कोइराला परिवारका एक्ला कम्युनिस्ट


२२ श्रावण २०७५, मंगलवार

अपवादवाहेक अधिकांश मान्छेहरू सत्ता र भौतिक सुखका लागि लालची हुन्छन् । सत्ता र सुविधा छोडेर जोकोहीले अप्ठ्यारो बाटो रोज्दैनन् । मिथकहरूमा यस्तो पढ्न पाइन्छ, एकादेशका राजकुमार दरबारको सत्ता र सुविधा छाडेर अरूको भलाइका निम्ति बाहिर निस्किन्छन् । चलचित्रहरूमा पनि यस्ता नाटकीय दृश्यहरू हेर्न पाइन्छ । तर, यथार्थमा भने यस्ता घटना र पात्रहरू दुर्लभ हुन्छन् । त्यस्तै दुर्लभ पात्रमध्ये एक हुनुहुन्छ, कमल कोइराला । उनकोे विगतलाई फर्केर हेर्दा जोकोहीको मनमा प्रश्न उठ्छ,‘कसरी सम्भव भयो यस्तो ?’

कमल काेइराला । तस्बिर ः गुगल

बाजे कृष्णप्रसाद कोइराला जहानियाँ राणा शासकलाई चुनौती दिने नेता । बुवा मातृकाप्रसाद कोइराला राणाशासनको अन्त्यपछि बनेको मुलुकको कार्यकारी प्रधानमन्त्री । काकाहरूबीपी कोइराला, गिरिजाप्रसाद कोइराला । देशको राजनीतिमा आफ्नै परिवारका सदस्यहरूको गहिरो पकड, दबदबा र हस्तक्षेप । के थिएन ? सबथोक थियो । सत्ता, सबै खालका सुविधा । सत्ता, सुख र सुविधाको हिसाबले वर्तमान मात्रै होइन, भविष्यसम्म सुरक्षित । पुर्खाहरूको विरासत पछ्याएर जाँदा नेतृत्वमा पुग्न कुनै अप्ठ्यारो थिएन । तर, उनले त्यो सजिलो बाटोलाई पछ्याएनन् । बरु, आफ्नै परिवारका प्रिय सदस्यहरूले हिँडिरहेको बाटो र देखाएको उज्यालोविरुद्ध उभिए । उतिबेला कोइराला परिवार भनेकै नेपाली काङ्ग्रेस, नेपाली काङ्ग्रेस भनेकै कोइराला परिवारजस्तो थियो । कम्युनिस्ट हुनु भनेको असाध्यै अप्ठ्यारो थियो । तैपनि, ‘कोइराला परिवारमै कम्युनिस्ट’ । यो त मानिसहरूका लागि कल्पनाबाहिरको विषयजस्तै थियो । तर, उनले त्यही अप्ठ्यारो बाटो रोजे । बुवा प्रधानमन्त्री भएकै बेला सत्ताविरुद्ध सडकमा निस्किए, पक्राउ परे र जेल गए । प्रधानमन्त्रीकै निवासमा बसेर कम्युनिस्ट पार्टीको सदस्यता लिए, सङ्गठन गरे ।

अपवादबाहेक राजनीतिकर्मीहरू त्याग, समर्पण र आदर्शबाट बिस्तारै च्यूत हुँदै गएका छन् । विशुद्ध सत्ता र शक्ति प्राप्तिका लागि ‘जे गर्न र जता लाग्न’ समेत तयार हुने समूह हावी छ । विचार, आदर्श र सङ्गठनको बलमा होइन शक्ति, पैसा र चाकरीको सहारामा मात्रै राजनीति सम्भव छ भन्ने गलत मान्यता स्थापित हुँदैछ भन्न गाह्रो छैन । यो समयमा कमल कोइरालाको विगत फर्केर हेर्दा मिथकीय लाग्न सक्छ, प्रेरणादायी बन्न सक्छ । तिनै दुर्लभ पात्रले हिँडेको बाटो र उज्यालोलाई यो आलेखमा प्रस्तुत गरिएको छ ।

कोइराला निवासदेखि बनारसम्म
यस्ता केही परिवार थिए, छन्, जसको राजनीतिमा लामो समय बलियो पकड र दबदबा छ । जस्तै :  भारतमा नेहरू र गान्धी परिवार । पाकिस्तानको भुट्टो र जर्दारी परिवार । नेपालमा कोइराला परिवार । उनी त्यही परिवारमा १९९५ वैशाखमा विराटनगर कोइराला निवासमा जन्मिए । तर, उनलाई सात महिनाकै उमेरमा काठमाडौं ल्याइयो । पिता मातृकाप्रसाद कोइराला वन विभागको सरकारी जागिरे । एकजना ब्रिटिस अफिसर वन विभागको सल्लाहकारका रूपमा कार्यरत थिए ।

