गाउँमै रोजगारी मिल्छ भन्ने वडा सदस्य नै कुवेतका काम खोज्दै


२७ श्रावण २०७५, आईतवार
Narayan Punmagar Pyuthan HEjnblQZu0

प्युठान, २७ साउन । स्थानीय निर्वाचनमा प्युठान स्वर्गद्वारी–१ बाट वडा सदस्य उठेका नारायण पुन मगरको नाराले चुनावताका युवाको साँच्चीकै मन खिच्यो । युवालाई गाउँमै रोजगारी सिर्जना हुने मिठो प्रतिवद्धता जनाएका मगरले चुनावमा मज्जाले जिते पनि ।

Narayan Punmagar Pyuthan HEjnblQZu0
प्युठान स्वर्गद्वारी–१ का वडा सदस्य नारायण पुन मगर । तस्विर : सामाजिक सञ्जाल

चुनावताका युवालाई रोजगारीको ग्यारेन्टी हुने प्रतिवद्धता जनाएका उनी मगर अहिले कुवेतमा आफै काम खोजीरहेका छन् । गाउँमै युवालाई रोजगारी दिने बताउने मगर जनप्रतिनिधिमा निर्वाचत भएपछि पनि आफ्नै भविष्य गाउँमा असुरक्षित देखेपछि कुवेत हानिएका हुन् । उनको प्रतिवद्धता एक वर्ष पूरा भइसक्दा समेत अरुका लागि रोजगारीको कुरा त परै छाडौं आफ्नै भविष्य अन्योल देखिपछि उनी कुवेत गएका हुन् ।

घरको आर्थिक स्थिति कमजोर भएपछि उनी दुई महिनाअघि नै कुवेत गएको स्थानीयले जानकारी दिएका छन् । गाउँमै रोजगारी र स्वरोजगारी सिर्जना गर्ने नारासहित चुनाव जितेका प्रतिनिधि आफैं काम खोज्दै विदेशिएपछि वडाका युवाहरु निरास छन् । गाउँमै केही गर्न सकिन्छ भन्ने आशमा रहेका उनका दौतरी र स्थानीयले जनप्रतिनिधि नै विदेश गएकाले गाउँमै धन कमाउने मेसो नभएको प्रतिक्रिया दिने गरेका छन् । स्थानीय तह चुनावमा पुन मगर राष्ट्रिय जनमोर्चाबाट ६७ मतसहित वडा सदस्यमा निर्वाचित भएका थिए ।

गाउँबाट सुटुक्क विदेश पुगेका नारायणका बारेमा वडा अध्यक्ष मेघराज जिसीले उनी विदेश पुगेपछि मात्र थाहा पाएको जानकारी दिए । ‘काठमाडौंमा कामका लागि बेला बेला जाने गरेको त थाहा पाएको थिएँ’, जिसीले भने, ‘कुवेत पुगेपछि मात्र विदेश गएको थाहा भयो ।’ वडा सदस्य पदबाट राजीनामा नदिइकनै विदेश गएका वडा सदस्य पुन मगरको तलब परिवारले बुझेका छन् । निर्वाचित पुन मगरका परिवारले निर्वाचनपछि ८ महिनाको ७ हजारका दरले ५६ हजार रुपैयाँ तलब बुझेका हुन् । ८ महिना उनले वडा सदस्य भएर काम गरेका थिए । उनका घरमा बुबा–आमा, श्रीमती र एक छोरा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७