दुर्गा सुवेदीको आत्मकथा ‘विमान विद्रोह’ सार्वजनिक

सुवेदी भन्छन्, ‘विपीले भन्न नखोजेका कुरा मैले किताबमा भनिदिएको छु’


२५ श्रावण २०७५, शुक्रबार
book

काठमाडौं, २५ साउन । प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीको आत्मकथा ‘विमान विद्रोह, एउटा राजनीतिक अपहरणको बयान’ आज (शुक्रबार) विमोचन भएको छ ।

book

सुवेदीले आत्मकथामा नेपालको पहिलो र एक मात्र राजनीतिक विमान अपहरणबारे आफ्नो अनुभूतिलाई पुस्तकमा समावेश गरेका छन् । आत्मकथामा पञ्चायती शासन व्यवस्थाकाविरुद्ध संघर्षका विविध आयामहरु खुलाइएका छन् । बीपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा भनेका छन्, ‘मसँग पैसा थिएन अनि हवाईजहाज अपहरणको विचार आयो । म विस्तारमा भनुँ कि नभनुँ ? अहिले छोडिदिऊ, अब मान्छे पनि आइसके ।’

दुर्गा सुवेदी यस विषयमा भन्छन्, ‘बीपीले विस्तारमा नभनी छोडिदिनु भएको कहानी मैले भन्ने जमर्को गरेको छु ।’ ‘विमान विद्रोह’ को प्रकाशन किताब पब्लिसर्स प्रालिले गरेको हाे । ‘यसमा राजनीतिक प्रयोजनले विमान अपहरण गर्दाको व्यक्तिगत मनोविज्ञान पहिलाे पटक अपहरणकारी स्वयंले सार्वजनिक गर्नुभएको छ,’ किताब पब्लिसर्सकी प्रमुख सञ्चालन अधिकृत कल्पना ढकालले भनिन्, ‘यो पुस्तकले पाठकहरुलाई नेपाली इतिहासको रोचक अतीततर्फ फर्काउने हाम्रो अपेक्षा छ ।’

२००३ सालमा धनकुटामा जन्मिएका सुवेदी नेपालको प्रजातान्त्रिक आन्दोलनका चर्चित नाम हो । पञ्चायती सत्ताविरुद्ध नेपाली कांग्रेसले गरेको सशस्त्र संघर्षलाई सहयोग पुर्‍याउन राष्ट्र बैंकको भारु ३० लाख लुट्न उनले बसन्त भट्टराई र नगेन्द्र ढुङ्गेलसँग मिलेर २०३० सालमा नेपाल वायुसेवा निगमको विमान अपहरण गरेका थिए । यस बापत करीब १० वर्ष लामो प्रवास–बसाई र दुई वर्ष भारतीय जेलमा जीवन बिताएका सुवेदी कालान्तरमा माओवादी र सरकारबीच शान्ति–संवाद गराउने सूत्राधार समेत बनेका थिए ।

एउटा सशस्त्र संघर्ष गर्दा र अर्को सशस्त्र संघर्ष टुंग्याउन भूमिका खेल्दाका दुवै पाटाहरु पुस्तकमा छन् । कांग्रेसले हतियार उठाउँदाका अन्तरकथा, कोइराला परिवारका भित्री कथा र त्यसै क्रममा उनी स्वयंलाई पार्टीभित्रबाटै मार्न खोजिएको षड्यन्त्रको पनि सुवेदीले खुलासा गरेका छन् । आफ्नी धर्मपत्नी सुशीला कार्की प्रधानन्यायाधीश छँदा तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्की कसरी ‘१० करोडको गोड्धुवा प्रस्ताव’ लिएर आएका थिए भन्ने वर्णन पनि पढ्न पाइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७