गुगलले चीनका लागि सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दै


१७ श्रावण २०७५, बिहीबार
google

एफपी

बेइजिङ, १७ साउन । गुगलले चीनको कठोर सेन्सरसीप (नियन्त्रण) नियमलाई सम्बोधन गर्नेगरी सर्च इन्जिन विकास गरिरहेको कम्पनीमै कार्यरत एकजना कर्मचारीले जानकारी दिएका छन् । मानव अधिकारवादीहरुले यस कार्यको विरोध गरेका छन् । google

सेन्सरसीप र ह्याकिङ गरिएको भन्दै आठ वर्षअघि चीनबाट गुगल बाहिरिएको थियो । तर नाम नबताउने शर्तमा ती कर्मचारीले ‘ड्रागनफ्लाई’ गोप्य नाम राखिएको परियोजनामा अहिले काम भइरहेको बताएका छन् ।

मानिसले खोजेका कतिपय विषयलाई फिल्टर (छान्ने) गर्नेगरी यो परियोजनामा काम हुँदैछ । स्रोतका अनुसार, यसलाई कम्पनीको आन्तरिक नेटवर्कमा परीक्षण गर्ने तयारी भइरहेको छ । ती कर्मचारीका अनुसार, अमेरिकी सञ्चार माध्यमले बुधबार यससम्बन्धी समाचार प्रकाशन गरेलगत्तै कम्पनीभित्रै चिन्ता व्यक्त गरिएको छ । प्रविधि क्षेत्रको विशाल यस कम्पनीले यसै वर्ष अमेरिकी सैनिकसँग सूचना आदानप्रदान गर्नेसम्बन्धी एक करोड डलरको सम्झौतामा हस्ताक्षर गरेलगत्तै कम्पनीमा कार्यरत हजारौं कर्मचारी क्रुद्ध बनेका थिए । तर यस सम्झौतालाई नवीकरण गरिएन ।

‘कम्पनीभित्र कर्मचारीले चिन्ता व्यक्त गरेका छन् । कतिपय मानिसहरु ज्यादै पागल हुँदैछन्,’ स्रोतले भने ।  गुगलका एकजना प्रवक्ताले यस्तो परियोजना रहे नरहेको बारेमा बताउन चाहेनन् । “हामीले चीनमा धेरैवटा मोबाइल एप्स बनाइरहेका छौं, जस्तै गुगल ट्रान्सलेट र फाइल्स गो । हामीले चिनीया निर्माताहरुलाई मद्दत पनि गरिरहेका छौं र जेडी डट कमजस्ता चिनीया कम्पनीमा राम्रै लगानी गरेका छौं,’ प्रवक्ता ताज मिडोजले बताए । ‘तर हामी भावी योजनाका बारेमा कुनै अनुमान लगाएर टिप्पणी गर्ने स्थितिमा छैनौं ।’

द इन्टरसेप्ट वेबसाइटले सबैभन्दा पहिले गुगलको यस परियोजनाका बारेमा समाचार प्रकाशन गरेको थियो । यस परियोजना मार्फत गुगलको सहयोग रहेको मोबाइलमा प्रयोग हुने एन्ड्रोइड अपरेटिङ सिस्टम सर्च एप्समा आबद्ध भएको छ ।  इन्टरसेप्टका अनुसार, मानव अधिकार, लोकतन्त्र, धार्मिक तथा शान्तिपूर्ण प्रदर्शनजस्ता शब्दावलीहरु कालोसूची (ब्लाकलिस्ट)मा पर्दछन् । चीनको ग्रेट फायरवालले अबरुद्ध गरेका वेबसाइटहरु यो एपले पहिचान र फिल्टर गर्दछ ।

यस योजनाका बारेमा जानकार दुई व्यक्तिको हवाला दिँदै न्यूयोर्क टाइम्सले कम्पनीको प्रस्ताव चिनीया अधिकारीहरुले हेरेकै आधारमा गुगलको सेवा चीनमा शुरु हुन लाग्यो भन्न नमिल्ने जनाएको छ ।  एम्नेस्टी इन्टरनेसनलले भने गुगललाई आफ्नो धारणा सच्याउन आग्रह गरेको छ । ‘चीनको कठोर सेन्सरसीप नियमलाई यदि गुगलले स्वीकार गर्ने हो भने यो इन्टरनेट स्वतन्त्रतामा कालो दिन ठहरिने छ,’ प्याट्रिक पूनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चीनमा हाल ट्वीटर, फेसबुक र द न्यूयोर्क टाइम्स अखबारका वेबसाइटहरु प्रतिबन्धित छन् । सन् २०१० मा गुगलले सेन्सरसीप र ह्याकिङको विवाद पश्चात् चीनबाट आफ्नो सर्च इन्जिन बन्द गरेको थियो । तैपनि, चीनमा गुगलको अन्य परियोजनामा ७०० मानिस कार्यरत छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७