शिक्षामा खुम्चियो संरचना, कटियो दरबन्दी


२४ श्रावण २०७५, बिहीबार
education ministrya final1

काठमाडौं, २४ साउन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको केन्द्रीय निकायदेखि प्रदेश हुँदै जिल्लासम्मको संरचना अब खुम्चिएको छ भने कर्मचारी दरबन्दी समेत कटौतीमा परेको छ । स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम सर्भे) अनुसार हाल कार्यरत कर्मचारी दरबन्दीमध्ये अब करीब आधा कटौती हुने भएको छ ।

education ministrya final1

कटौती भएको दरबन्दी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मा लगाइने शिक्षा मन्त्रालयका उपसचिव दीपक कोइरालाले जानकारी दिएका छन् । साबिकको शिक्षा मन्त्रालयमातहत देशभर २ हजार ६६९ कर्मचारी थिए । अब करीब १५ सय मात्रै भए हुने भएका छन् । शिक्षा मन्त्रालय र विज्ञान तथा प्रविधि मन्त्रालय समायोजन गरेर बनेको मन्त्रालयमा १८५ जनाको दरबन्दी स्वीकृत भएको छ । यसअघि दुवै मन्त्रालयमा गरेर २२६ जना कार्यरत थिए ।

समायोजनपछिको शिक्षा, विज्ञान प्रविधि मन्त्रालयमा ७ वटा महाशाखा रहने छन् । केन्द्रदेखि जिल्लासम्मका १४ वटा निकायलाई समायोजन र खारेज गरेर ११ वटा बनाइएको छ । कतिपय निकाय प्रदेश संरचनाअनुसार थप पनि भएका छन् । शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्रलाई गाभेर शिक्षा तथा मानव स्रोत विकास केन्द्र बनाइएको छ । केन्द्रमा अब १०१ जना मात्रै कर्मचारी रहने छन् । तीन वटै निकायमा गरी १९३ कर्मचारी कार्यरत थिए ।

पाठ्यक्रम विकास केन्द्रमा रहेका ५८ कर्मचारीमध्ये ३ जना घटाएर ५५ बनाइएको छ । आवश्यकताअनुसार कर्मचारीको पद र निकाय थपघट गरेर नयाँ संरचना तयार पारिएको हो । अस्थायी दरबन्दी मात्रै रहेको शैक्षिक गुणस्तर केन्द्रमा ३२ जना कर्मचारीको स्थायी दरबन्दी स्वीकृत भएको छ । शिक्षक सेवा आयोगमा ३४ जना कर्मचारी दरबन्दी रहेकामा थप गरेर ४० पु¥याइएको छ । केशर पुस्तकालयको २० र राष्ट्रिय पुस्तकालयको २२ जनाको दरबन्दी घटाएर १५र१५ कायम गरिएको हो ।

५ वटा क्षेत्रीय शिक्षा निर्देशनालयलाई खारेज गरेर ७ वटा शिक्षा विकास निर्देशनालय बनाइएको छ । ७ वटै प्रदेशका सामाजिक विकास मन्त्रालय मातहत रहने विकास निर्देशनालयमा ३५–३५ जनाका दरले कर्मचारी रहने छन् । निर्देशनालयहरूको नेतृत्व सहसचिवस्तरको कर्मचारीले गर्ने शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिएका छन् ।
जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा यसअघि नै ७ देखि ९ जनाको दरले कर्मचारी खटाइ सकिएको छ । ४१ वटा जिल्लामा उपसचिव र ३६ जिल्लामा अधिकृत स्तरको कर्मचारीलाई इकाइ प्रमुख बनाएर खटाइएको हो । अन्य निकायमा पनि साउनभित्रै नयाँ संरचनाअनुसार कर्मचारी खटाउने प्रवक्ता अर्यालले जानकारी दिए । स्थानीय तहमा पनि शिक्षाका कर्मचारी खटिएकाले उपसचिवबाहेक अन्य पदका कर्मचारी अपुग हुनेछ । ‘एक साताभित्रै सबै निकायमा नयाँ दरबन्दीअनुसार कर्मचारी खटाउँछौं, उपसचिव दरबन्दीभन्दा धेरै हुन्छन्, अन्य पदको कर्मचारी पुग्दैन,’ उनले भने ।

त्यस्तै देशभर रहेका २९ वटा शैक्षिक तालिम केन्द्रलाई खारेज गरेर ७ वटा मात्रै शिक्षा तालिम केन्द्र बनाइएको छ । उपसचिवस्तरको कर्मचारीले नेतृत्व गर्ने तालिम केन्द्र प्रदेश १ को सुनसरी, प्रदेश २ को बारा, प्रदेश ३ को काभ्रे, गण्डकी प्रदेशको तनहुँ, प्रदेश ५ को रुपन्देही, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ७ को डोटीमा रहनेछ । प्रदेश तालिम केन्द्रमा १७ जनाको दरले दरबन्दी रहने छ ।

यी हुन् अब रहने निकाय :-
१) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
२) शैक्षिक गुणस्तर परीक्षण केन्द्र
३) शिक्षक सेवा आयोग
४) विद्यालय शिक्षक किताबखाना
५) पाठ्यक्रम विकास केन्द्र
६) शिक्षा तथा मानव स्रोत विकास केन्द्र
७) केशर र राष्ट्रिय पुस्तकालय
८) ७७ जिल्लामा शिक्षा विकास तथा समन्वय इकाई
९) सात वटै प्रदेशमा शैक्षिक तालिम केन्द्र र सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालय

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७