भक्तपुरमा त्रिपक्षीय चुनावी भिडन्त


२० कार्तिक २०७४, सोमबार
bhaktapur

भक्तपुर: आगामी मंसिर २१ गते दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भक्तपुरमा तीनवटा दलको चुनावी भिडन्त हुनेभएको छ। भक्तपुरमा ११ वटा दल चुनावी मैदानमा उत्रिए पनि मुख्यतया नेपाली कांग्रेस, वाम गठबन्धन र नेपाल मजदुर किसान पार्टीका उम्मेदवारबीच दुईवटा प्रतिनिधि सभा सदस्य र चारवटा प्रदेश सभा सदस्यका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ।bhaktapur

क्षेत्र नं १ प्रतिनिधि सभातर्फ नेपाल मजदुर किसान पार्टीको राम्रो पकड रहेको मानिन्छ। यहाँ नेमकिपाका उम्मेदवारलाई पराजित गर्न अन्य दलले कडा मेहनत गर्नुपर्ने देखिन्छ। विगतमा नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले चुनाव लड्दै आएको यस क्षेत्रमा यस पटक प्रेम सुवाल उम्मेदवार बनेका छन्। कांग्रेसले बाबुराजा जोशी र वाम गठबन्धनले मिलन सुवाललाई उम्मेदवार बनाएको छ ।

क्षेत्र नं २ मा प्रतिनिधि सभातर्फ कांग्रेसका नेता एवं पूर्वसभामुख दमननाथ ढुंगानासँग एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेत र नेमकिपाकी अनुराधा थापामगर भिड्ने भएका छन्। प्रदेश सभातर्फ क्षेत्र नं १ ‘क’ मा नेमकिपालाई आफ्नो साख जोगाउन त्यति सहज छैन। यस क्षेत्रमा नेमकिपाका नीरज लवजू, वाम गठबन्धनका हरिशरण लामिछाने र नेपाली कांग्रेसका जीवन खत्रीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

क्षेत्र नं १ ‘ख’ भक्तपुर नगरक्षेत्रमा नेमकिपाका सुरेन्द्रराज गोसाईं, कांग्रेसका अनिल भुजु र वाम गठबन्धनबाट रोमन शिलाकार उम्मेदवार बनेका छन्।यसैगरी क्षेत्र नं २ ‘क’ सूर्यविनायकमा एमालेका शशीजंग थापा, कांगेसका अंगद खड्का र नेमकिपाका सरोजराज गोसार्इं चुनावी मैदानमा छन्। यहाँ तीनैजनाबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।

क्षेत्र नं २ ‘ख’ मा कांगेसका पूर्व जिल्ला सभापति गणेशमान चक्रधर र एमालेका राजेन्द्रमान श्रेष्ठबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। यसक्षेत्रमा नेमकिपाले प्रेमजंग थापालाई उम्मेदवार बनाएको छ।रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७