लगातारको वर्षाले नदीहरुको बहाव खतराको तहमा, जलेश्वर कारागार डुबानमा


२८ श्रावण २०७५, सोमबार
Gaushala RSS Duban

काठमाडौं, २८ साउन । लगातारको वर्षाका कारण देशभरको जनवीवन प्रभावित बनेको छ । लगातारको वर्षाका कारण देशका ठूला तथा साना खाला, नदीहरुमा पानीको सतह बढेको छ ।

Gaushala RSS Duban
महोत्तरीको जलेश्वर कारागार । लगातारको वर्षाका कारण कारागारभित्र पानी पस्दा कैदीबन्दीलाई बस्न नै समस्या भएको छ ।

सरकारले वर्षातका समयमा सतर्क रहन सर्वाधरणलाई आग्रह गरेको छ । लगातारको वर्षाले राप्ती, कमला, बागमती, कन्काई, रातु, बबईलगायत देशैभरीका नदी र खोलामा बाढी आएको छ । राप्ती नदीमा बाढीले खतराको सतह पार गर्न लागेपछि गए रातिदेखि नै साइरन बजाइएको छ ।

अहिले पनि देशका धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिएका छन् । ‘विगत दुई दिनदेखि देशभरी पानी परिरहेको छ,’ रिमालले भने, ‘अझै थप दुई दिन लगातार बर्षा हुने सम्भावना छ ।’ कतै मध्यम र कतै भारी वर्षाको सम्भावना रहेको उनले जानकारी दिएका छन् । भारी वर्षापछि सिन्धुलीको कमला नदीको बहाब खतराको तहसम्म पुगेको छ । रानीबास क्षेत्रमा कमला नदीको बहाब खतराको तहसम्म पुग्दा स्थानीय त्रसित बनेका छन् । कमला नदीको ाढीले धनुषा र सिरहामा पनि खतरा बढेको छ । बाढी पूर्वानुमान महाशाखाले पनि देशका सबैजसो खोला र नदीमा बाढी आएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले आज र भोलि चुरेका सबैजसो खोलानाला र तराईको होचा स्थानमा बाढी–डुवानको जोखिम रहेको जनाइएको छ । सप्तकोशीमा आज साँझपछि बहाब सतर्कता तह माथि जान सक्ने महाशाखाको अनुमान छ । त्यस्तै कमला, कन्काइ, बागमतीलगायतमा बाढीले सतर्कता तह पार गर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । चुरे क्षेत्रमा भारी वर्षा भएकाले बाढी पहिरोको खतरा बढेको छ । वर्षा र बाढी–पहिरोका कारण देशका धेरै ठाउँमा यातायात अबरुद्ध भएको छ ।

भीषण वर्षापछि महोत्तरी, धनुषा र केही दिनदेखि सर्लाही जिल्लाको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको छ । जिल्लामा गए राति भएको मुसलधारे वर्षाको पानीले जलेश्वर कारागार आज बिहान डुबानमा परेको हो । एक सय ६० वर्ष पूरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाको बेला यो कारागार पटक–पटक डुबानमा पर्ने गरेको जेलर शोभेन्द्र ठाकुरले जानकारी दिएका छन् ।
वर्षाका कारण कारागारको प्राङ्गणभित्र तथा बाहिर चारैतिर पानी भरिएको छ भने कार्यालय प्रमुख बस्ने तथा कर्मचारी प्रशासन कक्षमा समेत पानी प्रवेश गरेको छ । कारागारको भित्र कैदीबन्दी बस्ने बन्दीगृहबाट पानी निकासका लागि बनाइएको नाला भएर पनि बाहिरको पानीभित्र प्रवेश गरेको चौकीदार श्रीनारायण महतोले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७