उनका बुवा तिनै ब्रिटिस अफिसरको मुख्य सहयोगी अधिकृतका रूपमा कार्यरत थिए । बुवाको अङ्ग्रेजी भाषा राम्रो भएकाले ब्रिटिस अफिसरसँग काम दिइएको थियो । बसाइ काठमाडौँको मैतीदेवीमा । काठमाडौँको बसाइ सुखद नै थियो । तर, २००१ सालमा उनका बाजे कृष्णप्रसाद कोइरालालाई पक्राउ गरेर राणाशासनविरोधी गतिविधि गरेको आरोपमा जेल हालियो । बुवाको जागिर खोसियो । राणाहरूले कोइराला परिवारको उठीबासजस्तै लगाए । राणाहरूले दुःख दिन सुरु गरेपछि काठमाडौं बसाइ अप्ठ्यारो भयो । त्यसपछि उनीहरु सपरिवार विराटनगर फर्किए ।

विराटनगरको श्री ३ जुद्ध हाईस्कुलमा भर्ना भएर पढ्न सुरु गर्नुभयो । कक्षा ६ सम्म त्यही स्कुलमा शिक्षादीक्षा भयो । २००३ सालमा विराटनगरको जुट मिलमा श्रमिकहरूले हडताल गरे ।

हडताललगत्तै बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, तारिणिप्रसाद कोइरालालगायत पक्राउ परे, बुवा मातृकाप्रसाद कोइराला मात्रै बाहिर । त्यसपछि बुवा मातृकाप्रसादलाई विराटनगर जुटमिलको श्रमिक आन्दोलनको प्रमुख बनाइयो । विराटनगरमा बसेर त्यो आन्दोलन सम्भव थिएन ।

त्यसपछि बुवाको निर्वासन जीवन सुरु भयो । मातृकाप्रसाद कोइराला २००३ सालमा नेपाली राष्ट्रिय काङ्ग्रेसको संस्थापक अध्यक्ष बन्नुभयो । यही क्रममा नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेस मिलेर नेपाली काङ्ग्रेस बन्यो । २००६ सालमा नेपाली काङ्ग्रेसको संस्थापक सदस्य र पहिलो सभापति बन्नुभयो । काङ्ग्रेस सशस्त्र क्रान्तिको तयारी गरिरहेको थियो । क्रान्तिमा परिवार असुक्षित हुने भएपछि बुवाले उनीहरु सबैलाई भारतको बनारस लगे । कक्षा सातदेखि उहाँको शिक्षादीक्षा सबै भारतमै भयो ।

नारायणहिटी दरबारबाट प्रजातन्त्रको स्वागत

देशभरि राणाविरोधी क्रान्ति चर्किंदै थियो । पूर्वमा रामप्रसाद राईहरूले कब्जा सुरु गरे । देशभरिबाट क्रान्तिको आगोे दन्किँदै थियो । यहीबीचमा दिल्लीमा त्रिपक्षीय सम्झौता भयो । २००७ फागुन ७ गते प्रजातन्त्र घोषणा गर्ने औपचारिक सहमति भयो । यसपछि बुवा मातृकाप्रसाद कोइरालासहित उनीपनि २००७ फागुन ४ गते भारतको पटनाबाट हवाईजहाज चढेर काठमाडौं आए । बुवा मातृकाप्रसाद कोइरालालगायतलाई गलकोटे राजाको दरबारमा राखियो । प्रजातन्त्र घोषण भएको दिन उनी पनि नारायणहिटी दरबारमै थिए । भन्छन्,‘नारायणहिटीको सिँढीबाट प्रजातन्त्रको घोषणा गरियो । हामीले नजिकमा बसेर प्रजातन्त्र घोषणा गरेको हेर्याे ।’

उतिबेला राजनीति निकै गर्माएको थियो । तर, उहाँको केटाकेटी उमेर थियो । राजनीतिबाट बेखबर । उनी त्यतिबेलाको काठमाडौँ बसाइ रमाइलोमा बितेको बताउँछन् । सम्झिन्, ‘राजनीतिप्रति उतिधेरै चासो थिएन, हप्ता दिनजति बस्दा काठमाडौँमा रमाइलो गरेर बित्यो ।’ परीक्षा आएका कारण प्रजातन्त्र घोषणा भएको हप्तादिनपछि फेरि बनारस फर्किए ।

बुवा प्रधानमन्त्री भएको खबर बिहेभोजमा
बनारसमै पढाइ चलिरहेको थियो । विराटनगरमा लीला कोइरालाको बिहे सरोज कोइरालासँग थियो । कोइराला बिहे खान बनारसबाट विराटगर पुगे । विद्यार्थीहरूको टोलीका साथ रमाइलो गर्दै विराटनगर पुगेका थिए । यता, बुवा भने देशको प्रधानमन्त्री भइसकेका थिए । तर, उनलाई थाहै थिएन । बिहेभोजमा आफन्तले भने,‘प्रधानमन्त्रीको छोरा यस्तो तालले हिँडेर हुँदैन ।’ त्यसपछि मात्रै बुवा प्रधानमन्त्री बनेको उनलाई थाहा भयो । ‘मेरो दाजु र मैले बुवा प्रधानमन्त्री भएको खबर विराटनगरमा थाहा पायौँ,’ सुनाए ‘तर, जाँच भएकाले भेट्न जान सकेनौँ, बनारस नै फर्कियौँ ।’ उनीकेही समयपछि परीक्षा सकेर गर्मीको बिदामा काठमाडौँ फर्किए ।

