उम्मेदवार प्रचारमा तराई केन्द्रित दलसँग काँग्रेसको तालमेल प्रयास अझै जारी


२० कार्तिक २०७४, सोमबार
congress sasafo and rajapa

काठमाडौँ : सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपाल बिच प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा चुनावी तालमेलको प्रयास अझै जारी नै रहेको छ । उम्मेदवारी दर्तासंगै उम्मेदवारहरु निर्वाचन प्रचार प्रसारमा जुटिरहदाँ काँग्रेस, राजपा नेपाल र फोरम नेपाल बिच चुनावी तालमेलको प्रयास अझै जारी नै रहेको छ । उम्मेदवारी दर्ता अघि तराई मधेसमा चुनावी तालमेल गरेर लोकतान्त्रिक गठबन्धन निर्माण गरी निर्वाचनमा सहभागी हुने प्रयास असफल भएपछि तीन दलले शीर्ष नेता चुनाव लडने क्षेत्रमा तालमेल गर्ने निष्कर्षमा पुगेका थिए ।

congress sasafo and rajapa

तीन वटै दलमा उम्मेदवारको सङ्ख्या र सिट सङ्ख्यामा आ–आफ्नो दलको दाबी अत्याधिक रहेकाले तराई मधेसका जिल्लामा चुनावी तालमेल गर्न लोकतान्त्रिक गठबन्धन बन्न नसकेको हो ।
महोतरी ३ मा प्रतिनिधिसभा तर्फ काँग्रेसले राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई समर्थन गर्दै आफ्ना आधिकारिक उम्मेदवार बजरंग नेपालीको उम्मेदवारी फिर्ता गराएको छ । ठाकुरलाई सहयोग गर्नका लागि उम्मेदवारी फिर्ता लिए पनि सो क्षेत्रमा काँग्रेसका स्थानीय नेता एवं कार्यकर्ताले सहयोग गर्ने की नगर्ने भन्ने विषयमा अन्यौल नै रहेको छ । केन्द्रको दबाबले फिर्ता लिए पनि स्थानीय स्तरमा सहयोग गर्ने निष्कर्षमा नेताहरू पुगेका छैनन् ।
यता सप्तरी–२ मा उम्मेदवारी दिएका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्न प्राविधिक कारण बस काँग्रेसका उम्मेदवार सकलदेव सुतिहारलाई फिर्ता गराउन नसकेपनि काँग्रेसभित्र यादवलाई सहयोग गर्ने विषयमा छलफल जारी नै रहेको छ ।
काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सहितका नेताहरूले मधेसवादी शीर्ष नेतालाई समर्थन गर्दै उनीहरूबाट पनि केही ठाउँमा सहयोगको अपेक्षा गरेका छन् । तर राजपा नेपाल र फोरम नेपालका नेताहरूले काँग्रेसलाई कुन क्षेत्रमा सहयोग गर्ने भन्ने निर्णय अझै गर्न सकेका छैनन् ।
राजपा नेपालका उपाध्यक्ष सत्यनारायण मण्डलले काँग्रेसको जमानत जफत हुने ठाउँमा उम्मेदवारी फिर्ता लिएर सहयोग गरे जस्तो गरे पनि काँग्रेसले कहीँ सहयोग नगरेको बताए । काँग्रेसबाट सहयोगका लागि प्रस्ताव आए पनि उनीहरूले तालमेलका लागि निर्वाचन क्षेत्र छोडन तयार नदेखिएको उनको भनाई छ ।
काँग्रेस नेता बालकृष्ण खाँणले तीन पार्टीका बिचमा भएको सहमति अनुसार शीर्ष नेता लडने क्षेत्रमा सहमतिको प्रयास जारी रहेको बताए । तीनै पार्टीका शीर्ष नेता लडने क्षेत्रमा एकले अर्कालाई सहयोग गर्ने गरी सहमतिको प्रयास भइरहेको उनले बताए । काँग्रेसले राजपा नेता ठाकुर, फोरम अध्यक्ष यादवलाई सहयोग गरिरहेको अवस्थामा काँग्रेसका उम्मेदवारलाई पनि राजपा र फोरमले सघाउँनुपर्ने दाबी उनको छ । धनुषा–३ मा काँग्रेस नेता बिमलेन्द्र निधि, सुनसरी–४ मा ज्ञानेन्द्र कार्की, सिराहा–१ मा प्रदिप गिरिलाई घाउँँन काँग्रेसको प्रस्ताव राजपा नेपाल र फोरम नेपालले अझै स्वीकार गरेका छैनन् ।
राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो धनुषा–३ बाट उम्मेदवारी दिएर चुनावी प्रचारप्रसारमा लागि सकेका छन् । फोरम अध्यक्ष यादवलाई सघाउँने भनिए पनि काँग्रेसले सहयोग नगरको भन्दै यी दुई पार्टीले काँग्रेसलाई कुन क्षेत्रमा सहयोग गर्ने भन्ने निष्कर्षमा पुग्न नसकेका हुन् ।
राजपा नेपालका महासचिव केशव झाले राजपा र फोरम नेपालको गठबन्धन निर्माण गरी चुनावी प्रचारप्रसारमा होमिसकेको बताए । दुई पार्टीको गठबन्धनका उम्मेदवार चुनावी मैदानमा उत्रिकेको बताउँदै उनले काँग्रेसलाई कुन क्षेत्रमा सहयोग गर्ने निर्णय गठबन्धनमा नभएको बताए ।
काँग्रेसको तर्फबाट सहयोग लिने र दिने प्रस्ताव आए पनि निर्वाचन उनीहरूको दाबी चारैतिर भएकाले सहमति हुन नसकेको झाले बताए । एक निर्वाचन क्षेत्रमा सहयोग गरेर सबै तिर सहयोग माग्न खोजेपछि तालमेलको सम्भावना टर्दै गएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७