एमालेका बागीले उम्मेदवारी फिर्ता लिए, नलिने परे कारबाहीमा


२० कार्तिक २०७४, सोमबार
CPN UML office

काठमाडौं : एमालेका केही बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमको क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका असन्तुष्टहरूले आइतबार उम्मेदवारी फिर्ता लिएका हुन् । नेता नेपालको निर्वाचन क्षेत्र काठमाडौं २ का बागी उम्मेदवार एलपी श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् । एमाले काठमाडौं जिल्ला सदस्य रहेका श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि पार्टी निर्णयको पालना गर्दै वरिष्ठ नेता नेपाललाई जिताउन लाग्ने प्रतिबद्धता जनाएका छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

CPN UML office

त्यस्तै, उपाध्यक्ष गौतमको निर्वाचन क्षेत्र बर्दिया १ अन्तर्गत प्रदेश सभामा आधिकारिक उम्मेदवार कविराम थारूविरुद्ध उम्मेदवारी दिएका खड्गबहादुर खड्काले पनि फिर्ता लिएको गौतमका स्वकीय सचिव दीपक टमटाले जानकारी दिए ।

उदयपुर २ मा उम्मेदवारी दिएका पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडाले पनि उम्मेदवारी फिर्ता लिएका छन् । वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सुदन राई किराती आधिकारिक उम्मेदवार भएको दुवै पार्टीको शीर्ष नेतृत्वले स्पष्ट पारेको भन्दै उनले पार्टी निर्णय र निर्देशन पालना गर्दै फिर्ता लिएको जनाएका छन् । खतिवडाले अध्यक्ष केपी ओलीले हस्ताक्षर गरेको मनोनयनपत्रसहित उम्मेदवारी दर्ता गराएका थिए ।

त्यस्तै, पार्टीले प्रत्यक्ष र समानुपातिक दुवैमा टिकट नदिएकोप्रति असन्तुष्टि जनाउँदै दाङ ३ मा स्वतन्त्र उम्मेदवारी दिएकी कलाकार कोमल वलीले पनि आइतबारै उम्मेदवारी फिर्ता लिएकी छिन् ।

शनिबार केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले विज्ञप्ति जारी गरी बागी उम्मेदवारी तत्काल फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएका थिए ।

बागी उम्मेदवारलाई धमाधम कारबाही
एमालेले आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने नेता–कार्यकर्तालाई धमाधम कारबाही गरेको छ । पहिलो चरणको निर्वाचनअन्तर्गत दोलखाको प्रदेश सभा (ख) मा नेकपा मालेमा प्रवेश गरेर उम्मेदवारी दिएका लालकुमार केसीलाई आइतबार पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

पूर्व जिविस सभापतिसमेत रहेका केसीसहित जिल्ला कमिटीका सचिवालय सदस्य कुमार खड्कालाई एमालेले कारबाही गरेको हो । सो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईं उम्मेदवार छन् ।

त्यस्तै, रुपन्देही ५ अन्तर्गत प्रदेश सभामा उम्मेदवारी दिएका मीनप्रसाद घिमिरेलाई पनि एमालेले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

सल्यानमा वाम गठबन्धनविरुद्ध परेको बागी उम्मेदवारी फिर्ता भएन
सल्यानमा वाम गठबन्धनका आधिकारिक उम्मेदवार टेकबहादुर बस्नेतविरुद्ध माओवादी केन्द्रका दुई नेताले बागी उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य उमाकान्त शर्माले बस्नेतविरुद्ध बागी उम्मेदवारी दिए पनि फिर्ता लिएनन् ।

प्रदेश सभातर्फ ९क० मा पनि वाम गठबन्धनका आधिकारिक उम्मेदवार एमालेका गुलावजंग शाहविरुद्ध माओवादी केन्द्रका भीमप्रकाश शर्माले बागी उम्मेदवारी दिएका छन् । पोलिटब्युरो सदस्यसमेत रहेका शर्माले आफ्नो बागी उम्मेदवारी फिर्ता लिएनन् ।

यस्तै, प्रदेशतर्फ (ख) मा पनि वाम गठबन्धनका आधिकारिक उम्मेदवार प्रकाश ज्वालाविरुद्ध माओवादी केन्द्रकै जितबहादुर पुनले बागी उम्मेदवारी दिएका छन् ।

सल्यानका कुनै पनि बागी उम्मेदवारले फिर्ता नलिएको नेता बस्नेतले बताए । वाम गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिनेलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही हुने माओवादीले जनाएको छ ।

गजुरेलविरुद्धको बागी उम्मेदवारी फिर्ता
प्रदेश नम्बर २ मा प्रतिनिधि र प्रदेश सभामा माओवादीका कुनै नेताले पनि बागी उम्मेदवारी नदिएको माओवादी पोलिटब्युरो सदस्य सन्तोष विष्टले जानकारी दिए ।

‘वाम गठबन्धनविरुद्ध उम्मेदवारी दिए साधारण समस्यसमेत नरहने गरी कारबाही गर्ने चेतावनी दिएका थियौँ,’ विष्टले भने, ‘त्यसैले माओवादी पार्टीबाट कुनै नेता–कार्यकर्ताका बागी उम्मेदवारी परेन ।’

वाम गठबन्धनले सिन्धुली २ मा उठएका हरिबोल गजुरेलविरुद्ध बागी उम्मेदवारी परेको थियो । गजुरेललाई आफ्नै पार्टीका रामकुमार पौडेलको बागी उम्मेदवारी परेको थियो । पौडेलले आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७