सशस्त्रले गुणस्तरहीन स्वीटर जिल्लातिर पठायाे


२३ श्रावण २०७५, बुधबार
APF

 काठमाडौं, २२ साउन । सशस्त्र प्रहरीले २ बर्षअघि खरिद गरेर स्टोरमा भण्डारण गरेर राखेका गुणस्तरहीन स्वीटर दुर्गम जिल्लाहरुमा पठाएको छ ।

दुर्जकुमार राई आइजीपी हुँदा जेनेटिक टेड्रिङलाई ३७ हजार थान स्वीटर खरिदको टेण्डर परेको थियो । राई आईजीपी हुँदाका सचिवालय प्रमुख डीआइजी(हाल आइजीपी) शैलेन्द्र खनालको जोडबलमा जेनेटिक टेड्रिङका जनार्जन ढुंगेललाई ठेक्का दिइएको थियो ।

ढुंगेलले ३७ हजार थानको ठेक्का पाए पनि २० हजार स्वीटर मात्र बुझाएका थिए । ती २० हजार थान स्वीटर पनि गुणस्तरहीन भएकाले काठमाडौं लगायतका सशस्त्र प्रहरीलाई बितरण गरिएन । २ बर्षपछि आफैं आइजीपी भएपछि ती स्वीटर बाहिरका जिल्लामा पठाइएको छ । २ बर्षअघि भारतको एसजीएस लगायतका गुणस्तर परीक्षण गर्ने प्रचलन थिएन ।

जनार्जन ढुंगेल र तत्कालीन डीआइजी खनालले मिलेर नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी र टेक्सटाइल प्रमुख सुशील साहसँग सेटिङ गरी गुणस्तर पास गराएका थिए । ३७ हजार स्वीटरको ठेक्का पाए पनि २० हजार मात्र बुझाउने ठेकेदारलाई सार्वजनिक खरिद ऐन नियमावली अनुसार धरौटी जफत गरी कालोसूचीमा राख्न पत्र लेख्नुपर्छ ।

सशस्त्रले कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा पत्राचार पनि गरेको थियो । खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्नका लागि सूचना पनि प्रकाशित गरिसकेको अवस्थामा ठेकेदार ढुंगेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरे । जुन मुद्दा विचाराधीन रहेको छ । तर सशस्त्र प्रहरीले २ बर्षपछि ती गुणस्तरहीन स्वीटर दुर्गम जिल्लामा पठाएको छ ।

गत आर्थिक बर्षमा सशस्त्रमा टेण्डर हुनै सकेन । भएको टेण्डर चैतमा रद्द भयो । सार्वजनिक खरिद अनुगमन कार्यालयले त्यो टेण्डर सदर गर्न दिएको निर्देशन दिएको छ । भण्डारमा २ बर्षदेखि कुहिएका गुणस्तरहीन स्वीटर जुम्ला, हुम्लाजस्ता जिल्लामा पठाई भ्रष्टाचार प्रकरण ढाकछोप गर्न खोजेका छन् ।

विजय गच्छदारलाई भिनाजु भन्ने र जसलाई पनि नाता गाँस्ने आइजीपी खनाललाई ठेकेदार ढुंगेलले ज्वाईको साइनो लगाउने गर्दछन् । त्यसो त आइजीपी खनाल गुण्डानाइके गणेश लामालाई पनि साइनो लगाउने गर्दछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७