काठमाडौं आइपुग्यो वायुसेवाको दोस्रो वाइडबडी विमान


१० श्रावण २०७५, बिहीबार
Capture 81

काठमाडौँ, १० साउन। नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान (मकालु) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै अवतरण गरेको छ ।Capture 81विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार सहितको टोली विमानमा आएको हो ।विमानस्थलमा विमानलाई पानीको फोहोराले भव्य स्वागत गरिएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलका सचिव कृष्णप्रसाद देवकोटा, निगमका उच्च अधिकारीलगायतले स्वागत गरेको थियो ।

एयरबसको ए ३३०–२०० सिरिजको वाइड बडी जहाजले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नाइन एन एलजे दर्ता नम्बर९कलसाइन० पाएको छ। मकालु नाम दिइएको यो जहाजको हवाइ नियामक प्राधिकरणले प्राविधिक परीक्षण पूरा गरेर उडान अनुमति पत्र दिएपछि व्यावसायिक उडान गर्ने छ।

यसअघि आएको पहिलो जहाजले एओसी अझै पाएको छैन। अब केही दिनभित्र एओसी पाएर साउन १६ गते उडान गर्ने एयरलायन्सको तयारी गरेको छ। आज आएको जहाज बढीमा २० दिनभित्र सबै प्रक्रिया पूरा गरेर व्यावसायिक उडानमा जाने एयरलाइन्सका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए।

लामो दुरीमा उडान गर्न मिल्ने २७४ सिट भएको जहाजमा १८ बिजनेस क्लास सिट रहेका छन्। जहाजमा २–२–२ फर्म्याटका १८ बिजनेस क्लास, २–४–२ फर्म्याटका इकनोमी क्लासका सिट छन्। प्रबन्धक निर्देशक सुगरत्न कंसाकारले वाइड बडी जहाज नेपाल एयरलाइन्समात्र भन्दा पनि देशकै पर्यटन उद्योगमा कोशेढुंगाको रूपमा सावित हुने बताए।

यो जहाजले एकपटक धेरै यात्रुमात्र होइन लामो दुरीमा सिधा उडान गर्न सक्ने भएकोले नेपाललाई बाँकी विश्वसँग सम्पर्क स्थापित गर्न सहयोगी हुने उनको भनाइ छ।

‘वाइड बडीले वरिपरिमात्र उडान गर्ने होइन, यसले युरोप, अमेरिका, जापान तथा जहाँ आजको मितिमा सिधा उडान छैन त्यही गर्छ’ उनले भने,‘सिधा उडान हुँदा एकतिर पर्यटकहरूलाई नेपाल आउन सजिलो हुने छ भने अर्कोतिर एयरलाइन्सको व्यापार पनि राम्रो हुने छ।’

नेपाल एयरलाइन्सले दुबै वाइड बडी जहाज ल्याइसकेपछि केही समय अहिलेकै गन्तव्यमा उडान गर्ने र पछि जापान, कोरिया र साउदी अरबमा उडान गर्ने जनाएको छ। जहाज थप गर्दै गएपछि युरोप र अमेरिकासम्म उडान विस्तार गर्ने रणनीति बनाएको एयरलाइन्सले २ वाइड बडीबाट भने ३ गन्तव्यमा मात्र उडान गर्ने भएको छ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७