अतिरिक्त तलव थाप्ने वीर अस्पतालका डाक्टर : हाजिर गरेपछि ‘गायव’


२४ श्रावण २०७५, बिहीबार
bir 4

काठमाडौं, २४ साउन । वीर अस्पतालमा विहान १० बजेतिर अलि भरे मलाई एक पटक भेट्नु भन्ने डाक्टर बिरामी र बिरामीका आफन्तले उनले भनेको समयमा खोजी गर्दा समेत भेटिंदैनन् ।
जसका कारण ती डाक्टरबाट उपचार सेवा लिइरहेका बिरामी र आफन्तहरु समस्यामा पर्ने गरेको कुरा वीर अस्पतालमा उपचार गर्न जानेहरुका लागि नौलो होइन ।

bir 4

वीर अस्पतालका अधिकांश डाक्टरहरु दिउँसो १ बजेपछि अस्पतालमा नभेटिने गरेको गुनासो अधिकांश बिरामी र उनीहरुका आफन्तले गर्ने गरेका छन् । नियमअनुसार उनीहरू साँझ ५ बजेसम्म अस्पताल बस्नुपर्ने हो । यसैका लागि सरकारले १५० प्रतिशतसम्म अतिरिक्त तलब पनि दिने गरेको छ ।

एक कर्मचारीका अनुसार डाक्टरहरू बिहान ९ बजे डिजिटल हाजिर गरेपछि दिउँसोको खाजा खाने समय बाहिर निस्कन्छन् र ५ बजे आएर हाजिर गर्छन् । कोही चाहिं बिहान ९ बजे हाजिर गरेपछि एकैचोटि बेलुकी ५ बजे हाजिर गर्न आइपुग्छन् । अझ केही त बिहान हाजिर गरेपछि बेलुकी हाजिर गर्न पनि फर्किंंदैनन् ।

यस्ता डाक्टरमध्ये केही चाहिँ दिनभर नै अस्पताल वरिपरीकै निजी स्वास्थ्य संस्थामा व्यस्त रहने गरेको स्रोतले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयबाट लिखित इजाजत लिएर मात्रै बाहिर काम गर्न सकिने कानुनी व्यवस्था भए पनि वीरका केही डाक्टरले यसको पालना नगरेको स्वास्थ्य मन्त्रालयका एक पदाधिकारी बताउँछन् । साउन दोस्रो साता वीरको एक सय २९ औं वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले समेत यहाँका वरिष्ठ चिकित्सकले समय नदिने गरेको गुनासो पोखेका थिए ।

‘बिहान ढिलो आउने अनि दिउँसो चाँडै जाने, हाजिर गरेर निजी क्लिनिक, स्वास्थ्य संस्थामा धाउने यहाँको वर्षौंदेखिको समस्या हो,’ अस्पतालकै एक वरिष्ठ चिकित्सक भन्छन्, ‘अस्पताल त एमडीरएमएसरडीएमरएमसीएचलगायतका रेजिडेन्टको भरमा चलिरहेको छ ।’ डाक्टरको भाग्ने प्रवृत्तिले रेजिडेन्टहरूको पढाइ र बिरामीको सेवा प्रभावित भएको छ । अस्पतालले तलब बराबरको रकम शिक्षण भत्ताका रूपमा दिने गरेको छ । अझ २ देखि ५ बजेसम्म बसेबापत तलबको थप ५० प्रतिशत भत्ता दिइन्छ । ‘दुई बजेपछि करीब आधाभन्दा बढी जनशक्ति बेपत्ता हुन्छ,’ एक वरिष्ठ कर्मचारी भन्छन् ।

वीरमा कर्मचारीको इलेक्ट्रोनिक हाजिर सम्बन्धमा देखिएका कमी–कमजोरी सुधार गर्न भन्दै समितिसमेत गठन गरिएको थियो । ७ सदस्यीय समितिले तीन महिनाको हाजिर अध्ययन गरेर १६ महिनाअघि लिखित प्रतिवेदन दिएको थियो । जसमा सम्बन्धित विभागका प्रमुखलाई हाजिरी, काम र उपस्थिति नियमित भएरनभएको अनुगमन गर्न सुझाइएको थियो । ‘तर हामीले बुझाएको प्रतिवेदनअनुसार काम भएको छैन,’ डा. मनेनप्रसाद गोर्खालीले भने । वीरका निर्देशक डा. भूपेन्द्र बस्नेत शिक्षण कार्यमा संलग्नलाई तलबको १५० प्रतिशत र कर्मचारीलाई ५० प्रतिशत अतिरिक्त भत्ता दिने गरिएको बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७