माथिल्लो तामाकोशीको शेयर खुल्यो, दोलखाबासीले बुधबार शेयर भर्न पाउने


१५ श्रावण २०७५, मंगलवार
Upper Tamakoshi

काठमाडौं, १५ साउन । माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित दोलखाबासीका लागि शेयर निष्कासन गर्ने भएको छ । दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याइएको १ करोड ५ लाख ९० हजार कित्ता शेयर निष्कासन गरेर बुधवारबाट बाँडफाँड गर्न लागिएको हो ।Upper Tamakoshi

नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि गत असार २४ देखि साउन ९ गतेसम्म सेयर निष्कासन गर्ने तय गरिए पनि जिल्लाबासीको आग्रहअनुसार अवधि सारेर निष्कासन गर्ने जनाइएको छ । प्रतिकित्ता सय रुपैयाँ अंकित १ अर्ब ५ करोड ९० लाख रुपैयाँ मूल्यको शेयर खरिद गर्न आगामी भदौ १४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार लगानीकर्ताले न्युनतम ३० देखि अधिकतम ३ सय कित्ता खरिद गर्न पाउने गरी आवेदन दिन सक्नेछन् ।

जिल्लाका विभिन्न बैंक तथा वित्तीय संस्थाको शाखाको २१ स्थानबाट शेयर आवेदन दिने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संख्याका शाखा नभएका स्थानमा घुम्ती संकलन केन्द्र राखिने भएको छ । स्थानीयलाई आउजाउ गर्न कठिनाई हुने दुर्गम स्थानमा स्वयंसेवक परिचालन गरी आवेदन संकलन गरिने कम्पनीले जनाएको छ । जिल्लाबासीलाई शेयर आवेदन भर्न डिम्याट खाता अनिवार्य गरिएको छैन । ३ वर्षको लकिङ अवधि पूरा भएपछि भने लगानीकर्ताले अनिवार्यरुपमा डिम्याट खाता खोल्नु पर्नेछ । काठमाडौंमा बसोबास गर्दै आएका दोलखाली जनताले पनि सेयर खरिद गर्न आवेदन दिन पाउने भएका छन् ।

राजधानीबासीका लागि सनराइज बैंकका शाखाहरुबाट आवेदन दिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । शेयर खरिद गर्न आवेदन दिन पाउने दोलखाबासीलाई आयोजनाबाट अतिप्रभावित, कमप्रभावित र प्रभावितको सूचीमा वर्गिकरण गरिएको छ । शेयर निष्कासन तथा बाँडफाँड गर्न नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । दोलखाबासीका लागि शेयर निष्कासन गरी बाँडफाँड गरेपछि साधारण शेयर निष्कासन गर्ने कम्पनीको तयारी छ ।

स्वपुँजी लगानीको १५ प्रतिशत अर्थात १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण शेयर निष्कासन गरिने छ । सर्वसाधारणले न्युनतम ५० देखि अधिकतम १ हजार कित्ता सेयरका लागि आवेदन दिन पाउने छन् । स्थानीय र सर्वसाधारणलाई शेयर बिक्री गरेर २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ संकलन गर्ने कम्पनीको लक्ष्य छ । कम्पनीले निर्माण गरिरहेको माथिल्लो तामाकोसीबाट आगामी पुसदेखि विद्युत उत्पादन गर्ने तालिका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७