‘वामपन्थीहरुको लालकिल्ला भोजपुरमा अरुको जित कल्पना बाहिरको बिषय हाे’


२० कार्तिक २०७४, सोमबार

निर्वाचन संवाद

नेकपा (एमाले) भोजपुरका सचिव शरणकुमार राई भोजपुरको राजनीतिमा गहिरो प्रभाव राख्ने युवा नेता हुन् । सक्रिय र जुझारु स्वभावका युवा नेता राई युवा-विद्यार्थी र जनस्तरमा लोकप्रिय छन् । युवा नेता राई वाम गठबन्धनका उम्मेदवारलाई जिताउन चुनावी मैदानमा क्रियाशिल छन् । सधैं एमालेको लालकिल्लाको रुपमा स्थापित भोजपुरमा यसपालीको अंकगणित कस्तो छ ? वाम गठबन्धनको असर भोजपुरमा कस्तो छ ? सचिव राईसँग नयाँपेजले गरेको कुराकानीको सम्पादित अंश :-

Sharan Rai UML

भर्खरै गाउँमा आन्तरिक प्रशिक्षण र बैठक सकेर सदरमुकाम फर्किनुभएको छ, कस्तो पाउनुभयो वामगठबन्धनको अवस्था ?
-नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीच संयुक्त निर्वाचन संयोजन समिति बनेपछि हामी सबै स्थानीय तहमा आन्तरिक भेला र प्रशिक्षणहरुमा जुटीरहेका छौं । तलसम्म पुगेर जनतासँग अन्तरक्रिया र संवाद गरिरहेका छौं । सबै जनताहरु उत्साहित हुनुहुन्छ । भोजपुर यसअघि पनि एमालेको लालकिल्लाको रुपमा स्थापित जिल्ला हो । झनैं नेकपा (माओवादी केन्द्र)सँग तालमेल भएपछि बलियो भएका छौं । एमाले एक्लै जित्ने भनिरहेको थियौं । माओवादी केन्द्रसँग पनि गठबन्धन भएपछि त हामी निकै फराकिलो अन्तरले अघि भएका छौं । जनताहरु उत्साही छन् । हाम्रा नेता तथा कार्यकर्ताहरु खुसी नै हुनुहुन्छ । एकहिसाबले नयाँ उत्साह र आशाको सञ्चार भएको छ ।

एमालेले एक्लै जित्छौं भनिरहेको अवस्थामा प्रतिनिधिसभा माओवादी केन्द्रलाई दिनुपर्ने अवस्था आयो । कार्यकर्ताहरुमा निराशा छ भनिन्छ नी ?
– सुरुमा कार्यकर्ताहरुमा केही त्यस्तो देखियाे भनेर हल्ला चलाइयाे । तर, जब हामीले अभियान चलायौं, त्यो पूर्ण रुपमा हटेको छ । हो, एमालेले एक्लै जित्ने भनिरहेका थियौं । तर, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच तालमेल भएपछि भोजपुरको प्रतिनिधिसभा माओवादीको भागमा परेको छ । नेकपा माओवादी केन्द्रका जुझारु युवा नेता उम्मेदवार बन्नुभएको छ । हामीले जनताको बीचमा तालमेल र एकताको आबश्यकता बारे बताएपछि कार्यकर्ताहरुमा निराशा होइन उत्साह थपिएको छ । हाम्रो र हाम्रो सन्ततीको सुन्दर भबिष्यको निम्ती, मुलुकको आमुल परिवर्तनको लागि यो गठबन्धनलाई जिताउनै पर्छ भन्ने चेतना र जागरण जनतामा पैदा भएको छ । यो हाम्रो लागि निकै खुसी र उत्साहको बिषय हो ।

हो, एमालेका कतिपय हाम्रा योग्य नेताहरु हुनुहुन्छ । एमालेका धेरै कार्यकर्ताहरु हामी त्यसका लागि तयार थियौं । तर, हाम्रो नेतृत्वले जुन सपना र उद्देश्यको साथ यो तालमेल र गठबन्धन गर्नुभएको छ । यो हाम्रो लागि निकै महत्वपूर्ण छ । त्यस कारण हामीले आफ्नो व्यक्तिगत सपना, उद्देश्य अथवा दाबीलाई एकातीर थन्काएर हामी तयार भएका छौं । भोलीको हाम्रो सुन्दर उज्यालोको लागि आज हामीले योगदान गर्नपर्छ भन्ने बुझाईका साथ हामी सबै जुटिरहेका छौं ।

