‘अमेरिकामा बस्ने नेपालीहरुको सम्बन्ध विच्छेदको दर उच्च छ’


प्रकाशित मिति : November 6, 2017

नेपाल सरकार मन्त्रिपरिषले २९ बैशाख २०७२ मा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा महावाणिज्य दुतावास (कन्सुलेट जनरल) खोल्ने निर्णय गर्यो । कन्सुलेट जनरलको कार्यालय स्थापना गर्न सरकारले पहिलो ‘कन्सुल’का रुपमा कृष्णकुमार सुवेदी (कृशु क्षेत्री) लाई खटायो । त्यस यता कन्सुलेट जनरलको कार्यालयले थुप्रै काम गरिसकेको छ । त्यस्तै, यही बीच अमेरिकी आप्रवासी नीतिमा आएको परिवर्तन र त्यसले नेपाली आप्रवासीमा पारिरहेको प्रभाव पनि अहिले चर्चामा छ । ती लगायतका विषयमा नयाँपेजका अमेरिका सम्पादक लोकमणी राईले साहित्यकारसमेत रहेका कन्सुल सुवेदीसँग गरेको संवादको सम्पादित अंशः

१) तपाई न्यूयोर्कमा पहिलो कन्सुलका रुपमा आउनुभयो । कन्सुलेट जनरल स्थापना भएपछिका उल्लेख्य काम के भए ?
कन्सुलेट जनरलको कार्यालय स्थापना हुनु अघि अमेरिकामा कन्सुलेट स्वतन्त्र निकायको रुपमा थिएन । संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा सरकारले एकजना कर्मचारी कन्सुलको रुपमा खटाउँथ्यो, तिनै कर्मचारीले कन्सुलर सम्बन्धी काम हेर्थे । तर, अमेरिकी सरकारले राष्ट्रसंघ अन्र्तर्गतको स्थायी नियोगले कन्सुलको काम नगर्ने, त्यसका लागि अलग्गै निकाय बनाउनु पर्ने भन्यो । त्यसपछि नेपाल सकारले कन्सुलेट जनरलको कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

राष्ट्रसंघ अन्तर्गतको कन्सुललाई ट्रायलका रुपमा नेपाली समुदायको संख्या अधिक रहेको न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकटलाई हेर्ने जिम्मेवारी थियो । यी ३ वटा ट्रायल स्टेटलाई नै पहिला हेर्नेगरी सरकारले कन्सुलेट जनरलको कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।  पहिलो कन्सुलका रुपमा म आउँदा यहाँ केही गम्भीर प्रकारका समस्याहरु थिए, जसलाई हामीले हेर्यौं । खासगरी, यहाँ बसिरहेका नेपालीहरुको हस्तलिखित पासपोर्टलाई प्रतिस्थापन गरी एमआरपीमा बदल्नुपर्ने समस्या सबैभन्दा गम्भीर थियो ।

त्यसका लागि दैनिक सयौं नेपालीहरु कार्यालयमा आउँथे । हामीले रातदिन नभनी हस्तलिखित पासपोर्ट नवीकरण गरी एमआरपीमा परिवर्तन गर्यौं । यो २ वर्षको अवधिमा हामीले ७० देखि ८० प्रतिशत हस्तलिखित पासपोर्ट प्रतिस्थापन गरिसकेका छौं । हाम्रो कार्य क्षेत्रभित्र करिब १ लाख नेपाली हुनुहुन्छ । अहिले पासपोर्ट समस्याका रुपमा छैन । त्यसबाहेक, कन्सुलर सम्बन्धी अन्य काम जस्तो, सिफारिस, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, वारेशनामा, नेपाल सरकाले दिनुपर्ने कानूनी राय लगायतका विषयमा हामीले निरन्तर सेवा प्रदान गरिरहेका छौं । अहिले यहाँ अवैधानिक आप्रवासीबाहेक समस्याकै रुपमा कुनै पनि विषय छैन भन्न सकिन्छ । तपाईँले यहाँ रहेका नेपालीहरुसँग पनि हामीले दिने सेवाका विषयमा सोध्न सक्नुहुन्छ ।

