तपाईको नागरिकतामा उमेर गल्ती छ ? अब सच्याउन मिल्छ


२४ श्रावण २०७५, बिहीबार
nagarikta

काठमाडौं, २४ साउन । के तपाईकोे नागरिकतामा उमेर बिग्रिएको छ ? नागरिकतामा उमेर बिग्रिएकै कारण सरकारी कामकाजमा समस्या भोग्नु परिरहेको छ ? अब यो विषयमा चिन्ता नलिए हुने भएको छ ।

nagarikta

किनकी अब नागरिकतामा उमेर बिग्रिएको भए सच्याउन मिल्ने भएको छ । सच्याउनका लागि तपाईंले पेस गर्नु भएको निवेदन हेरेर सम्बन्धित अधिकारीले प्रमाण मूल्याङ्कनपछि नागरिकताको उमेर समेत सच्याउन मिल्ने व्यवस्था सरकारले प्रस्तावित गरेको छ ।

बुधबार प्रतिनिधिसभामा दर्ता भएको नागरिकता ऐन संशोधन विधेयकमा सानातिना त्रृृटिसँगै उमेर सच्याउन निवेदन दिन सक्ने व्यवस्था प्रस्ताव गरिएको हो । नाम र थरको बीचको कुनै तात्विक असर नपर्ने ‘कुमार, प्रसाद, बहादुर) जस्ता शब्दावली सच्याउने सुविधा अहिले पनि छ । तर, उमेर सच्याउने विकल्प पहिलो पटक दिन लागिएको हो ।

उमेर सच्याउन चाहने निवेदकले आवश्यक प्रमाणसहित नागरिकता लिएको एक वर्षभित्र निवेदन दिनुपर्नेछ । यसअघि जारी भएका नागरिकताको हकमा यो व्यवस्था लागू हुने वा नहुने प्रस्तावित व्यवस्था मौन छ । मूल ऐनको दफा १७ संशोधनसम्बन्धी प्रस्तावित विधेयकमा भनिएको छ –उमेर सच्याउन चाहने व्यक्तिले नागरिकताको प्रमाणपत्र जारी भएको मितिले एक वर्ष्भित्र सम्बन्धित अधिकारीसमक्ष निवेदन दिनु पर्नेछ ।’

‘जन्मसिद्धका सन्तानलाई वंशज’

विधेयकले नेपालको संविधान जारी भएको मिति २०७२ असोज ३ गतेभित्र जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई बालिग भएपछि वंशजको नागरिकता दिने व्यवस्था प्रस्ताव गरेको छ। यसअघि अन्तरिम संविधान जारी हुनुअघि जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिइएको थियो ।

विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गरेको ५ महिनाभित्र विदेशको नागरिकता त्यागेको निस्सा पेस गर्नुपर्ने व्यवस्था गरेको छ। यस्तै, विदेशी पुरुषसँग विवाह गरेकी नेपाली महिलाले पति नागरिकता लिन चाहेमा पतिको देशको नागरिकता नलिएको प्रमाण पेस गर्नुपर्नेछ । विदेशी पुरुषसँग विवाह गरेकी नेपाली महिलाका सन्तान बालिग हुँदा बाबु आमा दुबै नेपाली नागरिक भएको अवस्थामा सन्तानले वंशजको नागरिकता पाउने छन् ।

गैरआवासीय नेपालीलाई नागरिकता

विधेयकले सार्क राष्ट्रबाहेक अन्य मुलुकमा बसोबास गर्ने गैर आवासीय नेपालीलाई नागरिकता दिने व्यवस्था गरेको छ । संविधानले संघीय कानुन अनुसार नागरिकता दिने व्यवस्था गरे पनि ऐन संशोधन नभएका कारण नागरिकता दिन रोकिएको थियो । राजनीतिक बाहेक आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्नेगरि नागरिकता प्रमाणपत्र उपलब्ध गराइने छ ।
निवेदन दिने व्यक्तिले बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्नेछ । यस्तै, विदेशी मुलुकको नागरिकता प्राप्त गरेको पनि प्रमाण पेस गर्नुपर्ने विधेयकमा प्रस्ताव छ । नागरिकता लिन चाहने व्यक्तिले नेपालको संविधान तथा कानुन परिपालनाको प्रतिबद्धता गर्नु पर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७