एसियाड तयारीको लागी कराते टिम जापान प्रस्थान


१६ श्रावण २०७५, बुधबार
karate

karateकाठमाडौं,साउन १६: इन्डोनेसियामा हुन गइरहेको १८ औं एसियाली खेलकुदको थप तयारीलाई नेपाली कराते टोली बुधबार जापानको ओकिनावा प्रस्थान गरेको छ ।
अगष्ट २५ देखि २७ तारिखसम्म हुने करातेको स्पर्धामा नेपालबाट समान ४-४ पुरुष÷महिला गरी ८ खेलाडीले नेपालको चुनौती पस्कने छन् ।
पुरुष एकल कातामा पर्शुराम बाँस्तोला, ६० केजीमा सोनाम लामा, ६७ केजीमा विजय लामा र ८४ केजीमा दिवस श्रेष्ठले सहभागिता जनाउने छन् । महिलामा चन्चला दनुवारले एकल काता, अनु धिकारीले ५० केजी, सुनीता महर्जनले ६१ केजी र रिता कार्कीले ६८ केजीमाथि भाग लिने छन् । प्रशिक्षकमा दीपक श्रेष्ठ तथा हीरासिंह डंगोल रहेका छन् । जापानबाटै टोली अगष्ट २२ मा इन्डोनेसिया जाने छ ।
एसियाडमा नेपालले करातेमा हालसम्म ३ कांस्य जितेको छ । १९९४ को हिरोसिमा एसियाडमा सीता राई, १९९८ को बैंकक एसियाडमा समरबहादुर गोले र २०१४ को इन्चोन एसियाडमा विमला तामाङले नेपाललाई कांस्य दिलाएका थिए । इन्चोन एसियाडमा विमलाले जितेको कांस्य नेपालले हात पारेको एक पदक मात्र थियो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिदाइ गरे । सोही अवसरमा थापा बिजनस ग्रुपका प्रोप्राइटर प्रणील थापा र नेपाल कराते महासंघका उपाध्यक्ष दीपक मल्होत्राद्वारा प्रायोजित ट्रयाकसुट पनि टोलीका सदस्यलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७