२) यस विषयमा फेरी आउँला, कन्सुलेट जनरलको कार्यालय स्थापना हुनु अघि चाहिँ कस्ता समस्या थिए ?
कन्सुलेट जनरलको कार्यालय स्थापना हुनु अघि नेपालीलाई पासपोर्ट बनाउन ४ महिना लाग्थ्यो । अहिले ७ दिनमा पासपोर्ट दिन्छौं । पहिला नेपाल जाने विदेशी पर्यटकले भीसा पाउन ३ दिन कुर्नु पथ्र्यो । अहिले हामी १ दिनमै भीसा प्रदान गर्छौं । खुशीको कुरा के हो भने कन्सुलेट जनरल स्थापना हुनु अघि विदेशी पर्यटकलाई जति भीसा प्रदान गरिन्थ्यो, त्यसमा करिब ४ सय गुणा वृद्धि भएको छ । भीसावापत राजश्व पनि त्यहि हिसावले उठेको छ ।

पहिला भीसावापत वार्षिक ४/५ हजार डलर राजश्व उठ्ने गरेको थियो । अहिले महिनामै १० औं हजार डलर राजश्व उठ्छ । हामीले दिने सेवाकै कारण विदेशीहरुले यहाँ आएर भीसा लिने सहज वातावरण बनेको छ । कन्सुलेट जनरलको कार्यालय स्थापना हुनु अघि नेपाली समुदाय र सरकारी निकायका बीच राम्रो सम्बन्ध भएजस्तो महशुश भएन । सरकारी कर्मचारी काम गर्दैनन् । अल्छि छन् । ढिलो छन् । सरकारी कर्मचारीहरु यस्तै हुन् भन्ने धारणा देखिन्थ्यो । हामीले कन्सुलेट स्थापना गरेपछि त्यो धारणा हटाएका छौं ।

३) जनतामा सरकारी कर्मचारीप्रति हुने आम धारणा हटायौं त भन्नुभयो, तर त्यस्तो विशेष काम त केही गरेजस्तो देखिँदैन नी ।
-हामीले यहाँ अमेरिकामा पनि जनताको घर दैलोमा गएर सेवा प्रदान गरेका छौं । आपतकालीन अबस्थामा तुरुन्त सेवा दिएका छौं ।

४) जस्तो ?
-जस्तो, हामीले कुनै एउटा स्थान जहाँ ३०/४० नेपालीको पासपोर्ट बनाउनु छ, उहाँहरुलाई सिफारिस चाहिएको छ वा कुनै कागजात प्रमाणीकरण गर्नु छ, त्यहाँ गएर सेवा दिएका छौं, सरकारी खर्चमा । त्यस्तो सेवा उपलब्ध गराउनुपर्ने ठाउँमा हामी हाम्रो मोबाइल किट, कम्प्युटर, प्रिन्टर, छाप लगायतका आवश्यक सबै सामाग्री बोकेर जाने र सेवा दिने गरेका छौं । यो काम हामीले हाम्रो क्षेत्राधिकारभित्र लिइसकेका छौं । एउटा उदाहरण दिन्छु, केही नेपाली नागरिक हस्तलिखित राहदानी लिएर एअरपोर्टमा जानुभयो । टिकट पनि छ, ग्रीन कार्ड पनि छ, तर अमेरिकी सरकारले उड्न दिएन । किनभने अहिले हस्तलिखित पासपोर्टले उड्न पाइँदैन । समस्या तुरुन्त रिपोर्ट भयो । हामी हाम्रो मोबाइल किट बोकेर तत्काल एअरपोर्ट पुग्यौं । उड्न रोकिएका नेपाली नागरिकलाई त्यहिँ टाभल डकुमेन्ट उपलब्ध गरायौं । उहाँहरुलाई नेपाल उडायौं र फर्कियौं । यो भनेको जनता जहाँ समस्यामा पर्छन् हामी त्यहाँ उपलब्ध भएको अबस्था हो ।

५) सामाजिक जीवनमा चाहिँ कन्सुलेट जनरलको उपस्थिति कस्तो छ ?
-यहाँ रहेका नेपाली नागरिकहरुले नेपाललाई असाध्यै माया गरेको मैले देखेँ । हाम्रा संस्कृति, चाडपर्व, विवाह, ब्रतवन्ध, पूजाआजा आदिमा उहाँहरु भेला हुनुहुन्छ । त्यस्ता कार्यक्रममा नेपाल सरकारको प्रतिनीधि आइदियोस भन्ने उहाँहरुको अभिलाषा हुन्छ । त्यस्तै, यहाँ नेपालीहरुले भाषा, साहित्य, कला, संस्कृतिसम्बन्धी कार्यक्रम पनि बाक्लै आयोजना गर्नुहुन्छ । त्यस्ता कार्यक्रममा नेपाल सरकारको प्रतिनीधि आइदियोस भन्ने उहाँहरुको चाहना देखिन्छ । त्यसमाथि बढी सामाजिक हुने मेरो एउटा स्भाव पनि पनि छँदै छ ।