बुवा प्रधानमन्त्री थिए । हालको प्रधानसेनापति निवास शशी भवनमा बुवाको निवास थियो । त्यतिबेलाको बसाइ निकै रमाइलो थियो । भर्खरै प्रजातन्त्र आएको थियो । नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूको निकै चहलपहल थियो । शशी भवनमा दैनिक ४०/५० जनाको भात पाक्थ्यो । हाम्रो संवादकाक्रममा त्यतिबेलाको चहलपहल सम्झेर उनीनिकै रोमाञ्चित भए ।

त्यतिबेला बिदा निकै लामो थियो । नेपाली काङ्ग्रेसमा अन्तरकलह सुरु भएको थियो । बीपी र मातृकाबीच मतभेद सुरु भएको थियो । त्यहीबीचमा जनकपुरमा काङ्ग्रेसको महाधिवेशन हुने भयो । तर, उहाँमा राजनीतिक चेत आएको थिएन । रमाइलो गर्ने उमेर । उनी पनि साथीभाइसहित जनकपुर गए । काठमाडौँबाट हिँडेर साथीहरूस“ग रमाइलो गर्दै जनकपुर पुगेको उनले सम्झिए । चित्लाङ, भीमफेदी हुँदै जनकपुर हिँडेर जाँदा निकै रमाइलो भएको सुनाए ।

प्रधानमन्त्रीका छोरा प्रतिबन्धित कम्युनिस्ट पार्टीमा

बनारसबाट एसएलसी पास गरेपछि विज्ञान विषय लिएर पढ्न शुरु गरे । तर, विज्ञान विषय उनलाई रुचीकर लागेन । काठमाडौं फर्केर त्रिचन्द्र क्याम्पसमा आईएमा भर्ना भए । बनारस रहँदासम्म राजनीतिप्रति उनको रुची नै थिएन । तर, निर्मल लामालगायतका नेताहरूसँगको भेट भने बाक्लै थियो । लामा बनारसमा नेपाली कांग्रेसको अफिस सेक्रेटरी । त्यहाँ छँदा पनि लामास“ग उनको धेरै पटक भेट भएको थियो । तिनै निर्मल लामा त्रिचन्द्र क्याम्पसमा भेटिए ।

त्यतिबेलासम्म लामा कम्युनिस्ट भइसकेका थिए । तर, तत्कालीन सरकारले संविधानको धारा ८ ‘क’ लगाएर कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाई सकेको थियो । लामा भने कम्युनिस्ट पार्टीको फ्रन्टका रूपमा ‘जनअधिकार सुरक्षा समिति’ बनाएर क्रियाशिल थिए । त्यसको सभापति थिए, यादवप्रसाद पन्त । केदारमान व्यथित, बालचन्द्र शर्मा, भरतमणि शर्माहरू सक्रिय थिए ।

यही क्रममा उनको साथी मकबुल शाह पक्राउ परे । परीक्षाको फाराम खुलेको थियो । फाराम लिएर उनी मकुल शाहको आमालाई भेट्न गए । आमालाई फाराम भर्ने पैसा छैन भनेपछि आफैले पैसा लगाएर फाराम भरिदिइन्। फाराम भर्न गएको बेला निर्मल लामाहरूले जुलुसको तयारी गरिरहेको थाहा पाए । यसो हेरौँ न त भनेर उनी के पुगेका थिए, लामाले भने, ‘आज जुलुसको नेतृत्व गरेर जाने होइन त ?’ उनले नाइँ भन्न सकेनन् । ‘ल म पनि जान्छु’ भनेर जुलुसमा जान सहमत भए । १६ वर्षको उमेर । उनी सम्झिन्छन्, ‘निर्मल लामाले भनेपछि म बिना पूर्वयोजना नै जुलुसमा गए“ ।’ किलागढबाट जुलुसको अगुवाई गर्दै इन्द्रचोक पुगेर भाषण गर्दागर्दै प्रहरीले तत्कालै पक्राउ गरिहाले ।

