चाबहिल-बौद्ध-साँखु सडक निर्माणका लागि माधव नेपालको फेरि अर्को ‘एक्सन’


२४ श्रावण २०७५, बिहीबार
Madhav Raghubir
????????????????????????????????????

काठमाडौं, २४ साउन :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बिहीबार दलबलसहित काठमाडौंको बौद्ध सडकमा ओर्लिए । नेपालको साथमा थिए, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ, सडक बिभागका महानिर्देशक रबिन्द्र श्रेष्ठ, ठेकेदार सुकन्तलाल हिराचन, प्रतिनिधि सभाका सदस्य कृष्ण राई, प्रदेश सभाका सदस्य रामेश्वर फुयाल र स्थानीय जनप्रतिनिधिहरु ।

Road showing
पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, मन्त्री महासेठ सहित उच्च अधिकारीहरु

सबै सरोकारवालालाई लिएर सडकमा, १५ दिनको अल्टिमेटम

नेता नेपालले सडकमा ओर्लिएर सडकको अवस्था हेर्नासाथ यो सडक निर्माणको ठेक्का पाएको ठेकेदार सुकन्तलाल हिराचनलाई सोधे, ‘खोई, सडक उस्तै छ, सुधार किन भएन, समस्या के हो ?’ पूर्व प्रधानमन्त्री नेपालले यसो भनेपछि हिराचन झस्किए । काम जारी रहेको टालटुले जवाफ फर्काए । यसपछि नेपालले फेरि सोधे, ‘अब कहिलेसम्म हुन्छ ?’ यसपछि हिराचनले १५ दिनभित्रमा यो सडक खण्डको खाल्डाखुल्डी पुरी सकेर पक्की बनाउने काम सुरु गर्ने बताए ।

नेपालसँगै प्रदेशसभा सदस्य मणिराम फुयाँल, गोकर्णेश्वर नगरका मेयर सन्तोष चालिसे, शंखरापुर नगरका मेयर सुवर्ण श्रेष्ठ, कागेश्वर मनहराका मेयर कृष्णहरि थापा पनि थिए । बौद्धदेखि नेता नेपालले सडकका महानिर्देशक र ठेकेदारलाई आफ्नै गाडीमा आफूसँगै राखे । महानिर्देशक र ठेकेदारलाई दयाँ-बायाँ राखेर सडकको अवस्था देखाउँदै बौद्धदेखि यात्रा सुरु गरे ।


फेरि बौद्ध गेट अघिको सडकमा टोली ओर्लियो । हिलाम्मे सडकपछि नेता नेपालले अनुहार खुम्चाए । र, सडक देखाउँदै ठेकेदार र महानिर्देशकलाई भने, ‘अबको १५ दिनमा यो सडक जसरी पनि परिवर्तन हुनुपर्छ ।’ बौद्ध गेटपछि लामा पेट्रोलपम्प अगाडि रोकियो नेता नेपालको गाडी । त्यहाँको अवस्था उस्तै थियो, हिलाम्मे सडक । सडक देखाउदै भने, ‘ल हेर्नुहोस् ।’ ठेकेदारले ‘बन्दैछ हजुर’ भनेपछि स्थानीयहरुले तुरुन्तै प्रतिवाद गरे, ‘आज अनुगमनमा आउने भनिएपछि हिजो राति पुरपार गरेर यतिसम्म भएको हो ।’ ठेकेदारले निर्माणमा ढिलाई गरिरहेको स्थानीयको आरोप छ ।


त्यही ठेकेदारले फेरि अर्को समस्या सुनाए, ‘प्रहरीबाट पनि सहयोग भएन ।’ सँगै रहेका बौद्धका इन्चार्ज डिएसपी श्यामकुमार राईलाई ठेकेदारलाई तत्काल जवाफ सोधे, ‘मैले पटक–पटक भनेको छु, तपाईहरुलाई के सहयोग चाहियो ? अस्ती डोजरका लागि पनि दुई जना प्रहरी खटाएको थिए । ल्याएर राख्नु मात्रै हुन्छ कामै गर्नुहुन्न । काम नगर्ने अनि असहयोग भयो भन्ने ?’ डिएसपी राईले यसो भनेपटि ठेकेदार चुप लागे । यसपछि नेता नेपालका सचिवालयका नितेश पौडेलले मध्यस्थता गर्दै भने, ‘अब जसरी हुन्छ, समन्वय गरेर काम छिटो गरौं ।’