दोस्रो, म आफैँ भाषा साहित्यको एउटा पारखी र सामान्य लेखक पनि भएकाले उहाँहरुबीच गइदिन्छु । उहाँहरु सँगसँगै बसेँ बस्छु । अहिले साँच्चै भन्ने हो भने कन्सुलेट र नेपाली समुदाय नङ र मासुजस्तै जोडिएको छ । हरेक ढंगले, हरेक सन्दर्भमा, हरेक प्रसङगमा हामी चाहीँ नेपाली समुदाय सँगसँगै रहेका छौं । मलाई लाग्छ नेपाली समुदायले हामीलाई पनि सकारात्मक रुपमा लिनु भएको छ । हामी हाम्रो कामप्रति सन्तुष्ट पनि छौं । हामी जहाँ जान्छौं, नेपाली समुदायले कन्सुलेटले साह्रै राम्रो काम गरेको भन्नुहुन्छ । यो साँच्चै २ वर्षको एउटा ठूलो उपलब्धी हो भन्ने मलाई लाग्छ ।

६) नेपाली समुदाय विद्यार्थीका रुपमा र अन्य हिसावले यहाँ आउने र यहिँ बस्ने खोज्ने गरेको देखिन्छ । उनीहरु कन्सुलेट जनरलको कार्यालयमा कस्ता कस्ता समस्या लिएर यहाँ आउने गरेका छन् ?

-अहिले यहाँ नेपाली आप्रवासीको समस्या गम्भीर रुपमा देखिएको छ । अहिले विद्यार्थीका रुपमा आउने र अन्य पेशा गरी आप्रवासी हुन खोज्ने तथा स्थलमार्गबाट अवैधानिक रुपमा अमेरिका प्रवेश गरी आप्रवासन गर्न चहानेको नेपालीहरुको संख्या ठूलो छ । यहाँ न्यूयोर्कमा धेरै कानून व्यवसायीहरु हुनुहुन्छ । अमेरिकामा अवैधानिक रुपमा छिरेकाहरु न्यूयोर्कका कानून ब्यबसायीहरुको सम्पर्कमा आउनुहुन्छ ।

स्थलमार्गबाट अवैधानिक रुपमा आउने नेपालीको पासपोर्ट लगायतका परिचय खुल्ने कुनै कागजात हुँदैन । उहाँहरु परिचय खुल्ने कागजात बाटैमा फालेर अमेरिका प्रवशे गर्नुहुन्छ । विद्यार्थीका रुपमा आउनु भएकाहरु चाहिँ पढ्दा पढ्दै अन्य पेशामा लाग्नुहुन्छ । अमेरिका आप्रवासन गर्न चहाने दुवैथरी नेपालीहरु त्यसपछि हाम्रो सम्पर्कमा आउनुहुन्छ । किनभने उहाँरुलाई सिफारिस, प्रमाणिकरण र राहदानी लगायतका कागजात चाहिन्छ, आप्रवासीका रुपमा आवेदन दिन । स्थलमार्गबाट आउनु भएकाहरुको हकमा नेपाल सरकारसँग सोधेर, नेपाली नागरिक भएको आधार पुर्याएर हामीले राहदानी लगायतका कागजात दिने गरेका छौं । त्यसका लागि उहाँहरुले नागरिकता पेश गर्नुपर्छ ।

त्यसपछि हामी नेपाल सरकार परराष्ट मन्त्रालयलाई सोध्छौं र राहदानी दिन्छौं ।  विद्यार्थीका रुपमा आउनु भएकाहरुले अन्य पेशामा लागेपछि हामीसँग प्रमाणपत्र प्रमाणिकरण गर्न र सिफारिसका लागि हामीसँग सम्पर्क गर्नुहुन्छ । उहाँहरुको भीसा पनि सकिएको हुन्छ । हामी आवश्यकता र औचित्यता हेरेर उहाँहरुले मागेको कागजात उपलब्ध गराउँछौं । त्यसबाहेक सम्बन्ध विच्छेद यहाँ अत्यन्त बढेको छ । हामी सम्बन्ध विच्छेद र विवाह दर्ताका कागजातहरु पनि प्रमाणिकरण गर्छौं । यहाँ जन्मेका नेपाली बालबच्चाका जन्म दर्ता सम्बन्धी कामहरु पनि गर्छौं । कन्सुलेट जनरलको कार्यालयबाट मृत्यु दर्तासम्बन्धी काम पनि हुन्छ । यस हिसावले कन्सुलेटको काम चाहिँ वम्व टु टम्ब अर्थात् गर्भदेखि चिहान सम्मको छ ।