प्रधानमन्त्रीका छोरा जेलमा, देश–विदेशको अखबारमा समाचार छ्यापछ्याप्ती । उनीसहित रूपचन्द्र विष्टलगायत करीब ३०/४० जनालाई पक्रेर हनुमान ढोका पुर्याई थुनियो । निर्मल लामाहरू भने प्रहरीबाट बचे । उनीहरूलाई रातभरि हनुमानढोकामा राखियो । तत्कालीन मन्त्री डिल्लीरमण रेग्मीका छोरा मदन रेग्मी उनलाई भेट्न गए । तर, प्रहरीले अनुमति दिएन । प्रहरीले नदिएपछि गिरफ्तार गरोस् भनेरै विरोधमा भाषण गरे । लगत्तै मदन रेग्मीलाई पनि थुनियो । दुवै मिल्ने साथीसँगै थिए । लगत्तै भोलिपल्ट नक्खु जेल चलान गरियो । त्यो समय नेपाली कांग्रेस र कोइराला परिवारको जगजगी थियो । सत्ता भनेकै कोइराला परिवार जस्तै थियो । बुबा प्रधानमन्त्री । प्रधानमन्त्रीकै छोरा कम्युनिस्टको जुलुसबाट पक्राउ परेको समाचार देश–विदेशमा सनसनी भयो । भारत र बेलायतका अखबारहरूमा समाचार छापिए ।

उनीहरूलाई करीब नौ दिनपछि जेलबाट छाडियो । आफ्नै छोरो कम्युनिस्टको जुलुसबाट पक्राउ गर्दा बुबालाई कस्तो असर पर्याे होला ? प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका लागि त्यो एउटा घटना अप्रिय थियो । तर, उनले भने त्यस्तो गम्भिरताका साथ केही सोचेनन् । भन्छन्, ‘जुलुसमा गिरफ्तार गरिहाल्यो । सबै साथीस“गै भएकाले त्यति धेरै डर र चिन्ता केही भएन ।’

आमामार्फत बुबाको सन्देश
जेलबाट छुटेपछि उनी सिधै घर गएनन् । जान पनि अप्ठ्यारो थियो । साथी मदन रेग्मी र उनी घर नजाने निधोमा पुगे । ईश्वरमान मानन्धरको घरमा गएर बस्न थाले । आमाले थाहा पाएपछि ‘घरमा लिएर आउनु’ भनेर एक जना मान्छे पठाइन् । त्यसपछि साथी मदन रेग्मीसहित घर गए । घरमा बुवा प्रधानमन्त्री । सरकारविरुद्ध जुलुस गरेर पक्राउ परेका छोरा । बुबाको अगाडि बोल्ने आँट नै भएन । उनी सम्झिन्छ्न्, ‘बुबालाई सीधा हेर्न सक्ने आँट भएन ।’

घर गएपछि बुबासँग भेट त भयो, तर बोलचाल भएन । आमा भने पढ्न सम्झाई रहन्थिन् । बुबाले केही भन्नै पर्ने भए आमामार्फत भन्थे । उनी भन्छन्, ‘बुबाले पढ्नु भनेर आमामार्फत भन्नु भयो ।’ तर, बुबाले उनलाई हप्काउने अथवा बोलाएर सम्झाउने चाहिँ गरेनन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटासँग ट्युसन
बुबा–आमाकै सल्लाहअनुसार उनी अंग्रेजी विषयको ‘ट्युसन’ पढ्न थाले । ट्युसन शिक्षक थिए, महाकवि लक्ष्मीप्रसाद देवकोटा । साइकल चढेर देवकोटाले घरमै आएर ट्युसन पढाउँथे । ‘ट्युसन’ पढाए बापत त्यतिबेला देवकोटाले सय रुपैयाँ लिन्थे ।

त्यतिबेला देवकोटा पनि राजाको सल्लाहकार थिए । अंग्रेजी विषय उनले असाध्यै राम्रो पढाउँथे । सम्झिन्छिन्, ‘अंग्रेजीमा उहाँको असाध्यै राम्रो ज्ञान थियो, कौसीमा घाम ताप्दै पढाउनु हुन्थ्यो ।’ देवकोटा चुरोटमा भने असाध्यै अम्मली हुनुहुन्थ्यो । ‘उहाँका लागि चुरोट राखिदिएको हुन्थ्यो नसकेसम्म तानेको तान्यै गर्नुहुन्थ्यो,’ उनी सम्झिन्छन् । त्यही चुरोट महाकवि देवकोटाको मृत्युको कारण बनेको उनको बुझाइ छ ।

प्रधानमन्त्री निवासमा बसेर कम्युनिस्टको संगठन
त्यतिबेला कोइराला परिवारमै बसेर कम्युनिस्टको संगठन गर्नु ‘चानचुने काम’ थिएन । तर, उनले गरे । जुलुस काण्डपछि उनीहरू पक्का कम्युनिस्ट भइसकेका थिए । भन्छन्, ‘जुलुसमा पक्राउ गरेपछि कम्युनिस्ट भनेर लाहाछाप लागिहाल्यो, पक्का कम्युनिस्ट भइयो ।’

छोरा कम्युनिस्ट पार्टीमा लागेका कारण बुबाको अनेकौं आलोचना हुनु स्वाभाविक थियो । उनको आलोचना त हुने नै भयो । परिवारभित्र अनेक टिप्पणी हुनु पनि नौलो थिएन । तर, ती सबै आलोचना र टिप्पणीको पर्वाह नगरी कम्युनिस्ट पार्टीकै उज्यालो बाटो समातेर उनले समाज परिर्वतन र रूपान्तरण अभियानमा लाग्ने कसम खाए  । 

