उद्दारको नाममा ठग्ने हेलिकप्टर र अस्पताललाई संगठित अपराधमा कारबाही सिफारिस


१४ श्रावण २०७५, सोमबार
altitude

काठमाडौं, १४ साउन :  नेपालमा आएका पर्यटकलाई उद्धारको नाममा ठग्ने हेलिकप्टर र अस्पताललाई संगठित अपराध अन्र्तगत कारबाही गरिने भएको छ । फर्जी उद्धार गरेर रकम असुली गरेको भन्दै अन्तराष्ट्रिय जगतमा नेपालको बद्नाम भएपछि सरकारले गठन गरेको छानविन समितिले कारबाही गर्न सफिरिस गरेको हो ।

altitude
फेक रेस्क्यु गर्ने अल्टिच्युट एयरको हेलिकोप्टर

हेलिकप्टर र अस्पतालले फर्जी उद्धार गरेर पर्यटकबाट करोडौ असुली गरेको समाचार बिभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले प्रकाशित गरेको थियो । बीमाको रकम हात पार्न पर्यटकलाई खानामा विभिन्न कुरा मिसाएर बिरामी बनाउने र हेलिकोप्टरमार्फत उद्धार गरी निकटको अस्पतालमा लगेर ठगी हुँदै आएको समाचार अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले प्रकाशित गरेको थियो ।

यो समाचार प्रकाशन भएपछि नेपालको बदनाम भएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित उक्त समितिले सात सय पृष्ठ लामो प्रतिवेदनमा त्यस्ता कम्पनीलाई कारबाही गर्न सिफारिस गरेको हो ।  झन्डै दुई महनिा लगाएर कार्यदलले प्रतिवेदन बुझाउँदै संगठित अपराधमा कारवाही सिफारिश गरेको हो। कार्यदलले पाँच किसिमका अनुसन्धान तथा कारवाही सिफारिश गरेको छ ।

सरकारले वैशाख २१ गते पर्यटन मन्त्रालयका सह–सचिव घनश्याम उपाध्यायको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलले असार १५ भित्र प्रतिवेदन पर्ने भए पनि थप अनुसन्धानको लागि समय मागिएपछि भदौ १५ सम्म कार्यदलको म्याद थपिएको थियो। ठगीमा १० वटा अस्पताल, ८ वटा ट्रेकिङ कम्पनी, ५ वटा वैदेशिक मुद्राको कारोकार गर्ने कम्पनी तथा ३ वटा हेलिकोप्टर कम्पनीको संलग्नता भेटिएको हो।

 

Rabindra ahikari
प्रतिवेदन बुझाउदै समिति

सरकारमा परेको उजुरीको आधारमा मन्त्रालयले छानविन गर्न गठित समितिले ८ वटा ट्राभल तथा ट्रेकिङ कम्पनी ४ अस्पताल र ३ हेलिकप्टर कम्पनीको कारोबार आम्दानी तथा स्रोतको अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागलाई पत्र पठाउन सिफारिस गरेको छ। कुन कुन कम्पनीलाई कारबाही गर्न सिफारिस गरिएको हो त्यो भने सार्वजनिक गरिएको छैन ।

कार्यदलले ६ वटा अस्पताललाई स्वास्थ्य मन्त्रालयले छानबिन गर्नुपर्ने तथा ३ वटालाई राजश्व चुहावटमा छानबिन गर्न सिफारिस गरेको छ । उनीहरुविरुद्ध प्रहरीले समेत ठगी मुद्दामा छुट्टै अनुसन्धान गर्ने छ । यसैगरी पाँच वटा ट्राभल कम्पनीलाई अनुमति विना डलरमा शुल्क लिएको अभियोगमा कारबाही गर्न राष्ट्र बैंकलाई पत्र पठाउन सुझाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७