७) स्थापनाको २ वर्षमा सम्बन्ध विच्छेदका कति मुद्दाहरु आए ? यी मुद्दाहरुको प्रकृति कस्तो छ ?
-सम्बन्ध विच्छेदको दर उच्च छ । २ वर्षको अवधिमा सम्बन्ध विच्छेद ३ दर्जनभन्दा बढी मुद्धा आए । अधिकांश सम्बन्ध विच्छेदका मुद्धामा श्रीमान वा श्रीमतीमध्ये एकजना यहाँ र अर्को नेपाल वा अन्य मुलुक हुने देखिएको छ । दुवै जना अमेरिका भएकाहरु पनि सम्बन्ध विच्छेदका लागि आउने गरेका छन् । नेपाल सरकारले सम्बन्ध विच्छेदको कागजात उपलब्ध नगराएसम्म अर्को विवाह नहुने भएकाले सम्बन्ध विच्छेदका लागि नेपाली नागरिकहरु यहाँ आउँछन् ।

८) कतिपयले अर्को विवाह गरी चाहिँ ग्रीन कार्ड वा स्थायी बसोबासको अनुमति पाउन सम्बन्ध विच्छेद गर्ने र त्यसलाई कन्सुलेट जनरलको कार्यालयबाट प्रमाणिकरण गर्ने गरेको भन्ने सुनिन्छ । यहाँलाई त्यसको जानकारी छ कि छैन ?
-अनौपचारिक रुपमा सुनेको हो । कन्सुलेट जनरलको कार्यालयमा त्यसबारे औपचारिक जानकारी छैन । तर, अमेरिका मोहले सामाजिक सम्बन्धमा अझ पारिवारिक सम्बन्धमा निकै ठूलो उतार चढाव ल्याएको भने देखियो ।

९) वर्षको अवधिमा स्थलमार्गबाट अमेरिका छिर्ने कति सम्पर्कमा आए ?
-यो ज्यादै संवेदनशील विषय हो । अमेरिकाले अवैधानिक आप्रवासीप्रति कडाइ गरेपनि मलाई स्थलमार्गबाट आउने नेपालीको संख्या घटेको अनुभुति भएको छैन । अहिले यत्ति भन्न सक्छु ।

१०) स्थलमार्गबाट आउने नेपालीका बारेमा तपाईँसँग अन्य जानकारी के के छन् ?
-स्थलमार्गबाट आउने लगभग सबै नेपाली हाम्रो सम्पर्कमा आउनुहुन्छ । उहाँहरु दलालमार्फत नेपालबाट क्यारेबियन मुलुक, साउथ अमेरिका, मेक्सिकोको खाडि हुँदै २/३ महिनामा अमेरिका छिर्छन् । कतै हिँड्दै, कहिँ गाडि चढ्दै, कहिँ डुंगा चढ्दै आइपुग्छन् । ४० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म खर्च गर्छन् । यहाँ आएर सबैभन्दा पहिला आत्मसमर्पण गर्छन् । आइस (इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट) ले हिरासतमा राख्छ, अन्तर्वार्ता लिन्छ असाइलम (राजनीतिक संरक्षण) का लागि योग्य हो की होइन भनेर निक्र्यौल गर्छ । अन्तर्वार्ता लिने अधिकारी सन्तुष्ट भयो भने केही रकम धरौटी स्वरुप बोन्ड लिन्छ । रकम बुझाएपछि उनीहरु २ प्रकार छुट्छन् । आइसले कसैलाई खुट्टामा जीपीएस लगाएर छोडिदिन्छ भने कसैर्ला जीपीएस नलगाई छोडिदिन्छ । कहाँ पुगे भन्ने थाह दिने उपकरण जीपीएस लगाएर छोडिएकाहरु यहाँ रुँदै आएका पनि छन् । छाडिएपछि उनीहरु कानून ब्यबसायीसँग सम्पर्क राख्छन् र राजनीतिक संरक्षण चाहियो भन्दै मुद्धा हाल्छन् ।

