दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सबै वडामा इन्टरनेट सेवा


२३ श्रावण २०७५, बुधबार
diprung ghaupalika


खोटाङ, २३ साउन । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सबै वडामा इन्टरनेट सेवा जडान गरिएको छ । गाउँ कार्यपालिकाको कार्यालय र वडालाई सञ्चारसँग नजिक तथा दैनिक कामकाजमा सहजता दिलाउन सात वडा रहेको गाउँपालिकाको सबै वडामा इन्टरनेट जडान गरिएको हो ।

भर्चुवल नेटवर्क प्रालिसँगको साझेदारीमा गाउँपालिकाको याम्खा, डाँडागाउँ, छोरम्बु, बतासे, स–छितापोखरी, छितापोखरी र टेम्मामा इन्टरनेट जडान गाउँपालिकाका आइटी अधिकृत मणिचन्द्र राईले जानकारी दिए । अधिकृत राईका अनुसार गाउँ कार्यपालिकाको कार्यालयमा एक एमबिपिएस र वडा कार्यालयमा ५१२ केबिपिएस क्षमताको इन्टरनेट जडान गरिएको हो ।

गाउँपालिकाको रु १५ लाख लगानीमा आफ्नो बेग्लै लिंक बनाएर इन्टरनेट जडान गरिएको जनाइएको छ । गाउँपालिकाको कार्यालयसँगै सबै वडामा इन्टरनेट जोडेपछि इमेल, इन्टरनेटमा सहजता आएको गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताए ।

दुई नगरपालिकासहित आठ गाउँपालिका रहेको खोटाङमा दिप्रुङ चुइचुम्मा गाउँपालिका विकासमा सबैभन्दा अगाडि रहेको छ । गाउँपालिकाले एकै वर्षमा दिक्तेल आइपुग्ने सबैभन्दा छोटो दूरीको सडक सञ्चालन, गाउँपालिकाको भूकम्प प्रतिरोधात्मक स्टिल ट्रस भवन निर्माण, पाँच वडामा खेलमैदान निर्माण गरेको छ ।

गाउँपालिकामा सानिमा बैंक र शिशु पोषण प्रवद्र्धन कार्यक्रमअन्तर्गत गर्भवतीले चार पटक गर्भ जाँच, मासिक स्वास्थ्य जाँच, बच्चालाई नियमित खोप र बच्चाको जन्मदर्ता हुने आमालाई मासिक रु एक हजार प्रोत्साहन भत्ता दिँदै आएको छ । आगामी दिनमा सातै वडाको मुख्य बजार क्षेत्र र बाक्लो बस्ती रहेको ठाउँमा फ्रि–वाइफाइको व्यवस्था गरिने गाउँ कार्यपालिकाले योजना बनाएको छ ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७