सलमान खानको नाममा ठगी गर्ने गुरुङ फेरि पक्राउ
काठमाडौं, २५ साउन । बलिउड कलाकार सलमान खानलाई नेपाल ल्याउने भन्दै ठगेको आरोपमा ओडिसी नेपालका सञ्चालक सीमान्त गुरूङ फेरि पक्राउ परेका छन् । उनलाई प्रहरीले धरौटी बुझाए लगतै पक्राउ गरेको हो ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गत असार २९ गते गुरूङलाई बलिउड कलाकार सलमान खान ल्याउने विषयमा ठगी गरेको भन्दै पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले बिहीबार गुरूङलाई धरौटीमा छुट्न आदेश दिएको थियो । १५ लाख रुपैयाँ धरौटी बुझाएका गुरूङलाई बिहीबार नै महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चेक बाउन्स गरेको अभियोगमा पक्राउ गरेको हो ।
गत फागुन २६ गते काठमाडौंको टुँडिखेलमा हुने भनिएको सलमान खानको ‘द ब्याङ टुर नेपाल’ स्थगित भएको थियो । त्यसपछि फेरि जेठमा कार्यक्रम गर्ने भनिएको थियो । जेठमा पनि कार्यक्रम नभएपछि उनलाई उजुरीका आरधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले सलमानलाई नेपाल ल्याउने भन्दै टिकट विक्रीबाट पाँच करोड बढी रकम उठाएको आरोप लागेको छ ।