स्थलमार्गबाट आउन ज्यादै दुःख छ । बाटोमा मरिने, मारिने, लुटिने, लुटाइने सबै प्रकारका समस्या छन् । कति त अंग भंगकै रुपमा आएको पनि भेटियो हात खुट्टा भाँचिएर । महिलाको चरित्र हत्यासम्म गर्न खोजिएको घटना पनि भेटियो । दलालमार्फत आउनेले सामान्यतयाः ४०/४५ लाख तिर्दारहेछन् । मैले ७५ लाखसम्म तिरेको भेटेँ । नेपाल सरकारले पहल गरेर यसरि अमेरिका आउन रोक लगाउनुपर्ने अबस्था छ । अमेरिकामा नयाँ राष्ट्रपति आएपछि सीमा नियन्त्रण गर्ने विषयले चर्चा पाएपनि स्थलमार्गबाट यहाँ आएर हामीलाई सम्पर्क गर्नेको संख्यामा कमि देखिन्न । यसरि मानव तस्करि भइरहेको अबस्था रोक्न नेपाल सरकारले पहल गर्नुपर्छ ।

११) नेपाललाई अमेरिकाले विभिन्न बस्तुहरुमा भन्सार छुट दिनुपर्छ भन्ने विषय लामो समयदेखि उठिरहेको अबस्था छ । कन्सुलेटले दुईपक्षीय ब्यापार र पर्यटन विकास लगायतका क्षेत्रमा के गरिरहेको छ ?
-राष्ट्रिय स्तरको निर्णय र दुई देशबीचको सम्बन्ध जस्ता विषयमा चाहिँ कन्सुलेटले काम गर्दैन । त्यो दूतावासको अधिकार क्षेत्र हो । तर, व्यापार, वाणिज्य र पर्यटनका सम्बन्धमा चाहिँ कन्सुलेटले काम गर्छ । त्यो कन्सुलेटको उदेश्य पनि हो । पर्यटनको क्षेत्रमा हामीले विदेशी नागरिकहरुलाई एकै दिनमा भीसा जारी गरेर सुविधा दिइरहेका छौं । त्यसबाट पर्यटन क्षेत्रमा राम्रो भइरहेको पनि देखिन्छ । भुइचालो गएपछि नेपालमा अमेकिी पर्यटकहरु जान छाडेको अबस्था थियो । हामीले यहाँको पाटा (प्यासिफिक एशिया ट्राभल एशोसियसन) अमेरिका न्यू योर्क च्याप्टरसँग मिलेर भुकम्पको प्रति धक्का सामान्य हो, नेपाल सुरक्षित छ भन्ने बुझाउन “रिबिल्डिङ” नेपाल भन्ने कार्यक्रम गर्यौं । त्यसमा पर्यटन क्षेत्रका धेरै मानिसहरु आउनु भएको थियो । उहाँहरुले हाम्रा कुराहरु सकारात्मक रुपमा लिनुभयो । त्यसले सकारात्मक असर पनि पार्यो । न्यू योर्क डाइभर्स सिटी स्टेट हो जहाँ संसारभरीका नागरिकहरु बस्नुहुन्छ । संसारभरीका नागरिक बस्ने एउटै मात्रै ठाउँ भनेको न्यू योर्क हो । यहाँ हामीले पर्यटनका लागि प्रचार गरिरहेका छौं ।

भर्खरै सरकारले कन्सुल जनरल नियुक्त गरेको छ । उहाँ अर्थ मन्त्रालयको वरिष्ठ सह सचिव हुनुहुन्छ । उहाँ आफैँ व्यापार र लगानीको क्षेत्रमा काम गरेको मान्छे हो । त्यहि भएर त्यस क्षेत्रमा कामको पहल भइरहेको छ । नेपालमा कसरि बढीभन्दा बढी लगानी लैजाने र ब्यापार बढाउने भनेर भनेर यहाँको च्याम्बर अफ कमर्स न्यू योर्कसँग मिलेर काम गरेका छौं । त्यस्ता २ वटा कार्यक्रम भइसकेको छ । थप कार्यक्रम गर्ने सोच छ । यहाँ रहेका नेपाली ब्यबसायीहरुलाई नेपाल च्याम्बर अफ कमर्स न्यू योर्क स्थापना गर्न लगाउने र उहाँहरुलाई परेका समस्या, सजिला अप्ठ्यारा विषयहरु उठाउने सन्दर्भमा प्रयास गरिरहेका छौं । कन्सुलेटको आधाभन्दा बढी समय राहदानी र कन्सुलरसम्बन्धी काममा लागेको अबस्था भएपनि हामी त्यसबाट बाहिर निस्केर काम गरिरहेका छौं ।