जनताले यसअघि पनि एमालेका उम्मेदवारलाई पटक-पटक भोजपुरमा विजयी गरायो, नेताहरू संसद भए । मन्त्री भए तर जिल्लाको लागि केही गरेनन् भन्ने आलोचना छ नी ?
– हो, यसअघि जनताहरुले हाम्रो उम्मेदवारहरुलाई विजयी गराउनुभएकै हो । तर, हामीले यसअघि संबिधान निर्माणको प्रतिबद्धता र कसम खाएर मत मागेका थियौं । त्यो कार्यभार हाम्रो नेताहरुले पुरा गर्नुभएको छ । संबिधान निर्माणमा उहाँले खेल्नु भएको भूमिका गर्व गर्न लायक छ । त्यस बाहेक जनताका सरोकार र समृद्धिका कामहरु पनि भएका छन् । भोजपुरको क्षेत्र न. १ र क्षेत्र न.  २ दुबैमा बिकास र समृद्धिका काम पनि सुरु भएको छ । अब संबिधान निर्माणको कार्यभार पुरा भएको छ । यसअघिको बाँचा पुरा भएको छ । नेपालमा अधिकारको लडाई सकिएको छ । अब समृद्धिको अभियान सुरु भएको छ । यो ५ बर्षमा भोजपुरको अामुल परिर्वतन सम्भव छ ।

भनेपछि भोजपुरमा वामगठबन्धनले चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ ?
-ढुक्क भन्दा पनि जनताप्रति हामी विश्वस्त छौं । की आजसम्म राजनैतिक क्रान्तिमा साथ दिनुभएको जनताहरुले हामीलाई समृद्धिको महाअभियानमा साथ दिनुहुनेछ । हाम्रा अजेन्डा र विचारमा जनताहरुको साथ रहनेछ । मलाई लाग्छ, जनताले बुझेका छन्, आजसम्म मुलत यो मुलुक नेपाली कांग्रेसले चलायो । तर, हामी र हाम्रो अवस्था यस्तो छ । हामी कहाँ छौं ? अब समृद्धिका कम्युनिष्टहरुको जीत अनिवार्य छ । कम्युनिष्टहरुले नै प्रजातन्त्र र गणतन्त्रको झन्डा उठायो । क्रान्ति र आन्दोलन सफल बनायो । अब आर्थिक क्रान्ति पनि हाम्रै नेतृत्वमा हुनेछ ।

अर्कोतिर भोजपुरको लागि यो निर्वाचन निकै ऐतिहासिक छ । हाम्रा तिनैजना युवा हुनुहुन्छ । देशको राजनीतिमा गहिरो प्रभाव राख्ने र सम्भावना भएका नेताहरु हुनुहुन्छ । भोजपुर क्षेत्र न २ बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिनु भएका हाम्रो पार्टीको पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री क.शेरधन राई भोजपुरको नै गर्व हुनुहुन्छ । भोलीको सम्भावित मुख्यमन्त्री हुनुहुन्छ । भोजपुरले मुख्यमन्त्री पाउँदैछ । केवल संसद मात्रै होइन मुख्यमन्त्री विजयी गराउदैछौं । हाम्रो लागि गौरवको बिषय हो ।

भोजपुर क्षेत्र न.१ बाट प्रदेशसभा सदस्यका उम्मेदवार क. राजेन्द्र राई नेपाली राजनीतिको एउटा सम्मानित नाम हुनुहुन्छ । विद्यार्थी आन्दोलनको नायक हुनुहुन्छ । गणतान्त्रिक आन्दोलनका नायकलाई उम्मेदवारको रुपमा पाउनु हाम्रो गर्वको बिषय हो ।  इमान र निष्ठाको प्रतिकको रुपमा स्थापित नेता क.राजेन्द्र हामीले उम्मेदवारको रुपमा पाएका छौं ।

प्रतिनिधिसभा सदस्यमा लामो समयदेखी यो मुलुकको परिवर्तनको लागि लडेका नेता सुदन किराती हुनुहुन्छ । क. सुदन जुझारु नेता हुनुहुन्छ । जनताको बिचमा खटिरहेको सक्रिय नेता हुनुहुन्छ । यस्ता नेताहरु उम्मेदवारको रुपमा भोजपुरे जनताले पाउनु गर्वको बिषय होे । यी सबै कारणले पनि वामन्थी उम्मेदवारहरुको विजय सुनिश्चित जस्तै छ । हार हाम्रो कल्पनाभन्दा बाहिरको बिषय हो ।

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७