हङकङमा विश्व आदिवासी दिवस


२५ श्रावण २०७५, शुक्रबार
Kisan Rai


हङकङ । विश्लेषक तथा लेखक सीके लालले नेपालको संविधान २०७२ यथास्थितिमा लामो नटिक्ने दावी गरेका छन् ।

‘नेपालको संविधान २०७२ मधेशी, आदिवासी जनजाति, पिछडिएकालगायतको पक्षमा नरहेकोले लामो टिक्ने अवस्था छैन’, २४औं विश्व आदिवासी दिवसका प्रमुख अतिथि लालले सम्बोधनको क्रममा भने, ‘नेपाली जनताका इच्छा, आकांक्षा र आवश्यकता पूरा गर्न संविधान पटक–पटक परिवर्तन भएका छन्, यो संविधान पनि आवश्यकीय संशोधन नहुने हो भने लामो समय टिक्दैन ।’

Kisan Rai

हङकङबाट सञ्चालित एभरेष्ट खबरका अनुसार उनले अधिकार मागेर होइन लडेर पाइने बताए । आदिवासी जनजातिलगायत आत्मविश्वासका साथ अघि बढ्न आवश्यक रहेकोमा जोड दिएका थिए । आदिवासीका नेताहरु राष्ट्रिय पार्टीमा निर्णायक तहमा नरहेका कारण पटकपटक उत्कर्षमा पुगेको आन्दोलन सेलाउने गरेको अनुभव उनले सुनाएका थिए ।

सदस्य संस्थाका अध्यक्षलगायत गैर–आवासीय नेपाली संघकी अध्यक्ष राधिका गुरुङ र हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङले शुभकामना मन्तव्य गरेको कार्यक्रममा तामाङ घेदुङकी अध्यक्ष सरस्वती घिसिङलाई आदिवासी वर्ष महिला र महासंघका निवर्तमान अध्यक्ष मैनबहादुर थापालाई आदिवासी वर्ष पुरुष घोषणा गरिएको थियो ।

उपाध्यक्ष कविता थापामगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संस्थापक महासचिव भूपेन्द्र चेमजोङले हङकङमा नेपाली आदिवासी आन्दोलनको बारेमा चर्चा गरेका थिए । उनले हरेक क्षेत्रमा समावेशी हुनु पर्नेमा जोड दिदै सन् २००९ देखि आदिवासी जनजाति मूलको नेपाली महावाणिज्यदूत माग गर्दै आन्दोलन भइरहेको जानकारी गराएका थिए । उनका अनुसार शुरुवातदेखिका सातैजना महावाणिज्यदूत ब्राह्मण जातिका रहेका छन् ।

महासचिव कृष्णराज लाओती संचालक रहेको कार्यक्रममा अध्यक्ष किसन राईले विगतको अनुभवमा समयाभाव देखिएकोले सांस्कृतिक झाँकी प्रदर्शनीको लागि छुट्टै ‘आदिवासी साँझ’को आयोजना गर्न लागिएको जानकारी गराएका थिए । उनले कुनै पनि कार्यक्रम तोकिएकै दिन गर्दा त्यसको महत्व बढी हुने जिकिर गरेका थिए ।

अगष्ट ९ विश्व आदिवासी दिवस भए पनि विगतमा अवसर पारेर विदाको दिन सांस्कृतिक झाँकीसहित एकै दिन हुने गरेका थिए ।

तस्बिरः देवमान लिम्बू ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७