१२) प्रसंग बदलौं, तपाईँ एउटा साहत्यिकार पनि हो । साहित्यिक क्षेत्रमा हालसम्म कति काम गर्नुभयो ?
-अर्धमुदित आँखाहरु, आगोको मुर्छना, वोधिसत्वको मृत्युउत्सव र रगतको दरबार गरी हालसम्म चारवटा कविता संग्रह निस्क्यो । दुई दर्जन जति साहित्यिक संकलन सम्पादन गरेँ । करिब १० वटा गीत रेकर्ड भएका छन् । ‘सयौं जूनी’ कुमार सानु, ‘मैनबत्ती जलेजस्तो’ प्रेमध्वज प्रधान, ‘अचेल पाइलै पिच्छे’ रामकृष्ण ढकालले गाउनु भएको छ । अरु केही गीत रेकर्ड भइरहेको छ । सकिएपछि एल्बम निकाल्ने योजनामा छु । अहिले चाहिँ केही लेख्न सकेको छैन । शुद्ध सरकारी जागिरे भएको छु ।

१३) तपाईँलाई कस्तो खाले कविता लेख्ने कवि भनेर चिन्ने ?
-सामान्यतया मेरा कविता रोमान्टिक छैनन् । गीतमा चाहिँ रोमान्टिसिज्म छ । कविता भने समसामयिक विषयमै बढी लेख्ने गरेको छु । मान्छेले जीवनमा भोगेका उतारचढाव, आरोहअवरो नै मेरा कविताका मुख्य विषय हुन् । राष्ट्रले भोगेका समस्याहरु, राजनीतिक र सामाजिक विषयमा कविता लेख्छु । केही कवितामा प्रकृति चित्रण पनि छ ।

१४) कहिलेदेखि कविता लेख्न सुरु गर्नुभयो ?
-मेरो पहिलो कविता १० वर्षको उमेरमा छापिएको हो बाल कविताको रुपमा गोरखापत्रमा २०४२ सालतिर । तर, २०४३ तिर मेरो झापामा मेची दर्पण भन्ने पत्रिकामा मेरो एउटा गजल प्रकाशित भएको थियो । २०४४ सालमा रुपरेखामा मेरो मुक्तकजस्तो छोटो कविता प्रकाशित भएको थियो । त्यसयता साहित्यमा निरन्तर रहेँ । अहिले चाहिँ लेख्ने क्रम टुटेको छ ।

१५) तपाईँमा कुन कुन साहित्यकारको प्रभाव बढी रह्यो ?
-हामीभन्दा अग्रज साहित्यकारहरु प्राय सबै पढियो । साहित्यमा अग्रजहरुको प्रभाव हुन्छ नै । मलाई लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, वालकृष्ण सम, बिपी कोइराला, माधवप्रसाद घिमिरे, भूपी शेरचन, पारिजातका रचनाहरुले छोयो । मैले (विलियम) वर्ड्स्वथ, (जोन) किट्स, (विलियम) सेक्शपियर ओ हेनरीलगायत विदेशी साहित्यकारहरुको प्रायः सबै रचना पढेको छु । तर, हामीले नेपालमा रहेर नजिकबाट पढ्ने रचना चाहिँ दुई प्रकारका हुन् । एउटा, हाम्रो धेरै कुरा, भाषा, संस्कृति मिल्ने भएकाले पनि होला, भारतीय साहित्यलाई हामीले नजिकबाट पढ्यौं । रविन्द्रनाथ ठाकुर, प्रेमचन्द, मुन्सी, शरदचन्द्र चटोत्पाध्यायदेखि अहिले केदारनाथसिंह सम्म पढियो ।

अर्को, दार्जिलिङको साहित्यले हामीलाई निकै ठूलो प्रेसर दियो । हामी नेपालमा छन्दका रचनाहरु लेख्थ्यौं, दार्जिलिङ त्योभन्दा अगाडि सर्यो । उसले प्रयोग गर्न थाल्यो । दार्जिलिङमै इन्द्रबहादुर राई, इश्वर वल्लभ र वैरागी काइँलाले तेस्रो आयाम सुरु गरे । यता नेपालमा मोहन कोइरालाहरुले प्रयोगवाद सुरु गरिदिनुभयो । हामीले त्यो दुईवटै अध्ययन गर्नुपर्ने भयो । विनिर्माणवाद, उत्तरआधुनिकवाद आए । यी बीच रहँदा र अध्ययन गर्दा रचनाहरु सुधार गर्ने, परिस्कृत गर्ने गरेको छु । मैले मौका पायो कि पढ्ने पहिलो नम्बरको कृति चाहिँ साहित्यकि नै हो । पहिले त हिन्दीबाटै साहित्य हेरेको हो । अंग्रेजी साहित्य, पाश्चत्य साहित्य त पढ्न र हेर्न थालेको त पछिमात्र हो ।

