प्रिन्सिपलबाटै ६ महिनादेखि किशोरीमाथि लगातार बलात्कार


२८ श्रावण २०७५, सोमबार
rape

सुनसरी, २८ साउन । विद्यालयको शिक्षक, त्यसमाथि प्रिन्सिपल विद्यार्थीले गलत बाटो समाते वा अनुचित आचरण देखाए सहि बाटोमा ल्याउन सम्झाउने र सुधार्ने काममा लाग्छ । तर, विद्यालयकै प्रिन्सिपल नै किशोरी बलात्कारमा पल्केको रहस्य सार्वजनिक भएको छ ।

rape

धरान उपमहानगरपालिका–५ साउनेस्थित मदर इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल झमक बस्नेतले हाडनाताकी एक किशोरीलाई ६ महिनादेखि जबरजस्ती करणी गर्दै आएको घटना सार्वजनिक भएको छ । कक्षा १२ मा पढ्दै आएकी किशोरीलाई बस्नेतले ६ महिनादेखि लगातार जबरजस्ती करणी गर्दै आएको पाइएको छ ।

घटना सार्वजनिक भएपछि बस्नेत फरार छन् । आफूलाई कक्षा ११ मा पढ्दादेखि नै कसैलाई भने मारिदिने धम्की दिंदै जबरजस्ती गर्दै आएको किशोरीले बताएकी छन् । बस्नेतले गएको फागुन २५ गते पहिलो पटक किशोरीलाई जबरजस्ती करणी गरेको किशोरीले जानकारी गराएकी छन् । त्यसपछि हल्ला गरे परिवारै सिध्याई दिने धम्की दिंदै उनले निरन्तर करणी गर्दै आएका पीडितको भनाइ छ ।

पीडित परिवारले गएको असार १० गते इलाका प्रहरी कार्यालय धरानमा बस्नेतविरुद्ध उजुरी गरेका थिए । आफूविरुद्ध उजुरी परेको थाहा पाएपछि बस्नेतले उजुरी फिर्ता लिएर घरमै मिलाउन दबाब दिए । प्रहरीले समेत बस्नेतलाई पक्राउ नगरेपछि पीडित परिवारले न्याय माग्दै महिला सञ्जाल धरानमा गएको असार १८ गते निवेदन दिएका छन् । सञ्जालकी अध्यक्ष सविता राईले बस्नेतमाथि कार्बाहीका लागि पहल भइरहेको बताइन् । धरान उपमहानगरपालिकाको न्यायिक समिति, इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय धरानमा आइतबार पीडित परिवारले दोषीमाथि कारबाहीको माग गर्दै उजुरी दर्ता गरेका छन् ।

बस्नेतका साहिंला भाइ समशेर बस्नेत (दीपक) लगायतले पीडित परिवारलाई मोटो रकमको प्रलोभन दिंदै मिलापत्र गर्न दबाब दिंदै आएका पीडित किशोरीका परिवारले जनाएका छन् । ‘३० लाख रुपैयाँ र दुई कट्ठा जग्गा दिन्छौँ, कतै निवेदन नदिनु । छोरीकै बदनाम हुन्छ भन्दै धम्क्याउने काम गरिरहेका छन्,’ किशोरीका बुबा भन्छन् । बलात्कृत किशोरी मानसिक समस्यामा परेकी छिन् ।

घटनापछि उनको पढाइ पनि प्रभावित भएको परिवारका सदस्यले बताएका छन् । किशोरीलाई १३ दिनअघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक विभागमा १३ अघि भर्ना गरिएको छ । हाल उनी औषधि खाएर चिकित्सकको निगरानीमा बसेकी छिन् । बस्नेतले आफ्नै विद्यालयका अन्य छात्रालाई पनि दुव्र्यवहार गर्ने गरेको महिला सञ्जालकी अध्यक्ष सविता राईले जानकारी गराइन् । ‘बस्नेतले अरूलाई अफिसमा बोलाएर संवेदनशील अङ्गमा छुने, धाप मार्ने जस्ता गतिविधि गर्ने गरेको उजुरी परेको छ,’ राईले भनिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७