प्रधानमन्त्रीको छोरो भएर त्यही घरबाट कम्युनिस्ट नेताहरूसँग सम्पर्कमा पुग्नु कम्ती कठिन काम थिएन । त्यही कठिनताका बीचमा पनि कम्युनिस्ट पार्टीका नेताहरूको नियमित सम्पर्कमा नै थिए । यही क्रममा नरबहादुर कर्माचार्यले कम्युनिस्ट पार्टीका सदस्यताको फाराम दिए । कम्युनिस्टको सेल बनाएर काम गर्न भनेर । प्रधानमन्त्री निवासमै छँदा प्रतिबन्धित कम्युनिस्ट पार्टीको सदस्यता लिए । सेल गठन गरे । कृष्णनाथ शर्मा, पूर्णप्रसाद सुवेदी र लोकेन्द्रराज चार जना मिलेर सेल गठन गरेका थिए ।

बीपीले उद्घाटन गरेको सम्मेलनबाट विद्यार्थीको महासचिव
अनेक अवरोहले काठमाडौँमा पढाइ राम्रो भएन । आईए पास गर्न सकेनन् । पढ्न भारतको इलाहावाद पुगे । त्यहाँ भरतमोहन अधिकारीलगायतका नेताहरू थिए । पढाइसँगै संगठनको काममा पनि क्रियाशील नै रहे । इलाहाबादबाट आईए सकेर बीए पढ्न बनारस गए । बनारसबाट बीए पास गरेर एमए लागि इलाहाबाद नै गए ।

त्यही बीचमा २०१७ सालमा भारतको मुम्बईमा भएको अखिल भारतीय नेपाली विद्यार्थी फेडरेसनको सम्मेलनबाट महासचिवमा निर्वाचित भए । यो नेपाली विद्यार्थीहरूको साझा र छाता संगठन थियो । यो सम्मेलनको उद्घाटन तत्कालीन प्रधानमन्त्री रहेका उनका काका विश्वेश्वरप्रसाद कोइरालाले गरेका थिए । अध्यक्ष मोहम्मद मोहसिन  (जो पछि नेपालका शिक्षामन्त्री पनि बने) र उनी महासचिवमा निर्वाचित भएका थिए ।

पढाइ छाडेर संगठन, २४ वर्षको उमेरमै केन्द्रीय सदस्य

२०१७ पुस १ गते राजाले दलमाथि प्रतिबन्ध लगायो । त्यसलगत्तै २०१७ फागुनमा भारतको दरभङ्गामा कम्युनिस्ट पार्टीको विस्तारित बैठकको आयोजना गरियो । उनलाई विद्यार्थी फेडरेसनको तर्फबाट विस्तारित बैठकमा भाग लिन बोलाइयो । नेताहरूको तारन्तारको खबरपछि उनी पढाइ छाडेरै दरभङ्गा विस्तारिक बैठकमा भाग लिन गए । त्यतिबेला कम्युनिस्ट पार्टीमा तीव्र मतभेद शुरु भइसकेको थियो । त्यही विवादका कारण दरभङ्गा प्लेनम (विस्तारित बैठक) करीब डेढ महिनासम्म लम्बियो । उनी सम्झिन्छन्, ‘नेताहरूको विवादका कारण बैठक धेरै लम्बियो, आज मिल्छ भन्यो छैन, भोलि मिल्छ भन्ने ठान्यो, छैन । हामी कुरेर बसिरह्यौँ। मेरो एमएको पढाइ छुट्यो ।’


दरभङ्गा प्लेनममा मूलतः तीन विषयमा छलफल भएको थियो, संसदीय व्यवस्थाको स्थापना, विघटित संसद्को पुनस्र्थापना र संविधानसभाको चुनाव । संसदीय व्यवस्थाको स्थापनाको पक्षमा डा. केशरजङ्ग रायमाझी उभिए । ५४ सदस्यमध्ये १७ जना यसको पक्षमा थिए । विघटित संसद्को पुनस्र्थापनाको पक्षमा पुष्पलाल थिए । तुलसीलाल, शम्भुरामलगायत ६ जना मात्रै यसको पक्षमा उभिए । संविधानसभाको निर्वाचनको पक्षमा मोहनविक्रम सिंह थिए । यसको पक्षमा २८ जना उभिए । दरभङ्गा प्लेनमले पार्टीमा देखा परेका मतभेद निराकरण गर्न नौ महिनामा तेस्रो महाधिवेशन बोलाउने निर्णय गर्याे। डा.रायमाझीलाई महासचिवबाट हटाएर तीन जनाको सेक्रेटारियट मटी गठन गरियो । शम्भुराम श्रेष्ठ, डीपी अधिकारी र रायमाझी रहेको तीन सदस्यीय सेक्रेटारियट कमिटीलाई प्रधान कार्यालय जिम्मा दिइयो । पार्टीभित्र अनेकौं विवाद र काण्डहरू भए । तैपनि, उनी सक्रिय रहे ।