१६) साहित्यमा कसरि आउनु भयो ?
मेरो पारिवारिक वातावरण नै साहित्यिक हो । दुबसु दाजु मैले थाह पाउँदै चर्चित साहित्यकार भइसक्नु भएको थियो । कविता महोत्सवमा उहाँले पहिलो भएर राजाबाट पुरस्कार पाउँदा झापामा वाह वाह भएको थियो । मान्छेले नाम लिन्थे । पत्रपत्रिका र टिभीमा दाजु देखिनुहुन्थ्यो । ममा पनि त्यस्तो हुने एउटा भित्री लोभ थियो । मैले पनि कविता लेख्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । साहित्य दाजुको त्यो कदमलाई पछ्याउने जमर्को पनि हो । मेरो आमा आफैँ छन्दमा कविता लेख्नुुहुन्थ्यो र वाचन गर्नुुहुन्थ्यो । उहाँको वाचन शैली एकदम मिठो थियो । त्यसले सानो बाल मस्तिष्कमा पारेको प्रभाव पनि हुन सक्छ, म कवितातिर लागेँ ।  तर, पछि कवितै लेखेर यसो गरुँला, उसो गरुँला, पेट पालुँला, वा ठूलो मान्छे बनुला भन्ने चाहिँ लाग्न छाड्यो । कविता लेखेर भोग्नथालेपछि एकदम ठूलो नाम चलाइएला भन्ने कुरा पनि केही होइन भन्ने लाग्न थाल्यो ।

नेपाली समाजले साहित्यकारलाई नपत्याएको र नबुझेको अबस्थामा मैले कविता लेखेर समाजलाई योगदान भइरहेको छ भन्ने पनि लाग्न छाड्यो । तर, लेख्ने यात्रा भने निरन्तर भइदियो । लेख्ने नशाजस्तो भइदियो । छोड्न सकिएन । नलेखौं, घटना त्यस्ता हुने जसलाई लेख्नै मनपर्ने । लेखेपछि आत्मसन्तुष्टि हुने । जीवनमा धेरै कुराहरुले छुन्छन् । राम्रा कुराहरुले त छुन्छन् नै, समाजका विकृति विसंगतिले पनि छुन्छन् । त्यसले दिने पीडा, चोट कहाँ पोख्ने त ? एउटा ठाउँ चाहियो । त्यो साहित्य हो । भताभुंग हुने गरी लेखिदियो । मनको भरास भन्छन् नी, पोख्यो । मनभित्रका गुम्फनहरु, कुण्ठा, पीडा, असन्तुष्टिहरु त निकाल्यो । साहित्यले त्यो एउटा बाटो पनि दियो । आत्मसन्तुष्टि पनि पोख्न पाइयो । प्रेम र अरु जति पनि राम्रा कुरा हुन्छन्, त्यसलाई पनि पोख्न पाइयो । समाज राम्रो बाटोमा हिड्दैछ भने त्यसलाई अभिव्यक्त गर्न पाइयो । साहित्यले आत्मरतिमा रमाउन पनि दियो, कुनै अर्को नशातर्फ नलगी यही नशा बनेर डोरिने बाटो पनि दियो । त्यहि भएर साहित्य छोड्न पनि सकिएन ।

१७) कतिपय ठूला ठूला आन्दोलन साहित्यबाट, उपन्यासबाट प्रेरित भएका छन् । साहित्यले ठूला ठूला सैद्धान्तिक वहश सिर्जना गरेका छन् । तपाईँको कविताबाट समाजलाई कुनै योगदान पुगेको छ ?
यसमा म २/३ वटा घटना स्मरण गर्न चहान्छु । म बीपी कोइराला नेपाल भारत फाउण्डेशनको साहित्यिक कार्यक्रममा प्रतिनीधि भएर धनगढी गएको थिएँ । त्यहाँ तत्कालीन जनयुद्धमा एकजना महिला मारिइन् । उकुशमुकुश भयो । त्यहि रात “नानीहरु खुकुरी चलाएको मन पराउँदैनन्” भन्ने कविता लेखेँ । सुनाएँ । ठूलो प्रतिक्रिया प्राप्त भयो ।  पछि चितवनमा ८ वर्षकी बालिका काजोल खातुनलाई वसभित्र जलाएर मारियो, जनुयुद्धकै बेला । बढो अस्पट भयो । “काजोल खातुन” भन्ने कविता लेखेँ । हत्याको दोस्रो कान्तिपुरमा प्रकाशित भयो । त्यसपछि मलाई कविता लेखेवापत माफी माग्न भनियो । माफी नमागे मारिदिने धम्की दिइयो ।

