कम्युनिस्ट आन्दोलन झनै कमजोर : मोहनविक्रम सिंह


२० श्रावण २०७५, आईतवार
Mohan Bikram Singh 1

काठमाडाैं, २० साउन ।  मोहनविक्रम सिंह नेकपा (मसाल)का महामन्त्री हुन् । सिंहलाई नेपालमा कम्युनिस्ट आन्दोलनका ‘गुरु’का रूपमा पनि चिनिन्छ । हाल अन्य कम्युनिस्ट पार्टीमा रहेका कैयौँ ठूला नेता पनि सुरुवाती चरणमा सिंहकै प्रशिक्षण र सहयात्रामा थिए । विसं ०१० सालमा नेपाल कम्युनिस्ट पार्टीमा संलग्न भएका सिंह ०३१ सालमा नेकपा (मसाल)को चौथो महाधिवेशनबाट पार्टीको महामन्त्रीमा निर्वाचित भए । ०२९ सालदेखि भूमिगत भएका सिंह ०४६ सालयता अर्धभूमिगत भएर पार्टीको नेतृत्व गरिरहेका छन् । उनै सिंहले नेपालकाे कम्युनिष्ट अान्दाेलन झनै कमजाेर भएकाे बताएका छन् । अाजकाे नयाँ पत्रिका दैनिकका भूपेन्द्र वलीले कुराकानी गरेका छन् । Mohan Bikram Singh 1

कम्युनिस्ट आन्दोलन झनै कमजोर
बाहिर हेर्दा नेपालको कम्युनिस्ट आन्दोलन निकै शक्तिशाली भएको देखिन्छ । चुनावमा मत पाएका दुई ठूला पार्टी मिलेर बनेको नेकपा अहिले सरकारमा छ । यो संसारकै लागि उदाहरणीय कुरा हो । तर, यसलाई कम्युनिस्ट आन्दोलन बलियो भएको भन्न मिल्दैन ।

कम्युनिस्ट पार्टी त्यो वेला बलियो हुन्छ, जब यसका सिद्धान्त विचार, नीति, कार्यक्रम लागू भएका हुन्छन्÷हुनेछन् । तर, वर्तमान सरकारले कम्युनिस्टका आधारभूत कुरा पनि अगाडि बढाएको देखिँदैन । समाजवादउन्मुख नीति पनि ठोस रूपमा बनाएको छैन । भूमिहीन, किसानका अधिकारका पक्षमा, राष्ट्रिय उद्योगको संरक्षणको पक्षमा, विदेशी पुँजीलाई नियन्त्रण गर्ने विषयमा कुनै योजना छैन । समग्रमा निजीकरणलाई कम गर्दै क्रमशः सामाजिकीकरण गर्ने दिशामा ठोस कदम चालेको देखिँदैन ।

नेकपा अहिले ठूलो भएजस्तो देखिएको छ । उनीहरूसँग सत्ता छ, शक्ति छ । तर, अर्कोतर्फबाट हे(यो भने उनीहरू आफ्नो सिद्धान्तलाई आफैँ कुल्चिएर ठूला बनेका छन् । सामान्य बुर्जुवा दृष्टिकोणले हेर्दा उनीहरू ठूला भएका हुन्, तर कम्युनिस्ट दृष्टिकोणले उनीहरू च्युत भएका छन् । जनताले मत दिएको कुरा नै सत्य होइन । कुनै वेला हिटलरलाई मत दिने पनि जनता नै थिए । जनताले पञ्चायतलाई दिएका थिए । कांग्रेसलाई दिएका हुन् । जनताले भय, आतंकका कारण, सही विचारबारे स्पष्ट हुन नसक्दा पनि एउटा कालखण्डमा मत दिन्छन् । तर, त्यसले दीर्घकालीन महत्व राख्दैन । समीक्षा नै गर्ने हो भने बाह्य रूपमा शक्तिशाली देखिए पनि नेपाललगायत विश्वमै कम्युनिस्ट आन्दोलन निकै कमजोर भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७