पार्टीभित्र बनेको अन्तर जोन सामञ्जस्य समितिको आयोजनामा २०१९ वैशाख ४–१५ मा नेकपाको तेस्रो महाधिवेशन सम्पन्न भयो । महाधिवेशनबाट महासचिवमा तुलसीलाल अमात्य चुनिए । पोलिटब्युरोमा मनमोहन अधिकारी, पुष्पलाल, हिक्मतसिंह भण्डारी, कृष्ष्णराज बर्मा, मोहनविक्रम सिंहलगायत चुनिए । उनी पनि केन्द्रीय समितिमा चुनिए । उनी केन्द्रीय समितिमा चुनि“दा २४ वर्षको युवा थिए ।

कानुन पढ्दै प्रचारको काम, दुई वर्ष जेलमा

राजाले दलहरूमाथि प्रतिबन्ध लगाएपछि नेपाल आएर काम गर्ने अवस्था थिएन । लामो समय लड्नुपर्ने अवस्था सिर्जना भयो । त्यसपछि उनले कानुन पढ्ने निधो गरे । पार्टी हेडक्वार्टरमा बसेर कम्युनिस्ट बुलेटिनमा काम गर्दै भारतमै कानुन पढे । २०२२ सालमा एलएलबी उत्तीर्ण गरे ।
एलएलबी पास गरेपछि उनी भूमिगत रूपमा स्वदेश आउन थाले । पार्टीको कामको सिलसिलामा नै २०२४ सालको माघमा मोरङको मंगलबारेबाट पक्राउ परे । ५२ दिन विराटनगरमा राखियो । अधिकांश नेताहरू काठमाडौँको जेलमा थिए । उनले पनि काठमाडौँ नै जाने विचार गरे । जेलरलाई भनेपछि उनलाई काठमाडौँ ल्याइयो । काठमाडाैँ भद्रगोल जेलमा मनमोहन अधिकारी र शम्भुराम श्रेष्ठसँगै थिए । त्यहाँ धेरै नेतासँग उनको भेट भयो ।

जेलबाट निस्किएर विवाह, भरतमोहनसँगै वकालत

उनले बनारसमा पढ्दा नै बिहेको कुरा चलेको थियो । उनी सम्झिन्छन्, ‘मैले बनारस हुँदा नै केटी हेरिसकेको थिएँ। उनका भिनाजु मेरा मामाकी छोरी ।’ जेलबाट निस्किँदा पनि उनले हेरेको केटीले बिहे नगरेको थाहा पाए । त्यसपछि उनले त्यही केटी बिहे गरे । उनकी श्रीमतीले विराटगरको विद्यालयमा पढाउन थालिन् । त्यहीबीचमा पार्टीको चौथो महाधिवशेनको तयारी हुँदै थियो । तर, त्यही बीचमा २०२८ सालमा झापा विद्रोह भयो । त्यसपछिको अवस्था झन् जटिल भयो । उनले विराटनगरमा बसेर वकालत शुरु गरे ।

एलएलबी उत्तीर्ण गरेको ११ वर्षपछि २०३३ जेठमा कोइरालाले सर्वोच्च अदालतबाट अधिवक्ताको प्रमाणपत्र प्राप्त गरे । त्यसपछि २०३३ मा भरतमोहन अधिकारी र उनले कोशी ल फर्म खोले । उनीसम्झिन्छन्, ‘मैले सर्वोच्च अदालतबाट अधिवक्ताको प्रमाणपत्र लिई कानुन व्यवसाय पनि थालेकाले आम्दानी पनि राम्रै वृद्धि हुने भयो ।’

एलएलबी उत्तीर्ण गरेको ११ वर्षपछि २०३३ जेठमा कोइरालाले सर्वोच्च अदालतबाट अधिवक्ताको प्रमाणपत्र प्राप्त गरे । त्यसपछि २०३३ मा भरतमोहन अधिकारी र उनले कोशी ल फर्म खोले । उनीसम्झिन्छन्, ‘मैले सर्वोच्च अदालतबाट अधिवक्ताको प्रमाणपत्र लिई कानुन व्यवसाय पनि थालेकाले आम्दानी पनि राम्रै वृद्धि हुने भयो ।’

शैलजासँग चुनाव

२०४६ सालमा प्रजातन्त्र आएपछि २०४८ सालको आमनिर्वाचनमा उनलाई मदन भण्डारीले धनकुटाबाट चुनाव लड्न सुझाव दिए । त्यहीअनुसार घोषणा समेत गरे । तर, मनमोहन अधिकारी, भरतमोहन अधिकारीलगायतले सूर्यबहादुर थापासँग चुनाव लड्न कठिन हुने बताएपछि मोरङ–५ बाट चुनाव लडे । उनको प्रतिस्पर्धी नेपाली कांग्रेसकी शैलजा आचार्य थिइन् । तर, पराजित भइन् । २०५१ सालको निर्वाचनमा फेरि त्यही निर्वाचन क्षेत्रमा चुनाव जिते ।