अर्को घटना शाही शासन लागु भएपछिको हो । त्यतिबेला तत्कालीन शासक जिल्ला जिल्लामा अभिनन्दनमा जाने लहर चलेको थियो । मलाई असह्य भयो । हिंसा प्रतिहिंसाको चपेटामा परेर मानिस मरिरहेका छन् । युवाहरु असुरक्षित महशुश गर्दै विदेश पलायन भइरहेका छन् । शासकहरु चाहिँ अभिनन्दनको लोभले हिडिँरहेका छन् । त्यहि कुरा मैले “निरो र अभिनन्दन” भन्ने कवितामा लेखेँ । त्यो कविता कान्तिपुर र राजधानी दैनिकमा प्रकाशित भयो । त्यतिबेलाको एकदम शक्तिशाली आयोग शाही आयोगले मलाई कारवाही गर्न चिठी लेख्यो । तत्कालीन शासकबाट स्पष्टिकरण सोधियो, सरकारी अफिसर भएर राजाको विरुद्धमा कविता लेख्ने भनेर । हुन पनि निरो भनेको राजा । अनि निरो चाहिँ बाँसुरी बजाइरहेको छ । राजा अभिनन्दनमा हिडिँरहेको छ । निरो एक दिन त्यहि घर जलेर मरे पनि थाह पाउँदैन भन्ने भावमा कविता लेखेँ । अनि के थियो ? स्पष्टिकरण आइहाल्यो । त्यस्ता दिन पनि भोगियो ।

१८) भनेपनि तपाईको कवितामा तलका मान्छेको कुरा पनि आउँछ जसले माथि बसेकालाई प्रहार गर्छ?
हो । मैले जीवनमा देखे भोगेका कुराहरुले नै मलाई छुने हो । जीवनमा संगति छ, विसंगति छ । आरोह छ, अवरोह छ । असल पक्ष छ नराम्रो पक्ष छ । त्यसले छोएपछि लेखिँदो रहेछ र कहिले काहीँ छ सहासपूर्वक पनि लेखिँदो रहेछ । कर्मचारी भएर तत्कालीन शासक विरुद्ध लेख्ने साहस गरियो । स्पष्टिकरण लेख्दै गर्दा अनुपराज शर्माले शाही आयोग खारेज गरिदिए । मलाई लाग्छ समाज परिवर्तनमा केही योगदान दिने यस्तै यस्तै कविता हुन् ।

त्यसो त दोस्रो जनआन्दोलनका बेला कविता सुनाउँदै पनि हिँडियो । “म बुढो किर्तिपुर नाक मागिरहेछु” भन्ने कविता किर्तिपुरमा आन्दोलनका बेला वाचन गरियो । त्यो मेरो एउटा चर्चित कविता थियो, खासगरी जनजातिले समेत मनपराएको । समानुपातिक समावेशीको माग भइरहेका बेला त्यो कविता जनजातिको हरेक जसो पत्रपत्रिकामा छापियो । त्यो कविता यति धेरै चर्चित भयो की मान्छेहरुले मलाई पृथ्वीनारायण शाहविरुद्ध लेखिस् पनि भने । जबकी, कविता तत्कालीन शासकको विरुद्ध लेखिएको थियो । राष्ट निर्माता पृथ्वीनारायण शाहविरुद्ध थिएन । मेरा कविताहरुले तत्कालीन सामाजिक परिवेशलाई देखाएको छ । कतिपय कविताले विद्रोह ज्वाला पनि ओकलेको छ । कुनै शान्तिको प्रस्ताव पनि ल्याएको छ ।

अर्को एउटा प्रसंग, “आगोको मुर्छना” कविता संग्रह निकालेँ । कान्तिपुरले टेलिभजनले आगोको मुर्छना नेपालमा अहिले भइरहेको प्रत्यक्ष शाही शासनको विरुद्धमा लेखिएको सबैभन्दा सशक्त कृति हो भनेर समाचार बनायो । त्यो कितावलाई प्रतिवन्ध लगाउनुपर्छ, बजारमा जान दिन हुँदैन भनेर लागिपरे सरकारी साहित्यकारहरु ।

प्रतिक्रिया दिनुहोस्