरहेको थिइनँ । ०१५ सालको चुनावमा म त्यति सक्रिय हुन सकिनँ ।

पुष्पलाल दाइले विश्वास गरेको शम्भुरामले सबै बिगारेको कुरा पुष्पलालको भाइ विजयलालबाट थाहा पाएँ, उहाँ असाध्यै विश्वास गर्ने पुरानो साथी भनेर । आखिरीमा (उहाँ) शम्भुराम छुटेर जानुभयो । मनमोहनको सङ्गत खुब मिलेको थियो । पछि जेल पर्दा उहाँहरूको पनि कुरा मिलेनछ । झगडा पर्‍यो, बोलचालै बन्द । मैले सुनें– पुष्पलाल दाइ बहुत दुःख पाएर हिँडिरहनुभएको छ, खानपिन पनि छैन भन्ने । उहाँलाई सपोर्ट गर्ने सहिद गङ्गालाल दाइको क्लासमेट गम्भीरमान सिंहले एक दिन बोलाएर मलाई सबै भन्नुभयो । गम्भीरमान बिरामी परेर हिँड्न नसक्ने अवस्थामा हुनुहुँदो रहेछ । एक्कासि बोलाउनुभयो । म गएँ । गम्भीरमानले भन्नुभयो– ‘म यस्तो हालतमा बसिरहेकोलाई राजा महेन्द्रले पुष्पलाल तपाईंले भनेपछि मान्छ भनेर खबर आयो । म उठ्न नसक्ने मान्छे, कसरी मैले बोलाऊँ ।’ उहाँले मलाई ‘यहाँ बस्ने होइन, भारत निर्वासनमा बसेको मान्छे, तिमीले भनेपछि मान्छ बोलाइदेऊ’ भन्नुभयो ।

‘मैले पार्टीका लागि यत्ति दुःख गरें, यत्ति सङ्गठन गरिसकें, आज म उसलाई भेट्न जाँदा प्रधानमन्त्री त दिन्छन्, भोलि त उसको काम सिद्धिएपछि फेरि टङ्कप्रसादलाई जस्तै फुटबल हानिहाल्छन् । त्यसपछि म त घरको न घाटका हुन्छु दाइ, त्यसैले मैले महेन्द्रलाई भेट नदिएको हो,’ पुष्पलालले भन्नुभयो ।

एक दिन पुष्पलाल दाइ आएको बेला राति गम्भरीमानकोमा भेट भयो । उहाँले ‘राजा महेन्द्रले भेट्न खोजेका छन् । सबै कुरा गरी निर्णयमा पुगौं भन्नुभएको छ’ भनेर कुरा राख्नुभयो । पुष्पलाल दाइले मान्नुभएन । उहाँले गम्भीरमान दाइलाई भन्नुभयो– ‘तपार्इंलाई साह्रै दुःख दिइरहेका छन् भन्ने थाहा पाएर म आएको ।’ गम्भीरमानले दाइलाई भन्नुभयो– ‘तिमीले भनेपछि मान्छ, पुष्पलाललाई एकपटक मसित भेटाइदेऊ भनेर महेन्द्रले जोरजुलुम गरिरहेका छन् ।’ तर, दाइले मान्नुभएन । ‘मैले पार्टीका लागि यत्ति दुःख गरें, यत्ति सङ्गठन गरिसकें, आज म उसलाई भेट्न जाँदा प्रधानमन्त्री त दिन्छन्, भोलि त उसको काम सिद्धिएपछि फेरि टङ्कप्रसादलाई जस्तै फुटबल हानिहाल्छन् । त्यसपछि म त घरको न घाटका हुन्छु दाइ, त्यसैले मैले महेन्द्रलाई भेट नदिएको हो,’ पुष्पलालले भन्नुभयो । ‘उनले मलाई धेरै खोजेको थाहा छ । बनारसमा पनि महेन्द्र आफैं आएर भेट्न खोजेका थिए । मैले भेट नदिएरै छलेर बसिरहेको छु । उनको के काम लिनलाई हो, त्यो मलाई थाहा छैन । उनले मलाई प्रधानमन्त्री देलान्,’ उहाँले भन्नुभयो । त्यसबेला पुष्पलाल दाइले ‘महेन्द्रलाई भेट्दा पार्टी र मेरो जिन्दगीमा भएका सबै राम्रा काम खत्तम हुन्छन् दाइ । आफैं भन्नुस् दाइ, जाऊ भन्नुहुन्छ भने म जाउँला, भेटौंला, होइन भने म जान्नँ ।’ यत्ति भनिसकेपछि गम्भीरमान दाइले पनि ‘भैगो नजाऊ’ भन्दिनुभयो । त्यसपछि ‘यहाँ बस्यो भने पक्राउ परिहालिन्छ, यतैबाट फर्किन्छु’ भनेर उहाँ जानुभयो ।

त्यसपछि पार्टीभित्रको नराम्रो कुराले मलाई पनि चुप बस्न बाध्य पार्‍यो । म निष्क्रिय भएर बसें । तर, अहिलेसम्म पनि हामीले दुःख गरेको पार्टी जनताका बीचमा स्थापित भइरहेको छ । यसैमा खुसी लाग्छ ।

(काठमाडौं नगरपालिकाका पहिलो मेयर श्रेष्ठसँग गणेश बस्नेतले गर्नुभएको कुराकानीमा आधारित ।)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७