मदनले भनेपछि ‘दृष्टि’ को प्रधान सम्पादक

संगठनमा भन्दा उनीलेखनमा सक्रिय थिए । बनारसमै छँदा पनि प्रचारमा काम गरेको अनुभव थियो । उनको त्यो क्षमताबाट नेताहरू प्रभावित थिए । पार्टी एक भएपछि प्रचारको इन्चार्ज झलनाथ खनाल भए । पार्टी प्रचार विभागमा प्रदीप नेपाल, ईश्वर पोखरेललगायतका नेताहरू थिए ।

‘दृष्टि’ को प्रधान सम्पादक कसलाई बनाउने भन्ने विषयमा विवाद थियो । झलनाथ खनालको चाहना भीम रावललाई बनाउने थियो । प्रदीप नेपालको तर्क थियो, ‘त्यहाँ काम गर्ने साथीहरूले मान्दैनन ।’ त्यसबेला दृष्टिमा शम्भु श्रेष्ठ, किशोर श्रेष्ठ, राजेन्द्र स्थापित, रविन सायमीलगायत कार्यरत थिए । एक दिन प्रचार विभागको बैठक भनेर बागबजारस्थित कार्यालयमा बोलाइयो ।

उनी सम्झिन्छन्, ‘बैठक बसिरहेको थियो, त्यहीबीचमा मदन भण्डारी माथिबाट ब्याग बोकेर तल आएर सोध्नुभयो– के चलिरहेको छ ? प्रदीप नेपालले भन्नु भयो– दृष्टिको प्रधान सम्पादक को बनाउने भनेर छलफल चलिरहेको छ । फेरि मदन भण्डारीले सोध्नुभयो– कसलाई बनाउने त ? लगत्तै प्रदीप नेपालले भन्नुभयो– साथीहरूले कमल कोइरालालाई बनाउँदा राम्रो हुन्छ भन्नुहुन्छ । प्रदीप नेपालको कुरा सुनेपछि मदन भण्डारीले तत्कालै भन्नुभयो– त्यसो भए ठीक छ त, बनाउनुहोस् । प्रदीप नेपालले पनि हुन्छ भन्नुभयो । झलनाथ खनालले एउटा प्रस्ताव राख्नुभयो– महासचिवको उपस्थितिमा बसेको बैठकले दृष्टिको प्रधान सम्पादक कमल कोइरालालाई बनाउने निर्णय गरियो भनेर माइन्युट लेखौँ। तर, मदन भण्डारीले भन्नुभयो– कहाँ म बैठकमा आएको हुँ र ? घर जान झोला बोकेर यहाँ आएको हुँ ।’

त्यसपछि उनीदृष्टिको प्रधान सम्पादक भए । त्यो बैठक भएको दिन नारायण ढकाल बिरामी थिए । तर, उनलाई पनि टिममा राख्ने निर्णय भयो । बिडम्बना उनले काम गर्ने अवसर पाएनन् । उनकी श्रीमतीलाई क्यान्सर भयो । उपचारका क्रममा करीब १५ महिना भारत बसे । तर, उनले काम नगरे पनि उनको नाम भने राखियो । पछि प्रचार विभागमा इन्चार्ज भएर मदन भण्डारी आए।

कोइरालाले श्रीमतीको क्यान्सरको उपचारका लागि दौडिनुपर्ने भएकाले समय दिन सकेनन् ।
२०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मदन भण्डारीको हत्या भयो । त्यो बेला पनि उनी श्रीमतीको उपचारका क्रममा बाहिरै थिए । एक दिन काठमाडौँ आएर फर्किए । पछि साउन महिनामा श्रीमतीको दुःखद निधन भयो ।

श्रीमतीको निधनपछि करीब ३० महिना आएर दृष्टिमा काम गरे । त्यसपछि ०५१ सालमा सांसद जिते । संसद्को राज्य व्यवस्था समितिको सभापति थिए । अनि, दृष्टिको जिम्मेवारी छोडे । त्यसो त त्यसअघि पनि मदन भण्डारीसँग धेरै काम गरेका थिए । मदन भण्डारीलाई उनी एक असाधारण क्षमता भएको नेता मान्थे । नेपालमा साम्यवाद आउने देखेर एजेन्सीहरूले योजनाबद्ध तरिकाले हत्या गरेको उनको भनाइ छ ।

बुद्ध नेपालमा जन्मेको सन्देश दिने पहिलो राजदूत

पार्टी विभाजनमा उनी मालेतिर लागे । एकीकृत पार्टीको वैकल्पिक सदस्य भए । पछि केन्द्र्रीय सल्लाहकार समितिको सभापति बने । त्यसबीचमा भएका निर्वाचनहरूमा चुनाव लडेनन् त्यही बीचमा २०६४ मा दक्षिण कोरियाका लागि नेपाली राजदूतका रूपमा नियुक्त भए ।