अनुगमनपछि नेता नेपालले काम सन्तोषजनक नभएको भन्दै तत्काल काम सुरु गर्न निर्देशन दिएका छन् । नेता नेपालले आफू फेरि १५ दिनपछि अनुगमनमा आउने बताए । यसअघि नेता नेपालले कागेश्वरी मनहराको दक्षिण ढोकास्थित नोरर्लिङ होटलमा गत ४ साउन गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ, मन्त्रालयका सचिव, सडक विभागका उच्च अधिकारीहरु, स्थानीय जनप्रतिनिधि, ठेकेदार र त्यस क्षेत्रका संसदहरु सबैलाई बोलाएर सडकको समस्या बारेमा छलफल गराएका थिए ।


चाबहिल–साँखु जोड्न कूल १२.५ किलोमिटर सडक निर्माणमा अदालतको फैसला र स्थानीयको बिरोध समस्याको रुपमा देखिएको छ । तर, नेता नेपालले जसरी पनि तत्काल सडक बनाउन पर्ने निर्देशन पछि मुद्दा परेका दायाँ-वाँया भागलाई छोडेर समस्या नभएका सडक तत्काल कालोपत्रे गर्ने सहमति भएको छ । यो बाँकी समस्या नहोस् भनेर नेता नेपालले यसलाई मन्त्रीपरिषद्बाट समेत निर्णय गराएका छन् । नेता नेपालले तत्काल काम सुरु गर्न निर्देशन दिएपछि काम सुरु भएको छ ।

के हो समस्या ?
तीन वर्षअघि चाबहिल–बौद्ध–साँखु सडक समयमै काम सक्ने भन्दै उपत्यका काठमाडौं सडक विस्तार आयोजनाले २०७२ असोजमा ५ वटा प्याकेज बनाएर ठेक्का लगायो । ०७२ कात्तिकबाट सडक विस्तार तथा निर्माण सुरु भयो । तर, नापी ठीक नभएको भन्दै स्थानीयले सर्वोच्चमा मुद्दा हालेपछि काम ठप्प भयो । आयोजनाका अनुसार सडकको केन्द्रबाट ११ मिटर दायाँ–बायाँ विस्तार गनुपर्ने हुन्छ । तर, यसमा स्थानीयले अबरोध मात्रै गरेनन् सर्वोच्च अदालतमा मुद्दा समेत हाले । सर्वोच्च अदालतले सडक विस्तार गर्दा घरजग्गाधनीलाई मुआब्जा दिनुपर्ने फैसला गरेपछि काम रोकियो ।

आयोजनाका अनुसार ५ प्याकेजमध्ये चाबहिलबाट बौद्ध जोरपाटी हुँदै दक्षिणढोकासम्म ३.६ किलोमिटर सडक विस्तार तथा निर्माणको जिम्मा युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स प्रालि नामक ठेकेदार कम्पनीले पाएको छ । २०७२ असोजमा ठेक्का पाएको यो कम्पनीले २०७४ चैतमा काम सम्पन्न गरीसक्नुपथ्र्यो । तर, तर, उसले स्थानीयको अबरोध देखाएर सम्झौता अनुसार काम सम्पन्न गरेन । यो कम्पनीले अहिलेसम्म १० प्रतिसत पनि काम गरेको छैन ।

दक्षिणढोकाबाट २.४ किलोमिटर सडक निर्माणको जिम्मा बज्रगुरु च्याङमिला खानी जेभी नामक ठेकेदार कम्पनीले पाएको छ । उसले २०७२ असोजमा २०७४ माघमा सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर, १० प्रतिशत पनि काम भएको छैन । थलिबाट ३ किमी साँखुतिरको खण्ड निर्माणको जिम्मा बज्रगुरुरविरुवा खानी जेभीले पाएको छ । उसले २०७५ वैशाखमा पुरा गर्नुपर्ने थियो । तर, स्थानीयको विवादलाई देखाएर काम गरेको छैन । खुलालटार, सलम्बुटार २.४६ किमी खण्डको जिम्मा बिटीरसुनकोशी वर्ल्डवाइड पाएको छ । गत माघमै पुरा गर्नुपर्ने यो कम्पनीले पनि काम गरेको छैन । १.०४ किमी साँखुसम्मको अन्तिम खण्ड निर्माणको जिम्मा लामा समानान्तर जेभीले पाएको छ ।

हेर्नुहोस् अनुगमनको फोटो फिचर :-

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७