त्यतिबेलासम्म अधिकांश देशमा ‘गौतम बुद्ध भारतमा जन्मेको हो’ भनेर पाठ्यक्रम पढाइन्थ्यो । दक्षिण कोरियामा पनि त्यही पढाइन्थ्यो । उनकै पहलमा दक्षिण कोरियाले आफ्नो पाठ्यक्रम बुद्ध नेपालमा जन्मेका भनेर सच्यायो । दक्षिण कोरिया यस्तो देश हो, जुन देशले सबैभन्दा पहिले बुद्ध नेपालमा जन्मेको हो भनेर आफ्नो पाठ्यक्रममा राख्यो । त्यसका निम्ति उनले राजदूतका हैसियतमा राष्ट्रपतिलाई विशेष पत्र नै लेखेका थिए ।

कोइराला परिवारभित्रको प्रेम

शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुअघिसम्म कांग्रेसको ७१ वर्षे इतिहासमा ४९ वर्ष एकछत्र कोइराला परिवारकै दबदबा रह्यो । बीपीले २५ वर्ष, मातृकाले चार वर्ष, गिरिजाप्रसादले १४ वर्ष र सुशील कोइरालाले ६ वर्ष कांग्रेसको नेतृत्व गरे । बीचमा कोइराला परिवार बाहिर सुवर्णशमशेरले दुई वर्ष र कृष्णप्रसाद भट्टराईले एक पूर्ण कार्यकाल र कार्यवाहकसहित १९ वर्ष कांग्रेस चलाए । तर, कोइरालाको पकडभन्दा कांगे्रस बाहिर गएन । मातृका, बीपी, गिरिजा र सुशील प्रधानमन्त्री पनि भए ।

उनको बाजे कृष्णप्रसाद कोइराला । सन्तानहरू मातृकाप्रसाद, विश्वेश्वरप्रसाद, केशवप्रसाद, तारिणीप्रसाद र गिरिजाप्रसाद कोइराला सबै राजनीतिमा । केशवप्रसाद र तारिणीबाहेकका तीनै जना मुलुकको प्रधानमन्त्री बने । हाल कांग्रेस राजनीतिमा रहेका डा. शेखर कृष्णप्रसाद कोइरालाका साहिँला पुत्र केशवप्रसादका कान्छा छोरा हुन् । गिरिजाप्रसादकी छोरी हुन् सुजाता । विश्वेश्वरप्रसादका कान्छा छोरा हुन् डा. सशाङ्क । उनी बाहेक सबै नेपाली कांग्रेसकै राजनीतिमा क्रियाशील छन् ।

तर, विचारको हिसाबले फरक भए पनि कोइराला परिवारमा कुनै त्यस्तो विभेद नरहेको उनी बताउँछन् । भन्छन्, ‘मलाई आफ्नै बाबा र काकाहरूले समेत कम्युनिस्ट पार्टीमा लागिस् भनेर कहिल्यै फरक व्यवहार गर्नु भएन ।’ गिरिजाप्रसाद कोइराला बाँचुन्जेल कांग्रेसमा मात्रै होइन, सत्तामा पनि हावी भए । हरेकजसो पारिवारिक कार्यक्रममा उनलाई बोलाइन्थ्यो । उनी भन्छन्, ‘कोइराला परिवारभित्र हुने सबै पारिवारिक काममा मलाई बोलाउनु हुन्थ्यो ।’

कुनै गुनासो र पश्चात्ताप छैन, बरु गर्व छ
कोइराला हाल काठमाडौँको थापा गाउँस्थित आफ्नै निवासमा बस्छन् । उनका दुई सन्तान राजनीतिभन्दा पर छन् । जेठो छोरा अमेरिकामा डाक्टर । छोरी ज्वाइँका साथमा ।  एक महिनाअघि थापागाउँस्थित घरमा पुग्दा घरको छतमा बसेर घाम तापिरहेको थिए ।

निकै लामो संवादपछि मैले उनलाई सोधे, ‘कम्युनिस्ट भएकोमा कतै गुनासो या पश्चात्ताप त छैन ?’ उनको सहज उत्तर थियो, ‘किन हुनु पश्चात्ताप ? बरु मलाई एकदमै गर्ब छ । जे गरेँ, जुन बाटो हिँडेर यहाँसम्म आए, मलाई असाध्यै गर्व छ †’ बरु कम्युनिस्ट पार्टीमा निष्ठा र प्रतिबद्धता कम हुँदै गएकोमा उनी चिन्तित छन् । उनी अहिले राजनीतिमा सक्रिय छैनन्  लेख पढमा समय बितिरहेको छ । तर, उनको निष्ठा उस्तै छ । पद र शक्तिका लागि ‘जेसुकै गर्न र बन्न’ तयार हुनेहरूले कमल कोइरालाबाट केही सिक्ने कि ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७